राष्ट्रपतिमा रामचन्द्र : नखोजेको तर रोजेको जिम्मेवारी

चन्द्रशेखर अधिकारी २५ फागुन २०७९ २१:४९
90
SHARES
राष्ट्रपतिमा रामचन्द्र : नखोजेको तर रोजेको जिम्मेवारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल। तस्बिर : रासस

काठमाडौंँ- ‘राष्ट्रपतिमा मैले कहिल्यै लालच राखिनँ। गिरिजाप्रसाद कोइरालाले डा. रामवरण यादवलाई भन्दा पहिला मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो। गिरिजाप्रसादले आफ्नो विकल्पमा देखेको पहिलो व्यक्ति मै थिएँ’, २७ फागुन २०७८ मा रामचन्द्र पौडेलले भनेका थिए।

‘म सुविधाको पदमा बसेर होइन, मैदानमा लड्न चाहन्छु। सक्रिय भएर काम गर्ने ठाउँमा बस्न चाहन्छु। तर ‘रामचन्द्र राष्ट्रपति’ भनेर कपोलकल्पित हल्ला चलाइएको छ,’ उनी भन्थे।

मैदानमा लड्ने प्रतिबद्धताअनुसार पौडेलले २०६५ देखि २०७९ सालसम्म निरन्तर पार्टी सभापति र प्रधानमन्त्री पदका लागि आफूलाई सक्रिय बनाए। तर त्यसमा उनी सफल भएनन्। पार्टी सभापति र प्रधानमन्त्री बन्ने उनको चाहना पूरा हुन सकेन।

२०७९ सालमा आइपुग्दा भने उनको चाहना परिवर्तन भयो। मंसिरमा सम्पन्न चुनावपछि पौडेलका लागि परिस्थिति मात्रै नबदलिएर चाहना नै बदलिएको जानकारहरू बताउँछन्। चुनावपछि पौडेलले प्रधानमन्त्रीमा लालसा देखाएनन्। पार्टी संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई समर्थन गरे। त्यसपछि नै पौडेलले राष्ट्रपति चाहेको कांग्रेस नेताहरू बताउँछन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले भनेका छन्, ‘सुरुमा नखोजेकै हो तर परिस्थिति बदलिएपछि रोजेकै पद हो राष्ट्रपति।’ राजनीतिक निष्ठामा रहँदै आएका नेता भनेर चिनिन्छन् पौडेल। यद्यपि उनका पनि एकआध कमजोरी नभएका हैनन्। त्यो हो, आफ्ना र अर्कालाई छुट्याउथे। अब उनलाई त्यसरी विभेद गर्ने छुट छैन। किनकि उनी त्यसो गर्न नपाउने स्थानमा पुगेका छन्।

बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी एमालेका सुवास नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका थिए। नेम्बाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए।

मतभार गणना गर्दा पौडेलले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार प्राप्त गरे। उनको कुल मतभार ३३ हजार ८०२ छ। नेम्बाङले संघतर्फ सात हजार ७४२ र प्रदेशतर्फ सात हजार ७७६ गरी कुल १५ हजार ५१८ मतभार प्राप्त गरे।

दाहाल र नेपालबाट आर्जन गरेको विश्वास

राष्ट्रपति पदमा निर्वाचित हुनका लागि स्वयं रामचन्द्र पौडेलले पनि मेहनत गरेको जानकारहरूको बुझाइ छ। राजनीतिक विश्लेषक विष्णु दाहाल पौडेलले राष्ट्रपति बन्न गत आमचुनावअगाडिको पाँच दलीय गठबन्धन बनाउने बेलादेखि नै प्रयास थालेको बताउँछन्।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसमा दुई धार देखापरेको थियो। विघटनको विरोधमा सडकमा जानुपर्छ भन्ने धारको नेतृत्वमा थिए पौडेल। पार्टी सभापति शेरबहादुर देउवा विरोध गर्न आलटाल गरिरहेका थिए।

पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको विश्वास आर्जन गरेका थिए। दाहाल भन्छन्, ‘दुवै पटक संसद् विघटनविरुद्धको पाँच दलीय गठबन्धनको मोर्चामा रामचन्द्र अग्रपंक्तिमै रहे।’

दुवै पटक सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको थियो। दोस्रो पटकको विभाजन बदर भएपछि २९ असार २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने।

‘देउवा प्रधानमन्त्री बन्ने वातावरण बन्नुमा पौडेलकै भूमिका थियो। किनभने देउवा सुरुमा मध्यावधिमा जान चाहेका थिए। त्यसलाई रोकेर रामचन्द्रले प्रधानमन्त्री बनाए’, दाहालले भने।

राजनीतिशास्त्रका प्राध्यापक डा. लोकराज बरालका अनुसार पौडेल राष्ट्रपति निर्वाचित हुनुमा तत्कालीन राष्ट्रपतिको असंवैधानिक कदममा निरन्तर प्रश्न उठ्नु पनि हो। बराल भन्छन्, ‘पौडेलले संविधान र लोकतन्त्रका लागि जसरी आफूलाई अग्रमोर्चामा राख्नुभयो उहाँलाई त्यसको फल दिने विषयमा कांग्रेस मात्रै नभएर माओवादी र एकीकृत समाजवादीलगायतका दल पनि तयार भए।’

पौडेलले पालना गर्नुपर्ने पाँच कुरा

राष्ट्रपति निर्वाचित भएसँग पौडेलको नजर पदीय मर्यादा जोगाउनमा केन्द्रित हुनुपर्ने सुझाव विश्लेषकहरूको छ। राष्ट्रपति हुनुअगाडि आफैँले गरेका प्रश्नहरूको जवाफ व्यवहारमा दिन सके पौडेल सफल हुने बताउँछन् राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। उनी भन्छन्, ‘अहिले सान मान खोज्ने भन्दा पनि सादगी राष्ट्रपतिको खोजी भएको छ। पहिलो राष्ट्रपति रामवरण यादवको सादगीपनको प्रशंसा हुन्छ।’ यद्यपि यादवमाथि सुविधा लिने विषयमा बढी लोभी बनेको टिप्पणी हुँदै आएको छ।

विश्लेषक आचार्य राष्ट्रपति पौडेल आफूलाई सफल बनाउने हो भने प्रमुख पाँच कुरामा ध्यान दिनुपर्ने बताउँछन्।

पौडेललाई उनको सुझाव छ, ‘दलीय आबद्धताबाट मुक्त हुनुहोस्, संविधानको रक्षार्थ नडगमगाउनुहोस्, राजामहाराजाको जस्तो सवारीलाई तत्काल परिवर्तन गराउनुहोस्, विगतका राष्ट्रपतिले जस्तो पार्टी विवादमा समेत भूमिका खोजेर राजनीतिक सक्रियता नदेखाउनुहोस् र नेपाली सेनाबाट अगाडि बढेका परियोजनामा नैतिक बलबाट पारदर्शी एवम् कम भड्किलो बनाएर सेनालाई मर्यादित संस्थाका रूपमा सशक्त बनाउन सक्नुहोस्।’

यी विषयमा गम्भीर नहुँदा विगतका राष्ट्रपति विवादरहित हुन नसकेको आचार्य बताउँछन्। प्रथम राष्ट्रपति यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन गरेको सिफारिस अस्वीकृत गरिदिएका थिए।

मन्त्रिपरिषद्को निर्णय पालना नगर्ने छुट राष्ट्रपतिलाई संविधानले नदिएको भनेर यादवको आलोचना भएको थियो। सरकारले गरेको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयन नभएको भन्दै तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा दिए। यादव अन्ततः नेपालको संविधान २०७२ जारी गरेर बिदा भए।

पदीय मर्यादा नभुल्न सचेत

राष्ट्रपति पद बढी सुविधाभोगी बनेको टिप्पणी हुँदै आएको छ। दरबारकै शैलीमा हुकुम चलाउने काम राष्ट्रपतिबाट भएपछि सबैतिर आलोचना हुनु स्वाभाविकै हो। ‘भात खानुभयो’ बाट एकैचोटि ‘भुजा ज्यूनार भयो’ भन्न थालेपछि पदीय गरिमा भुलेको आरोप अघिल्लो राष्ट्रपतिमाथि लागेको थियो। राष्ट्रपति भण्डारीबाट सेवासुविधा र सुरक्षाका नाममा सडकमा सर्वसाधारणले सास्ती पाएपछि थप आलोचित हुँदै आएको हो।

दुई पटक गरेर सात वर्ष राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्त्वपूर्ण मानिए पनि विवादरहित हुन सकेन।

उनको भड्किलो शैली महारानीकै जस्तो भयो भनेर आलोचना भयो। शीतल निवास छिर्नेबित्तिकै खरिद प्रक्रिया अघि बढाइएको सात करोडको गाडी, सवारीमा हिँड्दा गर्नुपर्ने सम्मान, उनको समाचार पत्रपत्रिकाको पहिलो पेजमा राख्नुपर्ने, उनलाई तपाईँ लेख्नुपर्नेसम्मका विषयममा भण्डारी विवादमा तानिएकी थिइन्। एमालेबाहेक अन्य दललाई नगन्ने उनको शैली विवादमा पर्ने कारण थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि दुई पटक सिफारिस गरे। दुवै पटक राजनीतिक र संवैधानिक परामर्शबिनै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई सदर गरेकी थिइन्। त्यसबेला राष्ट्रपति भण्डारीले ‘संविधानको परिधिभित्र रहेर काम गरेको’ तर्क गरेकी थिइन्। तर उनै भण्डारीले संसदले दुई पटकसम्म पारित गरेर पठाएको नागरिकता विधेयकमा ‘संविधानको त्यो परिधि’ को हेक्का गरिनन्। विधेयक अझै अलपत्र छ।

कांग्रेस नेता गुरुराज घिमिरे पौडेलको काँधमा पार्टीभन्दा माथि उठेर राष्ट्राध्यक्ष बन्ने दायित्व आएको बताउँछन्। उनी भन्छन्, ‘नेपालका ठूला परिवर्तनमा भूमिका खेलेका, पछिल्लो समय लोकतन्त्रको पुनर्स्थापना र संघीय गणतन्त्रका लागि लड्नुभएका सादगी पौडेल राष्ट्रपति बन्नु महत्त्वपूर्ण घटना हो।’

विगतका राष्ट्रपतिबाट भएका असल र खराब कामबाट पाठ सिकेर पौडेलले संविधानअनुसार भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ। ‘उहाँ कांग्रेसबाट त्यहाँ पुगेको भए पनि अब कांग्रेस वा कुनै राजनीतिक समूहको स्वार्थलाई टेवा पुग्ने गरी काम गर्नुहुँदैन। गैरदलीय भूमिकामा अविचलित हुनुपर्छ। संसदभित्रका उतारचढाव, अनि दलभित्रका विषयमा उहाँले टाउको दुखाउनु जरुरी छैन’, घिमिरे भन्छन्।

प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेललाई अन्तत: सर्वोच्च पद

प्रकाशित: २५ फागुन २०७९ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =