यूएईलाई छिचोल्दै नेपाल एसिया कपमा

हिमाल प्रेस १९ वैशाख २०८० १२:०२
56
SHARES
यूएईलाई छिचोल्दै नेपाल एसिया कपमा

काठमाडौँ- नेपालले एसिया कप खेल्ने लक्ष्य पूरा गरेको छ। एसीसी प्रिमियर कप फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएसँगै नेपालले एसिया कप खेल्ने पक्का भएको हो। त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार यूएईलाई हराउन नेपालका गुल्शन झा र भीभ शार्कीले ९६ रनको निर्णायक साझेदारी गरे।

झरीका कारण सोमबार नसकिएको फाइनल मंगलबार खेलाइँदा नेपालले ११८ रनको लक्ष्य पाएको थियो। लक्ष्य सानो पाए पनि खराब सुरुवात गरेको नेपाललाई सफलता दिलाउन गुल्शनले एकदिवसीय करियरकै दोस्रो अर्धशतक प्रहार गरे। उनले ८४ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै कुल ६७ रन बनाए। उनीसँगै अविजित रहेका भीमले ७२ बल सामना गरेर ३६ रन बटुले।

१०६/९ को स्थितिबाट खेल्न सुरु गरेको यूएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भएको थियो। कसिलो बलिङ गर्दै यूएईलाई दबाबमा राखेको नेपाल ब्याटिङ गर्दा आफू पनि दबाबमा पर्‍यो। ओसिलो पिचमा घरेलु टिमले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। एक रन जोडेका कुशललाई रोहन मुस्ताफाले एलीबीडब्लु धरापमा पारेका थिए। सातौँ ओभरको पहिलो बलमा नेपालका अर्का ओपनर आशिफ शेख आउट भए। आयान अफ्जल खानको बलमा एलबीडब्लू आउट हुनुअघि आशिफले १० बलमा आठ रन बनाएका थिए।

कप्तान रोहित पौडेल एक रनमै समेटिएपछि झन् अप्ठ्यारोमा पर्‍यो। मुस्ताफाको धरिलो बलिङले निरन्तरता पाएपछि नेपाल सम्हालिन सकिरहेको थिएन। १० ओभरको समाप्तिमा नेपाल २४/३ को स्थितिमा थियो। तर तेस्रो नम्बरमा ब्याटिङ गर्न पुगेका गुल्शनले विस्तारै इनिङ्स सम्हाले। उनलाई भीमले साथ दिएपछि नेपाल जिततर्फ उन्मुख भएको थियो।

एसिया कप पाकिस्तानले आउँदो अक्टोबरमा आयोजना गर्दैछ। जहाँ नेपालसँगै एसियाका पाँच ठूला टिम सहभागी हुनेछन्। नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामान गर्ने तालिका छ। विश्व क्रिकेटका यी दुई महारथीसँग खेल्न पाउने भएकैले एसिया कपमा छनोट हुनु नेपालका लागि अद्भूत सफलता हो।

टस जितेर बलिङको निर्णय गरेको नेपालले सुरुबाटै यूएईलाई दबाबमा राखेको थियो। नेपाली बलरहरू चम्किएको खेलमा ललित राजवंशीले सोमबार पाँच रन खर्चिएर तीन विकेट हात पारेका थिए। आखिरमा उनको नाममा चार विकेट रह्यो। ७.१ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए।

यूएईलाई सस्तोमा समेट्न करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। त्यसैगरी सोमपाल कामी र गुल्शन झाको नाममा एक–एक विकेट रह्यो।

सोमबार नेपालले चौथो ओभरमा पहिलो विकेट लिएको थियो। दोस्रो ओभर बलिङ गर्न फर्किएका सोमपाल कामीले ओपनर मोहम्मद वासिमलाई ललित राजवंशीमार्फत क्याच गराएका थिए। वासिमले ११ रन मात्र बनाउन सके। त्यसपछि यूएईले लगातार विकेट गुमाइरह्यो। पाँचौँ ओभरमा भृत्य अरबिन्द (८) र नवौँ ओभरमा अर्का ओपनर आर्यन लक्रा (१३) आउट भए। यी दुवैको विकेट करण केसीलेले लिए।

त्यसअघि भीम शार्कीले आठौँ ओभरमा क्याच छाडेपछि लाक्राले जीवनदान पाएका थिए। तर लाक्राको पुनर्जीवनले धेरै समय निरन्तरता पाएन। नवौँ ओभरको पहिलो बलमै उनलाई करण केसीले आरिफ शेखमार्फत क्याच आउट गराए।

विकेट लिनेको सूचीमा ललित १० औँ ओभरमा थपिए। उनले आफ्नो दोस्रो बलिङ ओभरको पहिलो बलमै रमिज शाहजादलाई पभेलियन फर्काइदिए। पाँच बलमा एक रन बनाएका शाजादलाई गुल्शन झाले क्याच आउट गरेका थिए।

१० ओभरको समाप्तिमा ३५÷४ को स्थितिमा रहेको यूएईलाई रोहन मुस्ताफा र आशिफ खानको जोडीले सम्हाल्ने अनुमान गरिएको थियो। तर मुस्ताफा दुई रनमै समेटिए। उनी सन्दीप लामिछानेको बलिङको सिकार बने। आशिफ खानले भने ४६ रन बनाए। उनी २८ औँ ओभरमा ललितको बलमा पभेलियन फर्किएका थिए।

प्रकाशित: १९ वैशाख २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =