भारत-चीनको प्रतिस्पर्धाले नेपाल अलमलमा : बीजेपी नेता माधव

हिमाल प्रेस १६ माघ २०८० २०:४८
56
SHARES
भारत-चीनको प्रतिस्पर्धाले नेपाल अलमलमा : बीजेपी नेता माधव

काठमाडौँ- छिमेकी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता डा. राम माधवले नेपाल दुई ठूला, उदीयमान शक्ति र प्रतिस्पर्धी मुलुकको बीचमा रहेकाले निर्णयमा दुविधाको सामना गर्नुपरेको बताएका छन्।

नेपाल र भारतको आफ्नै प्रकारको सम्बन्ध छ तर पनि उत्तरमा अर्को छिमेकी चीन पनि रहेको र उसको पनि नेपालसँग सम्बन्ध रहने हुनाले यहाँको राजनीतिक नेतृत्वलाई कहिलेकाहीँ असहजमा परेको बताए।

नेपाल आफैँमा सार्वभौम सत्तासम्पन्न मुलुक भएकाले निर्धक्क निर्णय लिएर आफ्नो तवरले अघि बढ्न पनि उनले सुझाए। नेपाल र भारत छुट्टाछुट्टै सार्वभौम मुलुक भएकोले दुवै मुलुक मिलेर नै सहकार्य गर्दै समृद्धिमा अघि बढ्न सकिने पनि उनको भनाइ छ।

नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध कहिल्यै पनि टाढा हुन नसक्ने उनले बताए। उनले नेपाल र भारतको राजनीतिक सम्बन्ध तलमाथि भए पनि सदियौंदेखिएको सभ्यता, खुला सीमामा हुने आउजाउसँगै दुई मुलुकको संस्कृति र धार्मिक पक्षले गर्दा दूरी बढ्ने सम्भवाना नहुने बताए।

दक्षिण एसियाली अध्ययन केन्द्र (सिसास) र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजित कार्यक्रममा बीजेपीका पूर्व महासचिव माधवले भने, ‘नेपाल र भारतको राजनीतिक सम्बन्धमा यता उता हुन सक्ला तर जनस्तरमा रहेको सम्बन्ध, हाम्रो सभ्यता, संस्कृति र धार्मिक पक्ष कहिल्यै टाढा हुँदैन।’

यस्तोमा हाम्रो दुई मुलुकबीचको सम्बन्धलाई कसरी विस्तार गर्ने भन्ने विषय आफैँमा महत्त्वपूर्ण छ। त्यही विषयमा बहस हुन पनि जरुरी रहेको उनले बताए। नेपाल र भारत बीचमा सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भए पनि दुई मुलुकबीचको सम्बन्ध धेरै पुरानो हो। सभ्यता, संस्कृति र जनस्तरको सम्बन्ध नै नेपाल-भारत सम्बन्धको मुख्य पाटो रहेको पनि उनले बताए।

इन्डिया फाउन्डेसनका प्रमुखसमेत रहेका माधवले विश्वनाथ र पशुपतिनाथबीचको दूरी नै नभएको बताए। नेपाल र भारतको धार्मिक-सांस्कृतिक अन्तरसम्बन्ध अति विशिष्ट भएको बताएका छन्। उनले भने, ‘अतीतकालदेखि नै मूर्त-अमूर्त सांस्कृतिक सम्पदाले नेपाल र भारतको धार्मिक-सांस्कृतिक अन्तरसम्बन्धलाई सुमधुर र विशिष्ट भएका कारण यसको विकासमा दुवै देशले अझ जोड गर्नुपर्छ।’

भारतमा राम मन्दिरको भव्य उद्घाटनपछि नेपालमा भएको यस्तो कार्यक्रममा बीजेपीका नेता एवं विचारक माधवले नेपाल भारतले क्षेत्रगतरूपमा सर्किटहरू बनाएर धार्मिक पर्यटनलाई विकास गर्न सक्ने बताए। उनी नेपालको राजनीतिलाई निकटबाट नियाल्ने नेतामा पनि पर्छन्। राम माधवले भारतको विदेश विभाग नै हेर्थे। पछिल्लो समय उनी अध्ययन अनुसन्धानमा लगेका हुन्। आन्ध्र प्रदेशका माधव आरएसएसबाटै खारिएर आएका बीजेपी नेता हुन्।

नेपाल र भारतले विकसित धर्म, दर्शन, भाषा, साहित्य, सभ्यता, संस्कृति, कला, वास्तुकलालाई विकास गर्दै यसलाई विश्व समुदायसँग जोडपर्ने उनको भनाइ छ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतले धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताएका छन्। उनले नेपाल र भारतबीच परम्परादेखि नै धार्मिक सम्बन्ध रहेको र यसलाई अझ विस्तार गर्दै लैजान पर्ने बताए।

उनले धार्मिक सम्बन्धलाई धार्मिक विकाससँगै पर्यटनमा जोडनुपर्ने बताए। परराष्ट्रमन्त्री साउदकी श्रीमती जोस्ना साउद पनि नेपाल-भारत धार्मिक क्रियाकलापमा सक्रिय छिन्। केही विदेशीले त परराष्ट्रमन्त्रीले ‘स्पाउज’ मार्फत धार्मिक कूटनीतिलाई बढवा दिएको हो कि भनिरहेको अवस्थामा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा के गर्न हुने के नहुने भन्ने विषय आफैँमा स्पष्ट हुन पर्ने तर्फ कतिपय पूर्व कूटनीतिज्ञले प्रश्न उठाइरहेका हुन्छन्।

भारतीय पर्यटकको धार्मिक गन्तव्य नेपालको पशुपति, मुक्तिनाथ, जनकपुर र लुम्बिनीजस्ता धार्मिकस्थल पर्छन्। नेपाली पर्यटकको पनि भारतको केदारनाथ र काशीजस्ता स्थान पर्ने गरेको मन्त्री साउदले बताए। ‘दुई देशले मिलेर धार्मिक पर्यटक विकास गर्नुपर्छ। यसो गर्दा विश्वबाट नेपाल घुम्न आउने पर्यटक भारत जाने र भारत घुम्न आएका पर्यटक नेपाल आउँछन्,’ उनले भने।

राप्रपा सांसद धवलशमशेर राणाले भारतले पछिल्लो समयमा गरेको प्रगतिले छिमेकी खुसी भएको धारणा व्यक्त गरे। तर उनले भारतले छिमेकी हुनुको नाताले भारतले ठूलो हृदय राखेर स-साना समस्याहरूको समाधान गरेर नै नेपालसँग सहकार्य गर्न आवश्यक रहेको बताए। उनले भने, ‘सीमा क्षेत्रमा नेपालबाट सवारी लिएर भारत जानेदेखि नेपाली विमानस्थललाई हवाई रुट दिनेलगायतका विषयमा भारत उदार हुनुपर्छ। जसले दुवै मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्छ।’

दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले भारत भविष्यमा आर्थिक रूपमा तेस्रो शक्ति भएर अमेरिका, युरोप र अन्य मुलुकमा बढी केन्द्रित हुँदै गर्दा छिमेकी नेपालले भारतको ध्यान तान्न सक्नु पर्नेमा जोड दिए। उनले भारतले पनि नेपाल जस्तो छिमेकीको मन जितरे अघि बढ्न सक्दा सहज हुने धारणा पनि राखे।

नेपालमा रहेका भारतीय नेताले यहाँका राजनीतिक दलका नेता, विद्वान समुदाय, थिंक ट्यांकमा काम गर्नेहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम थियो। उनी भेटघाट पनि गरिरहेका छन्। यसअघि पनि उनी नेपाल आउने र यस्तै कार्यक्रम गर्ने गर्थे। भारतमा पनि नेपालका नेता तथा विद्वत वर्गलाई बोलाएर बहस र छलफलमा सहभागी गराउँथे।

प्रकाशित: १६ माघ २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =