विभेदमै बित्यो ६५ वर्ष

रमा केसी २४ फागुन २०७९ १५:०१
156
SHARES
विभेदमै बित्यो ६५ वर्ष

सुर्खेत– विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइरहँदा नेपालका दुरदराजका महिला यसबारे बेखबर छन्। सहरी क्षेत्रमा पनि अझै कैयौँ महिलालाई आफ्नो अधिकारबारे जानकारी छैन। एक दिन मनाइने दिवसको त उनीहरूलाई कसरी थाहा हुनु? यस्तै भोगाइमा छन् कर्णालीका महिला पनि।

कर्णालीका दुर्गम गाउँका अधिकांश महिला कामको बोझले थिचिएका छन्। पुरुषजति वैदेशिक रोजगारीमा जाने भएकाले चुलोचौकोदेखि खेतीपातीसम्मको काम धान्नुपर्ने बाध्यता उनीहरूको छ। बिहान उठ्नेबित्तिकै घरमा सरसफाइ गर्ने, खाना पकाएर परिवारलाई खुवाउने, घाँसदाउरा गर्ने, दिउँसो गोठाला जाने, खेतीपातीमा काम गर्ने महिलाका प्रमुख जिम्मेवारी हुन्।

यस्तै घरमा पुरुष हुनेले पनि एउटा काम गरेपछि अरू काम नगर्ने महिलाहरू बताउँछन्। गाउँबाट सहर छिरेका महिलाको जीवन पनि सास्तीमै बितिरहेको छ। यस्तै एक नारी हुन् सुर्खेतको वीरेन्द्रनगर-१, फूलबारी टोलकी कुसुम बुढा। ६० वर्षदेखि चुलोचौको, मेलापात, घाँसदाउरा र खेतीपातीमै समय बिताउँदै आएकी उनलाई नारी दिवसबारे केही जानकारी छैन। उनी भन्छिन्, ‘कसरी थाहा पाउनु के दिवस हो? थाहा नपाएरै ६५ वर्ष बितिसक्यो।’

यति मात्रै होइन, उनीजस्ता महिला सामाजिक विभेद सहन पनि बाध्य छन्। संविधान र कानुनमा महिला अधिकारका धेरै कुरा छन्। संविधानको प्रस्तावनामा लैंगिक विभेदको अन्त्य भनिए पनि व्यवहारमा  कायमै छ। घरदेखि सुरु भएको विभेद हरेक क्षेत्रमा पुगेको छ।

छोरी भएकै कारण सानैमा विवाह हुनु, किशोर अवस्थामा पारिवारिक जिम्मेवारीमा प्रवेश गर्नु, त्यसपछि सन्तान जन्माउनु, छोरीमात्रै पाउँदा विभेद हुनु तथा अझै पनि परिवार र समाजमा दोस्रो दर्जाको व्यवहार सहनु कुसुमले भोगेका केही विभेद हुन्।

जुम्लामा जन्मिएकी कुसुम सानैदेखि विभेद सहँदै आएको बताउँछिन्। त्यतिबेला छोरीलाई पढाउने चलन थिएन। १२ वर्षको उमेरमा साथीको लहैलहै र अभिभावकको दबाबमा बिहे गरेकी उनी किशोर अवस्थादेखि घरायसी काममा व्यस्त भइन्।

उनी सम्झन्छिन्, ‘घरभित्रको मात्रै होइन, बाहिरको काममा पनि व्यस्त हुनुपर्दथ्यो।’ आफ्ना सरसफाइ र सिँगारपटार गर्नमा त उनलाई समय नै हुँदैनथ्यो। कपाल पनि रातिको समयमा कोर्ने गर्थिन् उनी। उनी भन्छिन्, ‘त्यो दुःख सम्झिँदा अहिले पनि आँखाबाट आँसु खसेको पत्तै पाउन्नँ।’

धेरै सन्तान जन्माउनुपर्ने र पारिवारिक दायित्व थपिँदै जाने जस्ता अनुभव उनले पनि भोगेकी छन्। चारवटा सन्तान जन्माउनु र एउटा पनि नबाँच्दाको पीडा सायद कमैले मात्र भोग्छन्।  कुसुम भन्छिन्, ‘जुम्लामा जिन्मेका तीन छोरा र एक छोरी एउटा पनि बाँचेनन्।’ त्यसपछि उनको परिवार सुर्खेत झर्‍यो।

सुर्खेतमा स्थायी बसोबास गर्न थालेपछि दुई छोरी त जन्मिएर हुर्किए पनि। तर छोरा भएनन् भनेर लोग्नेले दिनहुँ दिने मानसिक यातनाले उनलाई धेरै समय सतायो। उनी भन्छिन्, ‘छोरा पाइनस् भनेर लोग्नेले धेरै गाली गर्थे।’

उनका लोग्ने सिकर्मी हुन्। एउटाले मात्रै काम गर्दा घर धान्न कठिन भएपछि काम गर्न थालेकी उनी अचेल मकै, बदाम, हरियो तरकारी बेचेर गुजारा गरिरहेकी छन्। काममा पुरुषसरह जोतिए पनि समान व्यवहार नहुँदा महिला विभिन्न मानसिक समस्या भोग्न बाध्य रहेको जानकारहरू बताउँछन्।

यस्तै समान कामका लागि समान ज्यालाको व्यवस्था छैन। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मनोसामाजिक मनोपरामर्शकर्ता गीता केसीका अनुसार विभेदका कारण कैयौँ महिला मानसिक समस्या लिएर अस्पताल आउने गर्छन्।  उनी भन्छिन्, ‘सामाजिक अभियानको मुद्दामा केही फड्को मारे पनि नारीहरू अझै विभेदकै कारण मानसिक समस्यामा रहनु परेको छ।’

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दा लक्षित वर्गको हक अधिकार एवं न्यायमा काम गर्न जरुरी रहेको अधिवक्ता गीता कोइराला बताउँछिन्। विभेद अन्त्यका लागि सबै सरोकारवालाहरूले जनचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘कानुनी रूपमा विभेद अन्य गरिए पनि व्यावहारिक कार्यान्वयनका लागि चेतना फैलाउनुपर्छ।’

महिला तथा बालबालिकाको क्षेत्रमा नवज्योति केन्द्रमा कार्यरत जरमाया बाँठा महिलाले न्यायिक लडाइँ लड्नै मुस्किल हुने गरेको बताउँछिन्।  उनी भन्छिन्, ‘असहायहरूको सहायताका लागि नियुक्त गरिएका वैतनिक वकिलको भूमिका सहयोगी छैन।’ न्यायिक प्रक्रिया ढिलो र झन्झटिलो हुँदा हिंसा पीडित महिलाले न्याय पाउनै मुस्किल पर्ने गरेको उनको अनुभव छ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलामाथि हुने विभेद तथा हिंसा अन्त्यका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। उनी भन्छन्, ‘हिंसा र विभेद अन्त्यका लागि आत्मनिर्भर बनाउनुपर्छ भन्ने उद्देश्यले वीरेन्द्रनगरका महिलालाई आत्मनिर्भर बनाउन नगरपालिका सक्रिय छ।’

नगरपालिकाका उप्रमुख एवं न्यायिक समितिका संयोजक नीलकण्ठ खनालले महिला तथा विपन्न समुदायको न्यायमा पहुँच पुर्‍याउन नगरपालिकाले कानुनी सहायता लगायतका कार्यक्रम गरिरहेको जानकारी दिए।

प्रकाशित: २४ फागुन २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =