सीमानामा फेरि भिडे भारतीय र चिनियाँ सेना

हिमाल प्रेस २६ मंसिर २०७९ २०:३१
44
SHARES
सीमानामा फेरि भिडे भारतीय र चिनियाँ सेना फाइल तस्बिर

काठमाडौँ- भारत र चीनका सेनाबीच फेरि एकपटक भिडन्त भएको छ। भारतीय अखबार द हिन्दुका अनुसार दुई देशका सेना गत शुक्रबार (डिसेम्बर ९) भिडेको हुन्। भिडन्त भारतीय उत्तरपूर्वी राज्य अरुणाचलको याङ्सीमा भएको बताइएको छ।

भिडन्तमा भरतीय सेनाका केही जवान घाइते भएको द हिन्दुले लेखेको छ। भारतभन्दा चीनतर्फ बढी हताहती भएको पनि समाचारमा उल्लेख छ।

भारत र चीनका सेना यसअघि जुन १५, २०२० मा पनि आमनेसामने भएका थिए। लदाखको गल्वान उपत्यकामा भएको त्यस भिडन्तमा परी भारतीय सेनाका २० जवानको मृत्यु भएको थियो। त्यसपछि पहिलो पटक दुई प्रतिद्वन्द्वी देशका फौज भिडेका हुन्।

पछिल्लो भिडन्तबारे भारतीय सेना केही बोलेको छैन। हिन्दुले भने स्रोतको हवाला दिँदै लेखेको छ, ‘केही भारतीय जवानको खुट्टा भाँच्चिएको छ। तिनको उपचार गुवाहटी सहरमा भइरहेको छ। भिडन्तमा करिब ६ सय चिनियाँ सैनिक सहभागी थिए।’

भारतकै अर्को अखबार टाइम्स अफ इन्डियाले भारतीय सैनिक सामान्य घाइते भएको लेखेको छ। ‘अरुणाचलमा पर्ने लाइन अफ कन्ट्रोल ( भारत र चीनबीचको सीमाना) मा सामान्य झडप भएको हो। झडपमा परी भारततर्फ सामान्य हताहती भएको छ। झडपपछि दुवैतर्फका सेना आआफ्ना क्याम्प फर्किएका छन्,’ टाइम्स अफ इन्डियामा उल्लेख छ।

टाइम्स अफ इन्डियाका अनुसार त्यस घटनापछि दुवै सेनाका स्थानीय कमाण्डरबीच छलफल भएको थियो। छलफलपछि स्थिति सामान्य भइसकेको पनि टाइम्स अफ इन्डियाले लेखेको छ।

अरुणाचलमा दुई देशका सेना पटक पटक भिडेका छन्। हाल कायम सीमाना पूर्णरुपमा स्वीकार्य नभएका कारण दुई देशका सेना ठूलो संख्यामा उपस्थित छन्। सीमानामा गस्ती गर्ने क्रममा उनीहरुबीच बेलाबेलामा झडप हुने गरेको छ। अक्टोबर, २०२१ मा पनि गस्तीकै क्रममा याङ्सी नजिक झडप भएको थियो।

पछिल्लाे समय झडप भइरहेपछि दुवै देशले सीमानामा तैनाथ सैनिकको संख्या बढाउँदै लगेका छन्। अरुणाचलको तवाङ जस्ता रणनीतिक रुपमा महत्त्वपूर्ण ठाउँमा भारतीय सेनाले अत्याधुनिक सैन्य सामग्री र हतियार पुर्‍याएको छ। चिनियाँ सेनाले आफ्नोतिर व्यापक रुपमा पूर्वाधार निर्माण गरेपछि भारतीय भूमितिर पनि सडक, पुल, सुरुङ लगायतका पूर्वाधार बनाइँदैछ। दुई देशबीचको पूर्वाधार निर्माण प्रतिस्पर्धाले युद्धको तयारीको झल्को दिने विश्लेषकहरुको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०७९ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =