राष्ट्रहित केन्द्रमा राखेर भारत भ्रमण गर्छु : प्रचण्ड

हिमाल प्रेस ९ वैशाख २०८० १७:२२
8
SHARES
राष्ट्रहित केन्द्रमा राखेर भारत भ्रमण गर्छु : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन्। शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीयसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रूपले राख्नका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ। विभिन्न चुनौतिबीच कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेकाले यसलाई अवसरको रूपमा लिने उनले उल्लेख गरे।

राष्ट्रिय एकतालाई अघि बढाउन र आर्थिक समस्या समाधानका साथै इतिहासको चक्कालाई पछि ढकेल्न खोज्ने चुनौती देखिएको उनले जनाए। मुलुकको निर्वाचन प्रणाली र संवैधानिक व्यवस्थाका कारण कुनै एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेका कारण गठबन्धन बनेको र गठबन्धनलाई पाँचै बर्ष अघि बढाएर देश र जनतामा सेवा प्रवाह गरिने उनले धारणा राखे।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय रहेको भन्दै कम्युनिष्ट एकतामा भएका त्रुटिलाई आत्मसमीक्षा गर्दै पुन: एकतामा जानुको विकल्प नरहेको बताए।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न पार्टी केन्द्रित भएकाले छिटै नतिजामा पुगिने उनले स्पष्ट पारे। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको साझा मुद्दामा सहकार्य गर्नका लागि कम्युनिष्टहरू तयार हुनुपर्ने बताए।

विचार र सिद्धान्त मिल्ने कम्युनिष्ट पार्टीहरू एकता नै गरेर अघि बढ्नुपर्ने उनले उल्लेख गरे। अहिलको कम्युनिष्ट आन्दोलनको अवस्थाबारे गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनले जनाए।

प्रकाशित: ९ वैशाख २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =