संगीतमा नारी

मादलमा रत्तिएको मन

संगीता श्रेष्ठ २३ फागुन २०७९ १३:११
66
SHARES
मादलमा रत्तिएको मन

‘महिलाले मादल बजाउनु हुँदैन’ शारदा डंगोल (३६) ले बाल्यकालमा पटकपटक सुनेको भनाइ हो। मादलको तालमा रमाउनेका लागि योभन्दा ‘कटु वचन’ अरू केही हुन सक्छ! त्यसैले यी शब्द उनको मनमा च्वास्स बिझ्थ्यो। जतिपटक यस्ता शब्द सुन्थिन्, उनमा मादलप्रतिको मोह झन्झन् बढ्थ्यो। त्यसैले एउटादुइटा हैन एकैचोटि १२ वटा मादल बजाउन सिकिन्।

एक घण्टासम्म लगातार १२ वटा मादल बजाउन सक्छिन् शारदा। मादलको तालमा रमाउन थालेको दुई दशकभन्दा बढी भइसक्यो।

काठमाडौँ, न्युरोडमा जन्मिएकी उनको पारिवारिक पृष्ठभूमि संगीत होइन। तैपनि बाल्यकालमा मादल बजेको सुन्दा उनी आफूलाई रोक्न सक्दिनथिन्। बजाऊँ बजाऊँ लाग्थ्यो।

त्यसैले स्कुल पढ्दादेखि नै उनी मादलमा रत्तिइन्। साथीहरू नाच्न र टेबल टेनिस खेल्न हौसिन्थे। उनी मादल बजाउन तम्सिन्थिन्। तर सजिलो थिएन।

‘स्कुलमा गुरुले केटाहरूलाई मात्र मादल सिकाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘म पनि मादल बजाउन चाहन्थेँ। गुरुले केटाहरूलाई सिकाउँदा कक्षाबाहिर मादल बजाएको सुनेर बस्थेँ।’ कसरी सिक्ने भन्ने ध्याउन्नामा रहन्थिन् शारदा। अन्त गएर सिक्न सम्भव पनि थिएन।

उनको पटकपटक आग्रह गरेपछि गुरु न्हुच्छेबहादुर डंगोल मादल सिकाउन तयार भए। जबकि उतिखेर छोरीहरूलाई मादल बजाउने अनुमति थिएन। त्यसका लागि उनले परिवारलाई मनाउने चुनौती छँदै थियो। आमाबुबाले पढाइमा अवरोध नहुने गरी मादल बजाउन  स्वीकृति दिए।

‘रहरका लागि बजाऊ, पेसा बनाउने होइन’ घरबाट उर्दी जारी भयो। अभिभावकले यति भनेपछि उनको खुसीको सीमा रहेन।

‘मादलको ताल सुन्दा जीउमा काँडा उम्रिएजस्तो हुन्छ,’ उनले भनिन्, ‘आङै सिरिङसिरिङ हुन्छ। मेरो मनै लट्ठयाउने मादलबाट कसरी टाढा रहन सक्थेँ!’

आफूलाई मन परे पनि उनलाई बजाउनचाहिँ आउँदैनथ्यो। उनले त्यहाँ भएका केटा साथीहरूभन्दा बढी मेहनत गर्नुपर्थ्यो। बजाउन नजान्दा खूब रुन्थिन्। स्कुलबाट फर्किएर घरमा पनि अभ्यास गर्थिन्। तर टेबलमा। ‘मसँग मादल थिएन,’ उनले सुनाइन्, ‘घरमा टेबललाई मादल भन्दै बजाउँथेँ।’

उनको रहर देखेर मामाले एउटा मादल किनिदिए। त्यसपछि त घण्टौँ मादल अभ्यासमै बित्न थाले। मादल बजाउँदाबजाउँदा हातबाट रगत बग्थ्यो। उनलाई त्यसको वास्तै हुन्थेन। एकोहोरो अभ्यास गर्थिन्। ‘हातबाट रगत बग्दा कपडा बानेर मादल बजाउँथेँ,’ उनले भनिन्, ‘तर अभ्यास रोकिनँ।’

‘गीतसंगीतमा करिअर छैन’, ‘मादल बजाएर के पाउँछेस्?’ ‘केटी भएर के मादल बजाएको?’ भन्नेहरू पनि थिए। कतिपयले ‘दुइटा डुंगामा खुट्टा राखे, एउटै ठाउँमा नि पुगिन्न’ पनि भने।

उनी बस्ने टोलमा धिमे र खि बाजा सिकाइँदैथ्यो। महिला भएकाले उनलाई सिकाइएन। ‘उतिखेर केटीहरूले बाजा छुन हुन्न भन्ने थियो,’ उनले सुनाइन्, ‘नाटेश्वर भगवान् रिसाउँछन् भनेर केटीहरूलाई बाजा बजाउन सिकाइँदैनथ्यो।’

एसएलसी परीक्षा सकिएपछि बिदा सुरु भयो। साथीहरू कोही ब्युटिसियन त कोही सिलाइको तालिम लिन थाले। शारदा भने मादल बजाउन सिक्न थालिन्। यसबीचमा उनले मादल सिक्ने रहर मात्रै पूरा गरिनन्, आफूलाई व्यावसायिक रूपमा मादल वादनमा सक्रिय रहने बाटो पनि तयार पारिन्।

गीतसंगीतमा मन भए पनि परिवारको करकापमा उनले विज्ञान विषय पढ्नुपर्‍यो। उनको मादल मोह एकरत्ती पनि कम भएन। पढाइसँगसँगै मादल अभ्यास गरिरहिन्। दिनभरि पढाइसँगै बिहान र बेलुका मादलको अभ्यास जारी रह्यो।

परीक्षाका बेला भने उनलाई निकै अप्ठ्यारो हुन्थ्यो। ‘मैले पढिरहँदा बाहिर भाइहरूले गितार बजाउँथे, मलाई मन थाम्नै गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘पाँच मिनेटका लागि मात्र भए पनि मादल बजाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।’

‘परीक्षाका बेला मादलमा ध्यान दिए, पढाइ बिग्रिन्छ’ भनेर अभिभावकले उनलाई मादलबाट टाढा राख्थे। तर उनको मन मादलमै अड्किरहन्थ्यो। जता मादल उतै ध्यान गइरहन्थ्यो। पढाइमा अब्बल थिइन्। त्यसैले ‘मादल बजाएर पढाइ बिग्रियो’ भन्ने मौका कसैलाई दिइनन्।

अभिभावककै आज्ञाअनुसार ‘डिप्लोमा इन फार्मेसी’ गरिन्। संगीतको औपचारिक शिक्षा लिने रहर बाँकी थियो। ‘त्यो समयको बर्बादी’ हो भन्ने धेरै थिए। ‘गीतसंगीतमा करिअर छैन’, ‘मादल बजाएर के पाउँछेस्?’ ‘केटी भएर के मादल बजाएको?’ भन्नेहरू पनि थिए। कतिपयले ‘दुइटा डुंगामा खुट्टा राखे, एउटै ठाउँमा नि पुगिन्न’ पनि भने। तर उनले फार्मेसी र संगीतलाई सँगसँगै लगिन्। ‘दुवैमा धेरै गर्न नसके पनि जति गरे त्यसमा सन्तुष्ट छु, खुसी छु,’ उनले भनिन्।

एक दशकअघि आनी छोइङ डोल्माले केटीहरूको ब्यान्ड बनाउने  चासो देखाइन्। त्यसका लागि वर्त गन्धर्व, जानुका श्रेष्ठ र शारदा जम्मा भए। आनीले ब्यान्डको नाम दिइन्, ‘श्रीतारा’। गीतसंगीत सिक्ने व्यवस्था पनि गरिदिइन्। अरू साथीहरूले शारदाजस्तै निरन्तरता दिन सकेनन्।

१० वर्षयता शारदाले नै ‘श्रीतारा’को जिम्मेवारी सम्हाल्दै आएकी छन्। ‘यसबीच कति साथी आए, कति गए,’ उनले सुनाइन्, ‘कोही आर्थिक समस्याले त कोही पारिवारिक समस्याले ब्यान्डबाट टाढिए। ब्यान्डमा २५–३० जना आबद्ध भइसके होलान्। तर टिकेनन्।’

शारदाले हार मानिनन्। ब्यान्डलाई ‘जीवित’ राख्ने प्रयास गरिरहिन्। त्यसका लागि सामाजिक सञ्जाल प्रयोग गरिन्। संगीतमा रुचि हुनेहरूको खोजी गर्न थालिन्।

रोजिना डंगोल र सुजिना महर्जनले सम्पर्क गरे। संगीतमा रुचि भए पनि उनीहरू पोख्त थिएनन्। उनीहरू सिपालु हुँदासम्म शारदाले दुई वर्ष कुरिन्। अहिले ब्यान्डमा रोजिनाले बाँसुरी बजाउँछिन् भने सुजिनाले सारंगी। यसरी ‘श्रीतारा’ ब्युँझियो।

ब्यान्ड सक्रिय छ। बेलाबेलामा सांगीतिक कार्यक्रम गरिरहन्छ। ‘कतिपय कार्यक्रम परोपकारका लागि गरिन्छन्, कतिपय सामाजिक कार्यका लागि गर्छौँ,’ शारदाले भनिन्, ‘विज्ञापनका लागि गर्‍यौँ भने पारिश्रमिक लिन्छौँ।’

ब्यान्डका लागि खट्नुखटे पनि खटाइअनुसारको उपलब्धि नभएको उनले बताइन्। ‘उहिल्यैदेखि राम्रो टिम पाएको भए ब्यान्ड कहाँ पुगिसक्थ्यो होला,’ उनले भनिन्, ‘तर टिम राम्रो नपाउँदा उपलब्धि भएन।’

पाँच वर्षअघि शारदा र विनय महर्जनले लगनगाँठो कसे। विनय बाँसुरीवादक हुन्। आफ्नो सांगीतिक यात्रामा उनले श्रीमान‍्को  साथ पाइरहेकी छन्।

शारदाका लागि मादल बाजामात्र होइन। उनको सपना हो। जसका लागि उनले थुप्रै चुनौती सामना गरेकी छन्। गर्भवती हुँदा पनि उनले मादल बजाउन छोडिनन्। सांगीतिक कार्यक्रममा उपस्थिति जनाइरहिन्। ‘सातआठ महिनाको गर्भवती हुँदासम्म मजाले मादल बजाएँ,’ उनले भनिन्, ‘केही गाह्रो हुन्थेन।’

‘कुनै दिन वसन्तपुरमा एकैचोटि ३०-३२ मादल बजाएर देखाउने रहर छ, त्यसका लागि अभ्यास र प्रयास जारी छ।’

गर्भावस्थामा मादल बजाउन अप्ठ्यारो नलागे पनि शारीरिक रूपमा भने उनलाई त्यो बेला निकै गाह्रो थियो। ‘खान मन नलाग्ने, निद्रा नलाग्ने, मान्छेसँग बोल्न मन नलाग्ने, झर्को लाग्ने हुन्थ्यो,’ उनले सम्झिइन्, ‘त्यतिखेर मादल मेरा लागि औषधि भइदियो। मलाई आराम दिने, शान्ति दिने भइदियो।’

दुईतीन महिनाको सुत्केरी हुँदासमेत मादल बजाउन छोडिनन्। ‘बच्चा लगेर एउटा कार्यक्रममा पोखरा गएँ,’ उनले सुनाइन्, ‘आमा साथमा हुँदा सजिलो भयो। तर सुत्केरीले मादल बजाएको देख्दा त्यहाँ सबै छक्क परे।’

कहिलेकाहीँ परिवारका सबै व्यस्त भइदिँदा उनी बच्चा बोकेरै पनि कार्यक्रममा गइन्। ‘बाजा राख्ने झोलामा बच्चा राखेर कार्यक्रममा गएकी छु,’ उनले भनिन्, ‘आफू नजिकै बच्चा राखेर प्रस्तुति दिएकी छु।’

शारदाले ‘घिन्ताङ नेपाल’ संस्था दर्ता गरेकी छन्। काठमाडौँका लगभग २२ वटा वडामा मादलको तालिम दिइरहेकी छन्। उनलाई यसमा अझै काम गर्न मन छ। धेरैभन्दा धेरै महिलालाई मादल सिकाउने इच्छा छ। ‘साथीहरूले ‘यसरी एक्लै कहिलेसम्म र कसरी काम गर्छौ, तिमी बौलाहा भयो’ भन्छन्,’ उनले सुनाइन्, ‘तर पर्वाह छैन। म त बाँचुञ्जेल मादलमै लागिरहने हो।’

शारदाले काठमाडौँ, वसन्तपुरमा एकैचोटि ३०-३२ वटा मादल बजाएर प्रस्तुति दिने सपना बुनेकी छन्। ‘कुनै दिन वसन्तपुरमा एकैचोटि ३०–३२ मादल बजाएर देखाउने रहर छ,’ उनले भनिन्, ‘त्यसका लागि अभ्यास र प्रयास जारी छ।’

‘महिलाले मादल बजाउन सक्दैन’ भन्नेहरूलाई मुखभरि जबाफ दिन चाहने शारदाले धिमे बजाउन पनि सिकेकी छन् भने भारतीय तबलावादक गुरु समीर डेबाट तबला सिकिरहेकी छन्।

प्रकाशित: २३ फागुन २०७९ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =