फिल्म निर्देशनमा सफल नारी

सुस्मिता बजगाईं २४ फागुन २०७९ १२:५४
378
SHARES
फिल्म निर्देशनमा सफल नारी

काठमाडौँ–  हरेक क्षेत्रमा जस्तै फिल्म निर्देशनमा पनि महिलाको उपस्थिति बलियो हुँदैछ। पुरुष वर्चस्व रहने फिल्म निर्देशनमा पछिल्लो समय महिला संलग्न हुन थालेका छन्। दीपाश्री निरौला, झरना थापा, रेखा थापा, समुन्द्र भट्ट, रेनशा राई, सम्झना रौनियार उप्रेती, पूजा गुरुङ, सबनम मुखियालगायत महिला निर्देशकको सूचीमा नाम राख्न सफल नारी हुन्।

लामो समय नेपाली फिल्म तथा टेलिशृंखलामा अभिनय गरेर पहिचान बनाएकी दीपाश्री निरौलाले निर्देशनमा पनि आफूलाई अब्बल साबित गरेकी छन्।  निरौला निर्देशित पहिलो फिल्म हो, ‘छक्कापञ्जा’। जसमा उनले अभिनय पनि गरेकी छन्। फिल्मले राम्रो व्यापार गर्‍यो।

उनले ‘छक्कापञ्जा’कै दोस्रो र तेस्रो भाग पनि निर्देशन गरिन्। दुवै फिल्म बक्स अफिसमा सफल भए। ‘छक्का पञ्जा’ ब्रान्ड नै बनेको छ। अभिनयमा सफल रेखा थापाले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिन्।

अभिनेता नाजिर हुसेन अभिनीत फिल्म ‘गुलाबी’को पोस्टरले पछिल्लो समय खूब चर्चा पाएको छ। फिल्मकी निर्देशक हुन्, समुन्द्र भट्ट।

फिल्म प्रदर्शनको तयारीमा छ। यसअघि उनले ‘आधा पेज’ र ‘रिङ रोड’को निर्देशन गरिसकेकी छन्। १७ वर्षको उमेरमा उनले फिल्म ‘रिङ रोड’बाट निर्देशनमा हात हालेकी हुन्।

अभिनेत्री झरना थापा ‘ए मेरो हजुर २’ बाट निर्देशनमा संलग्न भइन्। फिल्मले राम्रो चर्चा पाएपछि उनले ‘ए मेरो हजुर’को ३ र ४ भाग पनि निर्देशन गरिन्। दुवै सिक्वेलले बजार ततायो पनि। झरनाले फिल्म ‘भगवत् गीता’को निर्देशन पनि गरिरहेकी छन्। अहिले उक्त फिल्म छायांकन भइरहेको छ।

फिल्म निर्माताको छवि बनाएकी कृषा चौलागाईं ‘ऐँचोपैँचो’ बाट निर्देशनमा डेब्यु गर्दैछिन्। उनी पनि फिल्म छायांकनमा व्यस्त छिन्।  २०६३ सालमा उनले फिल्म ‘इन्साफ’को निर्माण गरेकी थिइन्। त्यसपछि उनले ‘कसम हजुरको’ निर्माण गरिन्। ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’की निर्माता पनि कृषा नै हुन्।

लामो समय कोरियोग्राफी गरेकी रेनसा वान्तवा राईले फिल्म ‘इन्टु मिन्टु लन्डनमा’बाट निर्देशनमा हात हालेकी हुन्। फिल्ममा कोरियोग्राफी पनि उनकै छ। उनको पछिल्लो फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शनको तयारीमा छ। फिल्म आगामी वैशाख २१ मा प्रदर्शनमा आउनेछ।

नेपाली फिल्मकी पहिलो महिला निर्देशक हुन्, सुचित्रा श्रेष्ठ। उनले ‘प्रेमयुद्ध’ फिल्मको निर्देशन गरेकी थिइन्। चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठ अहिले गुमनामजस्तै छिन्। सबनम मुखियाले ‘जुबिनाइल’ र ‘लखपति माग्ने’ दुई फिल्म निर्देशन गरेकी थिइन्।

पूजा गुरुङले ‘डाड्या’, दीपा बस्नेतले ‘अन्तराल’ र ‘श्री पाँच अम्बरे’ बनाइन्। नीलु डोल्पाले ‘हाउ फन्नी’, रक्षा सिंह राणाले ‘द गेम’, सावित्री खत्रीले ‘काफल पाक्यो’ निर्देशन गरेका हुन्। सम्झना रौनियारले ‘फागु’ र ‘मेघा’ गरी दुई फिल्म निर्देशन गरेकी छन्।

दीपाश्री निरौला, झरना थापा, रेनशा राई सफला निर्देशकमा गनिन्छन्। पूजा गुरुङ, दीपा बस्नेत, सम्झना रौनियार उप्रेती, सबनम मुखियालगायत सफलताको सिँढीतर्फ अघि बढ्दैछन्।

बिहेपछि सक्रिय अभिनेत्रीहरू

पारिवारिक जिम्मेवारीले पछि पर्दै विश्‍वभरका महिला

प्रकाशित: २४ फागुन २०७९ १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =