प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेललाई अन्तत: सर्वोच्च पद

हिमाल प्रेस २५ फागुन २०७९ १७:१६
82
SHARES
प्रधानमन्त्रीमा १७ पटक हारेका पौडेललाई अन्तत: सर्वोच्च पद

काठमाडौँ- ६ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका रामचन्द्र पौडेललाई पार्टी र सरकारको नेतृत्व सम्हाल्ने अवसर नमिले पनि मुलुकको अभिभावक बन्ने सौभाग्य मिलेको छ।  पौडेल बिहीबार भएको निर्वाचनमा मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। एमालेका सुवास नेम्बाङलाई पराजित गरेर पौडेलले शीतल निवासको यात्रा सुनिश्चित गरेका छन्।

पौडेल प्रधानमन्त्रीको चुनाव १७ पटक हारेर कीर्तिमान बनाउने नेतामा चिनिन्छन्। ०६७ साउनमा प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिएका थिए।

अन्तरिम संवैधानिक प्रावधानअनुसार तीनैजनाले मतसंख्या हासिल गर्न नसकेपछि तीनजनाबीच सात पटकसम्म प्रतिस्पर्धा भयो। आठौँ प्रतिस्पर्धापछि प्रचण्ड बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका थिए। तर पौडेलको प्रधानमन्त्री बन्ने चाहना पूरा हुन सकेको थिएन।

सधैँ पदमा, सधैँ असन्तुष्ट

पार्टीको तेह्रौँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा हारेका पौडेलले एउटा धारको नेतृत्व गर्दै आएका थिए। तर उनले १४ औँ महाधिवेशनमा पार्टीबाट विरक्तिएका अभिव्यक्ति सार्वजनिक गरेका थिए।

प्रमुख पदमा नपुगे पनि कांग्रेसमा लामो समयसम्म लाभको पद पाउनेमध्येमा पौडेल अगाडि छन्। २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। त्यति बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री भएका थिए भने २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने।

राष्ट्रपति पदमा विजयी भएका रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस

२०५१ सालको मध्यावधि चुनावपछि मनमोहन अधिकारी नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बनेको थियो। तनहुँ २ बाट सांसद निर्वाचित पौडेलले सभामुख बन्ने अवसर पाएका थिए। २०५१ देखि २०५६ सालको त्रिशंकु संसद्‌मा सरकार परिवर्तन भइरहे पनि पौडेलले भने सभामुख पद छाड्नुपरेको थिएन।

२०५६ को चुनावमा तनहुँ २ बाट तेस्रोपटक निर्वाचित उनले २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि पौडेल लाभको पदमै रहे। २०६३ मा शान्ति सचिवालय संयोजक भएका उनले शान्ति तथा पुनर्निमाण मन्त्रालयको नेतृत्व सम्हालेका थिए।

२०६४ को संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भए।

पौडेल २०६२ सालमा कांग्रेस महामन्त्री भएका थिए भने २०६४ सालमा कांग्रेसको उपसभापति भए। पौडेलले कार्यवाहक सभापति भई २०७२ मा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएका थिए।

कोइराला क्याम्पका उत्तराधिकारी बन्न विफल

गिरिजाप्रसाद कोइराला सक्रिय रहँदा कोइराला खेमामा रहेका पौडेल कोइरालाले निधनपछि त्यो क्याम्प अगाडि बढाउन सकेनन्। पार्टीको १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग हारेका थिए। बाह्रौँ महाधिवेशनसम्म कोइराला र देउवा गुटमा बाँडिएको कांग्रेस तेह्रौँ महाधिवेशनमा आइपुग्दा कोइराला गुट छिन्नभिन्न भयो।

स्थापनादेखि साढे छ दशकसम्म कोइरालाको सेरोफेरोमा चलेको कांग्रेस तेह्रौँ महाधिवेशन अपवाद भयो। कोइराला क्याम्पका उत्तराधिकारी भनिएका रामचन्द्र पौडेल सभापति निर्वाचनमा देउवासँग पराजित भए।

२०७५ वैशाख ४ गते पोखरामा कांग्रेसले एउटा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा सहभागी थिए वरिष्ठ नेता पौडेल। कार्यक्रममा पौडेल आफ्ना कार्यकर्तासँग धुरुधुरु रोएका थिए। उनको विरक्ति नेतृत्वको कार्यशैलीप्रति थियो।

उनले भनेका थिए, ‘पार्टीभित्र झांगिएको बेथिति देख्दा कहिलेकाहीँ मलाई आत्महत्या गरूँझैँ लाग्छ।’ २०७४ मा भएको प्रतिनिधिसभा प्रदेशसभा चुनावमा कांग्रेस नराम्रोसँग पराजित भएको थियो। पराजित हुनेमा पौडेल पनि थिए। २०४८ सालमा संसदीय चुनावबाट जनप्रतिनिधि बनेका पौडेलको त्यो हार पहिलो थियो।

पार्टीले हारेकामा उनी चिन्तित थिए। त्यसैले हारको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनको अडान थियो। उनी पार्टी बैठकमा यही कुरा राख्थे। तर सुनुवाइ नभएपछि उनी कार्यकर्तामाझ भावुक अभिव्यक्ति दिन बाध्य हुन्थे। चुनावमा पार्टीले हार्नुको जिम्मा सिंगो केन्द्रीय समितिले लिनुपर्ने प्रस्ताव पारित भएपछि पौडेल थप पछाडि धकेलिएका थिए।

चौधौँ महाधिवेशनमा पार्टीबाट अलग

पौडेल नेपाली कांग्रेसभित्र निष्ठा, इमान र लोकतन्त्रको वकालत गर्ने नेताका रूपमा चिनिन्छन्। कांग्रेसको १४औँ महाधिवेशनमा आइपुग्दा उनी पार्टी राजनीतिबाट झन् विरक्तिदिए। सोही कारण उनले विज्ञप्ति प्रकाशित गरेर १४औँ महाधिवेशनमा आफूलाई अलग राखेको घोषणा गरेका थिए।

पार्टीको नेतृत्व गर्ने आकांक्षामा रहेका पौडेललाई आफ्नै टिमका साथीले असहयोग गरेपछि सभापतिको दौडबाट अलग भएका थिए।

उनले भनेका थिए, ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ। पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ।’

यो विरक्तिपूर्ण अभिव्यक्तिसँगै उनी महाधिवेशनमा सामेल भएनन्। जानकारहरूको बुझाइमा पौडेलको हात झिकाइ देउवाका लागि सहज भयो र उनी दोस्रोपटक सभापतिमा चुनिए। देउवासँगको सोही मित्रता गाढा हुँदै गएपछि अहिले पौडेल राष्ट्रपति उम्मेदवारमा सिफारिस भएको उनीहरूको बुझाइ छ।

मध्यमार्गी नेताको पहिचान

पौडेल नेपाली कांग्रेसमा २०१७ सालपछि उदय भएका नेता हुन्। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले जेल हाल्दा पौडेल १६ वर्षका थिए। नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए।

स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए।

पौडेल २०२७ सालमा स्थापित नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुन्। उनी २०३४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। राजनीतिक जीवनमा करिब १५ वर्ष जेलमा परेका उनी आफूलाई निष्ठाको राजनीति गर्ने भनेर चिनाउँछन्।

पौडेलले तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टी सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको मनमुटाव मिलाउन मध्यमार्गी भूमिका निर्वाह गरेको उनी निकट नेताहरू बताउँछन्।

द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिमा पौडेलेको अग्रणी मध्यमार्गी भूमिका छ। यस्तै उनी १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार हुन्।

प्रकाशित: २५ फागुन २०७९ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =