गुजरात उच्च अदालतले राहुल गान्धीविरुद्ध सुनायो फैसला

हिमाल प्रेस २२ असार २०८० १६:२५
36
SHARES
गुजरात उच्च अदालतले राहुल गान्धीविरुद्ध सुनायो फैसला

काठमाडौँ– गुजरात उच्च अदालतले ‘मोदी सरनेम’ मानहानि मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध फैसला सुनाएको छ। अदालतले उनको याचिका खारेज गरेको छ।

बीबीसीमा प्रकाशित समाचारअनुसार राहुलले यस मुद्दामा सुरत अदालतको आदेशविरुद्ध याचिका दायर गरेका थिए। जसमा उनले आफूलाई दोषी करार गरिएको फैसलामा रोक लगाउने माग गरेका थिए। गुजरात उच्च अदालतले आज (शुक्रबार) राहुलविरुद्ध फैसला सुनाएको छ।

गत मार्च २३ मा गुजरातको एक अदालतले राहुललाई उनको ‘मोदी सरनेम’ टिप्पणीविरुद्ध सन् २०१९ मा आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो।

राहुलविरुद्ध भाजपाका विधायक तथा गुजरातका पूर्वमन्त्री पूर्णेश मोदीद्वारा अप्रिल १३, २०१९ मा मुद्दा दर्ता गरिएको थियो। ‘नीरव मोदी, ललित मोदी वा नरेन्द्र मोदी। सबै चोरजति मोदी नै किन छन्’ राहुलले भनेका थिए। उनले यो टिप्पणी लोकसभा चुनावका बेला कर्नाटकको कोलारको र्‍यालीलाई सम्बोधन गर्दै भनेका थिए।

दोषी ठहरिएको एक दिनपछि मार्च २४ मा राहुललाई लोकसभामा अयोग्य घोषित गरिएको थियो। लोकसभाले उनको सदस्यता रद्द गरेपछि भारतमा विपक्षी राजनीति तातिएको थियो।

विपक्षी दलहरूले संसद् भित्र र बाहिर, बिहारसहित राज्य विधानसभामा त्यसको विरोध गरेका थिए। विपक्षी दलहरू भाजपा तथा नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध एकजुट देखिएका थिए।

राहुललाई दिल्लीमासरकारी निवास खाली गर्ने नोटिससमेत दिइएको थियो। सन् २००४ मा अमेठीबाट लोकसभा चुनाव जितेपछि पाएको सो सरकारी निवास अप्रिल २२ मा राहुलले खाली पनि गरेका थिए।

त्यहाँबाट उनी आमा सोनिया गान्धीको आवासमा सरेका थिए। त्यसपछि उनले भनेका थिए, ‘म सत्य बोल्ने मूल्य चुकाउँदै छु।’

प्रकाशित: २२ असार २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =