राजदूत बनेर नेपाल चिनाउने नारी

हिमाल प्रेस २४ फागुन २०७९ १९:०७
504
SHARES
राजदूत बनेर नेपाल चिनाउने नारी विन्देश्वरी शाह, अम्बिकादेवी लुइटेल मानन्धर र सेवा लम्साल (माथि), गुणलक्ष्मी शर्मा विश्वकर्मा, मायाकुमारी शर्मा, प्रतिभा राणा, लक्की शेर्पा (बीचमा) र दावा फुटी शेर्पा, अञ्जान शाक्य, शर्मिला पराजुली ढकाल, ज्योति प्याकुरेल, कान्ता रिजाल।

काठमाडौँ- राजदूत भन्नेबित्तिकै मुलुकको बाहिरी मुहार भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय समुदायले राजदूतकै नजरबाट मुलुक चियाउँछ। मित्र मुलुकसँगको सम्बन्ध फराकिलो या साँघुरो बनाउने भन्ने विषय राजदूतको क्षमता र निर्णयमा निर्भर हुन्छ।

राजदूतको सक्रियता, चासो, ज्ञान, कौशलसहितको क्षमतामा मुलुकको प्रतिष्ठासँगै अन्य धेरै विषय जोडिएको हुन्छ। राजदूतको सम्पर्कबाट मुलुकले आफ्नो औपचारिक धारणा अन्य मित्रराष्ट्रसँग राख्ने हो र त्यो मुलुकको आधिकारिक धारणा ल्याउने हो। साथै राजदूतले दुईपक्षीय मात्र होइन क्षेत्रीय परिवेशमा पनि ध्यान दिनुपर्छ।

नेपालको आठ दशक लामो कूटनीतिक अभ्यास छ। यसबीचमा धेरै पुरुषले राजदूत हुने अवसर पाएका छन्। महिलाबाट भने १२ जनाले मात्रै राजदूत बन्ने मौका पाए। यसबाहेक केही महिलाले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेको अभ्यास पनि छ।

नेपालमा महिला राजदूत नियुक्त गर्ने देशमा अमेरिका पहिलो हो। अमेरिकाबाट सन् १९६६ मा महिला राजदूत नियुक्त भएकी थिइन्। ती राजदूत दुई फरकफरक राष्ट्रपतिको कार्यकालमा नेपाल प्रतिनिधि भएकी थिइन्। नेपालमा रहँदै विवाह गरेकी ती राजदूतको नाम हो क्यरोलइन स्लिनडेनिङ लिज, जसलाई क्यरोल लिज भनेर पनि चिनिन्थ्यो। नेपालबाट फर्किएपछि लिज अमेरिकाको पहिलो महिला सहायक मन्त्री भएकी थिइन्।

उनका पति भियतनाममा राजदूत थिए। उनी नेपालमा राजदूत हुँदा उनका पति भियतनामबाट महिनामा एकपटक नेपाल आउँथे। त्यसका लागि अमेरिकी सरकारले विशेष उडान सुविधा दिएको थियो।
सन् १९७३ सम्म राजदूत रहेकी लिजले नेपालमा रहँदा महिला उत्थानका क्षेत्रमा पनि काम गरेकी थिइन्। त्यसपछि पनि अमेरिकाबाट नेपालमा महिला राजदूत आउने क्रम जारी छ।

नेपालबाट भने अझै पनि सीमित महिला मात्र राजदूत भएका छन्। त्यसो त परराष्ट्र सेवामा महिला प्रवेश हुन थालेको पनि धेरै भएको छैन। २२ वर्षअघि परराष्ट्र मन्त्रालयमा दुई जना महिला अधिकारी थिए। अधिकृत थिइन् अम्बिका लुइटेल मानन्धर। जो पछि राजदूत भइन्। अर्की एक महिला खरिदार वा नायबसुब्बा त्यस्तै के थिइन्। परराष्ट्र सेवामा न्यून उपस्थिति भएपछि राजदूत भएर जाने महिलाको संख्या पनि सीमित हुनु स्वाभाविकै हो।

विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत हुन्। कूटनीतिक वृत्तमा उनको ‘बोल्डनेस’ को अझै प्रशंसा हुन्छ। उनी अमेरिकी संस्थामा काम गर्दै गर्दा परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। पञ्चायतकालमा भारतका लागि राजदूत भइन्। ‘त्यतिबेला म एक्लो थिएँ परराष्ट्र मन्त्रालयमा। अहिले त काबिल महिलाको प्रवेश भएको सुनेको छु, राम्रो गरेका पनि होलान्। यो मेरा लागि खुसीको कुरा हो’, उनले केही वर्षअघि आफ्नो अनुभव सुनाएकी थिइन्।

काममा महिला बढी नै संवेदनशील हुने शाहको बुझाइ छ। कूटनीति पनि संवेदनशील क्षेत्र भएकाले महिलाको भूमिका बढाउँदै लैजानुपर्ने उनको सुझाव हुन्थ्यो। ‘पहिला हाम्रा कुरा कसैले सुन्दैनथ्यो। अहिले एकैपटक दर्जन बढी महिला सेवा प्रवेश गरेको सुन्न पाएँ’, उनले १२ वर्षअघि सोल्टीमोडस्थित घरमा भनेकी थिइन्। परराष्ट्रसेवामा एकैपटक २८ जना अधिकृत प्रवेश गर्दा आधा महिला रहेको सुन्दा उनी खुसी भएकी हुन्।

शाहपछि परराष्ट्रको अधिकृत तहमा पुग्ने महिला हुन् अम्बिका। यस्तै कृषि विकास बैंकबाट सीधै उपसचिवमा लडेर परराष्ट्रमा पुगिन् सेवा लम्साल। यो पनि १२ वर्षअघिकै कुरा हो। सेवा र अम्बिकाबीच सहसचिवमा आन्तरिक प्रतिस्पर्धा भयो। प्रतिस्पर्धामा अम्बिकालाई पछि पार्दै सेवा सहसचिव बनिन्। सेवा विन्देश्वरी शाहपछि दोस्रो सहसचिव बन्ने महिला हुन्।

अम्बिका पनि फाइल बढुवाबाट सहसचिव भइन् र लगत्तै फ्रान्सको राजदूत भइन्। उनी फ्रान्सबाट सेवा निवृत्त भइसकेकी छन्। सेवा भने त्यसअघि नै न्युयोर्कमा नियोग उपप्रमुखको जिम्मेवारीमा गएकी थिइन्। न्युयोर्कबाट फर्केपछि उनी पाकिस्तानको राजदूत भइन्। त्यहाँबाट फर्केपछि राष्ट्रसंघीय महाशाखा र प्रवक्ताको जिम्मेवारीमा रहेर पहिलो महिला परराष्ट्र सचिवको पर्खाइमा छन् सेवा।

रीता धिताल पनि परराष्ट्रमा सहसचिव भएकी छन्। उनी सार्कका पहिलो महिला निर्देशक भइन् नेपालबाट। यद्यपि अन्य मुलुकबाट भने महिला निर्देशक मात्र होइन महासचिव भइसकेका थिए। परराष्ट्रमा उपसचिव, अधिकृत र नायव सुब्बा गरेर ६० भन्दा बढी महिला कूटनीतिज्ञ भइसकेका छन्। यो क्रम बढ्दो छ।

पछिल्लो समय परराष्ट्रबाट भन्दा पनि बाहिरबाट राजदूत हुने प्रचलन बढेको छ। जुन आफैँमा महत्त्वपूर्ण छ। किनकि महिला राजदूत भएको स्थानमा अन्य महिलाले पनि अवसर पाउने सम्भावना हुन्छ। यहाँ अहिलेसम्म कुनकुन महिलाले राजदूतको जिम्मेवारी सम्हाले भन्ने विषयमा चर्चा गरिएको छ।

परराष्ट्र सेवाबाट राजदूत नियुक्त महिला

विन्देश्वरी शाह  : भारतका लागि नेपाली राजदूत बनेकी शाहले २०४४ चैतमा जिम्मेवारी सम्हालेकी थिइन्। २०४६ को परिवर्तनअघि भारतले नाकाबन्दी गरेका बेला उनी राजदूत थिइन्। बहुदलीय व्यवस्था पुनस्र्थापना हुनेबित्तिकै सरकारले शाहलाई फिर्ता बोलाएको थियो। त्यसयता भारतमा राजनीतिक दल निकट विज्ञ व्यक्तिलाई राजदूत नियुक्त गरिँदै आएको छ।

अम्बिकादेवी लुइटेल मानन्धर : अम्बिका पनि परराष्ट्र सेवाबाट राजदूत भएकी हुन्। फ्रान्सका लागि राजदूत भएकी उनी सात वर्षअघि सेवा निवृत्त भएकी छन्।

सेवा लम्साल : पाकिस्तानका लागि नेपाली राजदूत बनेकी सेवा उपसचिवबाट परराष्ट्र सेवामा प्रवेश गरेकी हुन्। अहिले परराष्ट्र प्रवक्ता रहेकी सेवा राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठन हेर्ने महाशाखा प्रमुख भइसकेकी छन्।

परराष्ट्रसेवाबाहिरबाट राजदूत नियुक्त महिला

गुणलक्ष्मी शर्मा विश्वकर्मा :  म्यानमारका लागि राजदूत भएकी विश्वकर्माले कार्यकाल सकेर पनि केही महिना बस्ने अवसर पाएकी थिइन्। जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय विश्वकर्मा २०६२/६३ को आन्दोलन लगत्तै केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा राजदूत भएकी थिइन्।

मायाकुमारी शर्मा : शर्मा कतारमा राजदूत हुने पहिलो नेपाली महिला हुन्। त्यहाँको आन्तरिक मामिला र कामदारका विषयमा अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी थिइन्। कतार सरकारकै गुनासोका कारण शर्मा आधा कार्यकाल पनि नबसी फर्कनुपरेको थियो। माओवादी कार्यकर्तासमेत रहेकी उनलाई नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा कृषिविज्ञका रूपमा राजदूत नियुक्त गरिएको थियो।

प्रतिभा राणा :  राणा राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा जापानका लागि राजदूत भएकी थिइन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन्। देउवा प्रधानमन्त्री भएका बेला अन्य राजदूतलाई फिर्ता बोलाइए पनि उनलाई उतै राखिएको थियो। उनको कार्यकाल पूरा भएपछि ६ महिना थपिएको थियो। उनी जापानमा रहँदा छोरी आरजुको उपचार दूतावासमै राखेर गरिएको थियो।

लक्की शेर्पा : शेर्पा अर्थशास्त्रमा स्नाकोत्तर गरेकी महिला हुन्। एमाले सांसद भइसकेकी उनी माओवादी प्रवेश गरेलगत्तै अस्ट्रेलियाको राजदूत नियुक्त भएकी थिइन्। एमाले सरकारमा आएपछि उनलाई फिर्ता बोलाइएको थियो। राजदूत हुँदा सँगै लगेको निजी कामदारको समस्याले पनि उनलाई विवादमा तानेको थियो।

दावा फुटी शेर्पा : पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पालाई ओली सरकारले स्पेनका लागि राजदूत नियुक्त गरेको थियो। कम उमेरमा राजदूत भएकी दावा न्युयोर्कमा निजी संस्थामा कार्यरत रहेकै बेला नियुक्त भएकी थिइन्। उनले पनि पूरा कार्यकाल राजदूत हुन पाइनन्।

अञ्जान शाक्य :  मानविकीमा विद्यावारिधि शाक्य ओली निकट हुन्। राजदूत हुनुअघि उनी रेडियो नेपालमा समाचार वाचिका र गायिकाका रूपमा चिनिन्थिन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उपप्रमुख भएर प्रवेश गरेकी शाक्यलाई ओलीकै सिफारिसमा इजरायलको राजदूत नियुक्त गरिएको थियो। पूर्ववर्ती ओली सरकार ढलेलगत्तै उनलाई फिर्ता बोलाइएको थियो।

शर्मिला पराजुली ढकाल : परराष्ट्र सेवाबाहिरबाट राजदूत हुनेमध्येमा शर्मिला भाग्यमानी महिला मानिन्छन्। उनी दुई देशमा राजदूत भइसकेकी छन्। ओमानमा चारवर्षे कार्यकाल सकिएपछि एक वर्ष थपेर पाँच वर्षभन्दा बढी राजदूत भएकी थिइन्।

अंग्रेजीमा स्नातकोत्तर र विद्यावारिधिसमेत गरेकी शर्मिला शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा विजय गच्छदारको सिफारिसमा राजदूत भएकी थिइन्। केपी शर्मा ओली, माधव नेपाल र शेरबहादुर देउवालगायतका नेतासँग उनको सम्बन्ध राम्रो छ। शर्मिलालाई ओमानमा गरेको कामको मूल्यांकन गर्दै सरकारले स्पेनमा राजदूत नियुक्त गरेको हो।

ज्योति प्याकुरेल :  ज्योति प्याकुरेल पद्मकन्या कलेजमा पढाउँथिन्। उनी राजनीतिक दलका नेताहरूसँग निकट थिइन्। उनका पति अर्थविज्ञ प्राध्यापक विश्वम्भर प्याकुरेल श्रीलंकामा राजदूत भइसकेका छन्। प्याकुरेल श्रीलंकाबाट कार्यकाल पूरा नगरी फर्किएका थिए। ज्योतिलाई पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन्।

कान्ता रिजाल :  कान्ता रिजाल नेपाली कांग्रेस निकट रहेर काम गरेकी महिला हुन्। कांग्रेसमा शशांक कोइराला निकट मानिने उनी इजरायलमा राजदूतका रूपमा कार्यरत छिन्। कांग्रेका पुराना नेता गणेश रिजालकी छोरी कान्ता पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवार थिइन्। उनी तेह्रथुमको पहिलो महिला विकास अधिकृत हुन्।

विश्वविद्यालय शिक्षामा अब्बल छात्रा

यसरी सुरु भएको थियो नेपालमा नारी दिवस मनाउने चलन

फिल्म निर्देशनमा सफल नारी

विभेदमै बित्यो ६५ वर्ष

नारी दिवसको ‘तामझाम’ले छोएन बाँकेका श्रमिक महिलालाई

मादलमा रत्तिएको मन

पारिवारिक जिम्मेवारीले पछि पर्दै विश्‍वभरका महिला

प्रकाशित: २४ फागुन २०७९ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =