मुगुका युवाद्वारा ‘भ्रष्टाचारविरुद्ध जरा अभियान’ सुरु

हिमाल प्रेस ११ असार २०८३ १०:२५ | Thursday, June 25, 2026
76
SHARES
मुगुका युवाद्वारा ‘भ्रष्टाचारविरुद्ध जरा अभियान’ सुरु

सुर्खेत- कर्णाली प्रदेशमा बढ्दो भ्रष्टाचार, अनियमितता र विकास निर्माणमा देखिएको लापरबाहीविरुद्ध मुगुका युवाले ‘भ्रष्टाचारविरुद्ध जरा अभियान’ सुरु गरेका छन्। सुर्खेतमा सम्पन्न युवाको भेलाले मुगु जिल्लाको सुशासन, पारदर्शिता र समग्र विकासका लागि संगठित रूपमा अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

युवा अभियन्ता तथा कृषिशास्त्री आशिष देवकोटाको नेतृत्वमा बसेको भेलाले भ्रष्टाचार, विकास निर्माणमा हुने ढिलासुस्ती, सार्वजनिक स्रोतसाधनको दुरुपयोग तथा जनताका आधारभूत अधिकारमाथिको उपेक्षाविरुद्ध सशक्त खबरदारी गर्ने निर्णय गरेको छ।

भेलामा प्रस्तुत तथ्यांकअनुसार राष्ट्रिय तथ्यांक कार्यालयको ‘गरिबीको लघुक्षेत्र अनुमान २०८२’ ले मुगुको सोरु गाउँपालिकालाई नेपालकै दोस्रो सबैभन्दा गरिब स्थानीय तहका रूपमा देखाएको छ। सोरुमा कुल १४ हजार २७७ जनसंख्यामध्ये १० हजार ३३० जना गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको छ।

त्यस्तै, महालेखा परीक्षकको प्रतिवेदनअनुसार मुगुका चार स्थानीय तहमा कुल १ अर्ब ३० करोड १५ लाख रुपैयाँभन्दा बढी बेरुजु रहेको छ। जसमध्ये सोरु गाउँपालिकामा मात्रै ६१ करोड २२ लाख रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। युवाले यति ठूलो रकम बेरुजु हुँदा पनि जनजीवनमा अपेक्षित सुधार आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

भेलामा वर्षौंदेखि अलपत्र रहेको दोमुख पक्की पुल निर्माण, खानेपानी समस्या, स्वास्थ्य संस्थामा उपकरण अभाव, सामाजिक सुरक्षा भत्तामा अनियमितता, कर्मचारी अभाव, शिक्षा, स्वास्थ्य, विद्युत्, यातायात तथा सञ्चार सेवाको कमजोर अवस्थालगायत विषयमा छलफल भएको थियो।

सोरु गाउँपालिकाको तारापानी क्षेत्रमा आएको बाढीपहिरोपीडितका लागि विनियोजित राहत तथा पुनर्स्थापना रकम वितरणमा भएको ढिलाइ, कोभिड-१९ महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा देखिएको अनियमितता तथा विभिन्न विकास आयोजनामा भएको भनिएको आर्थिक अनियमितताका विषय पनि छलफलका केन्द्रमा रहेका थिए।

युवाले रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण मुगुबाट बसाइँसराइ तीव्र बन्दै गएको उल्लेख गर्दै यसले ग्रामीण क्षेत्रको सामाजिक तथा आर्थिक संरचनामा गम्भीर असर पारेको निष्कर्ष निकालेका छन्।

भेलाले जिल्लाका सबै स्थानीय तहमा युवा प्रतिनिधि चयन गरी भ्रष्टाचार, अनियमितता, विकास निर्माणमा हुने ढिलासुस्ती तथा जनगुनासासम्बन्धी विषयहरूको तथ्यगत अभिलेखीकरण गर्ने निर्णय गरेको छ। संकलित तथ्यलाई स्थानीय, प्रदेश र संघीय निकायसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्‍याइ समाधानका लागि निरन्तर खबरदारी गरिने जनाइएको छ।

अभियानका संयोजक देवकोटाले भ्रष्टाचारविरुद्धको अभियान कुनै व्यक्ति वा राजनीतिक दलविरुद्ध नभई जनहित, पारदर्शिता, जवाफदेहिता र समृद्ध मुगु निर्माणका लागि भएको बताए। उनले मुगुको विकास र सुशासनका लागि युवा अब संगठित रूपमा अघि बढ्ने बताए।

भेलामा सहभागी युवाले कर्णालीका अन्य जिल्लाका युवासँग समेत सहकार्य गर्दै अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ११ असार २०८३ १०:२५ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast