राहुलसँग ‘आतंकित’ बीजेपी

हिमाल प्रेस २६ असोज २०८० १७:०२
4
SHARES
राहुलसँग ‘आतंकित’ बीजेपी भारतीय जनता पार्टी (बीजेपी) ले  केही दिनअघि आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा पोस्ट गरेको राहुल गान्धीको पोस्टर। 

भारतीय जनता पार्टी (बीजेपी) ले सन् २०१४ मा सत्तामा आएयता भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई ‘पप्पु’ भन्दै आएको छ। मिडियामार्फत राहुलको छवि त्यसैअनुसार निर्माण गर्न भाजपाले सबै शक्ति लगाएको छ। त्यसका लागि उसले करोडौँ भारु लगानी गरेको गान्धीले पटकपटक भन्दै आएको कुरा हो।

बीजेपीका नेतादेखि सांसदहरूले राहुलको सन्दर्भ आउँदा उनलाई ‘पप्पु’ कै रूपमा प्रस्तुत गर्छन्। तर पछिल्लो समय राहुलप्रति बीजेपीको धारणा बदलिएको छ। राहुलका हरेक क्रियाकलाप र गतिविधिको खिसीटिउरी गर्ने बीजेपीले अब उनलाई ‘पप्पु’ को सट्टा ‘रावण’ भन्न थालेको छ।

बीजेपीका अनुसार राहुल गान्धी ‘नयाँ युगका रावण’ हुन्। केही दिनअघि सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा बीजेपीले राहुलको एउटा तस्बिर पोस्ट गरेको थियो। पार्टीको आधिकारिक ट्विटर ह्यान्डलमा पोस्ट गरिएको तस्बिरमा राहुललाई रावण अवतारमा देखाइएको छ। तर त्यस तस्बिरमा उनका १० होइन सातवटा शिर छन्। जसमा लेखिएको छ, ‘भारत खतरामा छ।’

फिल्मी तरिकाले प्रस्तुत गरिएको पोस्टरमा शीर्षक राखिएको छ, ‘रावण’। कांग्रेसलाई प्रोडक्सन कम्पनी भनिएको छ भने निर्देशकमा जोर्ज सोरसको नाम छ। सोरस अमेरिकी व्यवसायी हुन्।

तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘नयाँ युगको रावण। यो दुष्ट, धर्म र रामविरोधी हो। यसको लक्ष्य भारतलाई नष्ट गर्नु हो।’

पोस्टर सार्वजनिक भएदेखि बीजेपी र कांग्रेसका नेताबीच वाक्युद्ध सुरु भएको छ। कांग्रेस नेता जयराम रमेशले यसलाई ‘खतरनाक’ बताएका छन्। विपक्षका नेताको तुलना रावणसँग गर्नु लज्जास्पद रहेको उनको भनाइ छ। ‘बीजेपीद्वारा पोस्ट गरिएको यस्तो लज्जास्पद तस्बिरको निन्दा जति गरे पनि कम छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाटै उनीहरूको गलत सोच स्पष्ट हुन्छ।’

कांग्रेस महासचिव केसी वेणुगोपालले बीजेपीले राहुल गान्धीको हत्या गर्न खोजेको आरोपसमेत लगाएका छन्। ‘तिनीहरू उनको हत्या गर्न चाहन्छन्,’ उनले भनेका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्दारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारले बीजेपीको आलोचना गरेका छन्। सिद्दारमैयाले भारतीय प्रधानमन्त्री मोदीको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘भोटका लागि मरिमेट्ने।’

उपमुख्यमन्त्री शिवकुमारले राहुल गान्धीका रूपमा बीजेपी नेताहरूको मनमा डर पसेको बताएका छन्। ‘इन्डिया गठबन्धन बलियो हुँदैछ। यो एकजुट छ, रहने पनि छ। राहुल गान्धीको भारत जोडो यात्रापछि इन्डिया गठबन्धन बन्यो। यसबाट डराएर बीजेपीले रावणको पोस्टर सार्वजनिक गरेको हो।’

वरिष्ठ पत्रकार राकेश अचलले बीजेपीले राहुलको तुलना रावणसँग गर्नुलाई मोदी समस्यामा परेको बताएका छन्। ‘अन्ततः बीजेपीले राहुलको प्रभाव बढेको स्वीकार गरेको छ,’ उनले भनेका छन्, ‘बीजेपीका लागि अब राहुल दशानन बनिसके। दशाननको अर्थ दस शिर भएको मान्छेमात्र हुँदैन, एउटै टाउको भएको व्यक्तिसँग दिव्यदृष्टि हुनु पनि हो।’

‘यसले बीजेपी राहुलबाट आतंकित भएको देखाउँछ,’ अचल थप भन्छन्, ‘राहुलको भारत जोडो यात्रासामु मोदी सरकारका सबै उपलब्धि फिका देखिएका छन्।’

भारत जोडो यात्रापछि राहुल गान्धी र कांग्रेस वैचारिक रूपमा बीजेपीको विरोध गर्ने मतदाताहरूलाई एकजुट गर्न केही हदसम्म सफल भएको भारतीय न्युज पोर्टल ‘द क्विन्ट’ ले लेखेको छ। जसमा धार्मिक अल्पसंख्यकको ठूलो हिस्सा छ।
त्यसमा राज्य स्तरमा क्षेत्रीय दलहरूलाई समर्थन गर्ने मतदाता पनि समावेश छन्।

नयाँदिल्लीको कीर्तिनगरस्थित फर्निचर उद्योगका मजदुरसँग राहुल गान्धी। तस्बिर सौजन्य : राहुल गान्धीको ट्विटर

त्यस्तै कर्नाटकको चुनावी नतिजाले पनि कांग्रेसलाई ठूलो प्रोत्साहन दिएको हो। मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगनालगायत राज्यको विधानसभा चुनाव नजिकिँदै छ। त्यहाँ पनि कांग्रेसले जित्न सक्ने आकलन राहुलको छ। अचेल हरेक चुनावी र्‍यालीमा उनले त्यस्तो अभिव्यक्ति सार्वजनिक गर्ने गरेका छन्।

भारत जोडो यात्रायता कांग्रेसले राहुललाई ‘जननायक’का रूपमा प्रस्तुत गर्दै आएको छ। यात्रापछि आमभारतीयसँग राहुलको भेटघाट बाक्लिएको छ। उनले किसान, विद्यार्थी, महिला, मदजुरलगायतलाई भेटिरहेका छन्। उनीहरूका कुरा सुनिरहेका छन्। समस्या बुझिरहेका छन्। त्यसैले त भारतीय जनताबीच उनका प्रभाव दिनानुदिन बढिरहेको छ। जसले बीजेपीलाई तर्साइरहेको भारतीय राजनीति विश्लेषकहरूका भनाइ छ।

पछिल्लो समय भारतीय कांग्रेसले जातीय जनगणनाको मुद्दा उठाएको छ। राहुल गान्धीले आक्रामक रूपमा त्यसको वकालत गरिरहेका छन्। उनले दलित, आदिवासी, अल्पसंख्यक, सीमान्तकृत र पिछडिएको वर्गबारे कुरा गरिरहेका छन्। सत्तादेखि सरकारी निकायमा यी समुदायका मानिस कति छन्? पदमा भएकाहरूसँग केकस्ता अधिकार छन? लगायत प्रश्न उनले उठाइरहेका छन्। कांग्रेसको सरकार रहेको ठाउँमा जातीय जनगणना गर्ने उनको तयारी छ। ‘बीजेपीका १० मुख्यमन्त्री छन्। तीमध्ये एकमात्र पिछडिएको समुदायबाट छन्,’ राहुलले हालै भएको एक पत्रकार सम्मेलनमा भने, ‘उनी पनि केही दिनमा पदमुक्त हुनेछन्। कांग्रेसका चार मुख्यमन्त्री छन्। तीमध्ये तीन पिछडिएको समुदायबाट छन्।’

राहुलले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग त्यसबारे उल्टै प्रश्न गरेका थिए। उनीहरूमध्ये कति दलित, आदिवासी, सीमान्तकृत र पिछडिएको वर्गबाट छन्? भनी सोधेर पत्रकारहरूलाई छक्क पारेका थिए। यसले भारतीय सञ्चार क्षेत्रमा पनि यी समुदायका पत्रकार कम रहेको र ब्राह्मण-क्षेत्रीको हालीमुहाली रहेको खुलेको छ।

भारतीय राजनीतिक विश्लेषकहरूका अनुसार राहुल बीजेपीका लागि ‘ठूलो खतरा’ बन्दैछन्। त्यसैले अब बीजेपीले ‘पप्पु’का रूपमा नभई ‘रावण’ भनेर उनको छविमा आक्रमण गर्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =