मुगु हिमपहिरो अपडेट : बेपत्ता खोज्न हेलिकप्टरमा उद्धार टोली

हिमाल प्रेस २५ वैशाख २०८० ९:२९
6
SHARES
मुगु हिमपहिरो अपडेट : बेपत्ता खोज्न हेलिकप्टरमा उद्धार टोली फाइल तस्बिर

मुगु- च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज (सोमबार) बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी एवं बेपत्ता भएकाका आफन्तसहित २० जना रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायव उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ। हिउँ र उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि पन्थीले बताए।

स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टरसहित उद्धारकर्मी पठाएको हो। मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते संकलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेको जनाइएको छ।

पाटनमा जाँदै गर्दा च्याखु लेकमा वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ। रासस

प्रकाशित: २५ वैशाख २०८० ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =