बिहेपछि सक्रिय अभिनेत्रीहरू

संगीता श्रेष्ठ २३ चैत २०७९ ६:२६
46
SHARES
बिहेपछि सक्रिय अभिनेत्रीहरू

कुनै बेला ‘बिहे गर्नेबित्तिकै अभिनेत्रीको फिल्मी करियर सकियो’ भनिन्थ्यो। पछिल्लो समय भने विवाहप्रति फिल्मकर्मीको यस्तो दृष्टिकोण बदलिएको छ। स्वयं अभिनेत्री पनि यस कुरालाई अस्वीकार गर्न थालेका छन्। सफलताको शिखरमा हुँदा नै विवाह गरेर केही अभिनेत्रीले ‘बिहेपछि पनि करियर सफल छ’ भन्ने सन्देश दिएका छन्।

अभिनेत्री सुरक्षा पन्तले फागुन २५ मा अभिनेता मानव सुवेदीसँग लगनगाँठो कसिन्। चैत २४ मा सुरक्षा अभिनीत ‘बहाव’ प्रदर्शनमा आउँदै छ। त्यस्तै वैशाख १ मा सुरक्षाको ‘बुलाकी’ रिलिज हुनेछ। अचेल उनी दुवै फिल्मको प्रमोसनमा व्यस्त छिन्।

सशक्त अभिनयका लागि छुट्टै पहिचान बनाउन सफल सुरक्षा बिहेको केही दिनमै काममा फर्किएकी थिइन्। उनको सक्रियता अहिले पनि उस्तै छ। जसका लागि उनले तारिफ पनि बटुली रहेकी छन्।

‘बुलाकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार तथा निर्देशक रमेश बुढाथोकीले सुरक्षालाई देशको गर्व नै भनेका थिए। ‘सुरक्षाको कामको जति प्रशंसा गरे पनि कम हुन्छ,’ बुढाथोकीले भने, ‘उहाँलाई हाम्रो देशको गर्व भन्नुपर्छ। जसले नेपाली फिल्म क्षेत्रमा निकै राम्रो स्थान बनाउनुभएको छ।’

नेपाली सिनेमाकी सफल अभिनेत्री हुन्, स्वस्तिमा खड्का। फिल्मसँगै विज्ञापन, मोडलिङ, म्युजिक भिडियो जताततै उनी देखिने गरेकी छन्। विदेशी फिल्ममा पनि उनको अभिनय देख्न पाइन्छ। केही भाग नेपालमा छायांकन भएको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’मा उनको ‘आइटम’ डान्स छ।

मोडलिङबाट करियर थालेकी उनले फिल्म ‘होस्टेल रिटर्न्स’बाट अभिनयमा प्रवेश गरेकी हुन्। त्यसपछि फिल्म ‘लभ लभ लभ’मा काम गरिन्। दुवै फिल्म खासै चलेनन्।

अहिले सफलताको स्वाद चाखिरहेकी स्वस्तिमाले करियरको सुरुवातमै बिहे गरेकी हुन्। अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँग प्रेममा रहेकी उनले सन् २०१६ विवाह गरिन्। ‘कति चाँडै बिहे गर्न लाको, किन गर्न लाको! करियरको सुरुवातमै बिहे गर्‍यो भने तिम्रो करियर सकिन्छ’ उनलाई धेरैले भनेका थिए। त्यस्तै ‘बिहेपछि तिमी केही गर्न सक्दिनौँ, सक्दै सक्दैनौ’ भन्ने पनि थिए।

‘बिहेपछि अभिनेत्रीको ध्यान अभिनयमा भन्दा घरपरिवारमा बढी हुन्छ, घर सम्हाल्नुपर्छ भन्ने मानसिकताका कारण मैले बिहे गर्दा धेरैले नगर्ने सल्लाह दिएँ,’ एक अन्तर्वार्तामा स्वस्तिमाले भनेकी थिइन्, ‘मैले कसैलाई माया गर्छु, ऊसँग जीवन बिताउन चाहन्छु, बिहे गर्छु भन्दैमा मेरो करियर कसरी सकिन्छ?’

फिल्म ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ सुपरहिट भएपछि स्वस्तिमाले पछाडि फर्केर हेर्नुपरेन। उनको करियर सफलताको उच्चतम शिखरमै पुग्यो।

उनले ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ ‘नाइँ नभन्नू ल ५’, ‘घामड शेरे’ लगायत फिल्ममा काम गरेकी छन्। स्वस्तिमा अभिनीत ‘बुलबुल’ले दर्शक र समीक्षकबाट प्रशस्त प्रशंसा बटुल्यो। ‘चिसो मान्छे’मा कर्णालीकी महिलाको भूमिका निर्वाह गरेकी उनको अभिनयको मनग्गे तारिफ भयो। अहिले उनी ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकनमा व्यस्त छिन्।

अभिनेत्री दिया मास्के फिल्ममा मात्र नभई रंगमञ्चमा पनि त्यति नै सक्रिय छिन्। सफल पनि। उनी हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘हिमालय रोजिड’की निर्णायक पनि हुन्।

उनले सन् २००८ मा प्रदर्शनमा आएको ‘कागबेनी’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले ‘साँघुरो’, ‘सुनगाभा’, ‘फिटकरी’, ‘प्रकाश’ लगायत फिल्ममा काम गरेकी छन्। दियाले सन् २०१४ मा लोकप्रिय अभिनेता तथा निर्देशक अनुप बरालसँग बिहे गरिन्। बिहेपछि पनि रंगमञ्च र फिल्ममा उनको सक्रियता लोभलाग्दो छ।

भदौमा प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’मा दियाले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी थिइन्। फिल्ममा उनको उम्दा अभिनयको दर्शक-समीक्षक सबैले प्रशंसा गरे।

बिहेपछि अभिनयमा सक्रिय अभिनेत्रीको सूची लामै छ। जसमा केकी अधिकारी, आँचल शर्मा, वर्षा राउत, वर्षा शिवाकोटी, नीता ढुंगाना, रेखा थापा लगायत अभिनेत्रीको नाम छ।

भदौमा केकी अधिकारी र आँचल शर्मा अभिनीत ‘झिँगेदाउ’ प्रदर्शनमा आयो। यी दुवै अभिनेत्री विवाहित हुन्। फिल्म व्यावसायिक रूपमा सफल भयो।

आँचल र केकी म्युजिक भिडियोमा पनि त्यत्तिकै सक्रिय छन्। केही समयअघि आँचल हिन्दी म्युजिक भिडियो ‘तेरी मेरी दास्तान’मा समेत देखिएकी थिइन्। त्यस्तै उनको मुख्य भूमिका रहेको फिल्म ‘नाइँ नभन्नू ल ६’ वैशाख १ मा आउने तयारीमा छ।

केकी ‘प्रसाद २’मा देखिनेछिन्। फिल्म चैत २४ मा प्रदर्शनमा आउनेछ। उनी शोभित बस्नेतको प्रस्तुति रहने फिल्म ‘जय हो’को छायांकनमा पनि व्यस्त छिन्। फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

अभिनेत्री नीता ढुंगाना बिहेपछि फिल्म ‘ह्रस्व दीर्घ’का छायांकनमा व्यस्त छिन्। म्युजिक भिडियोमा पनि उनी त्यतिकै देखिने गरेकी छन्।

आमा अभिनेत्री

केही नेपाली अभिनेत्री भने बिहेपछिमात्र नभई आमा बनिसकेपछि पनि अभिनयमा सक्रिय छन्। त्यसमा सबैभन्दा माथि छिन्, अभिनेत्री प्रियंका कार्की।

एक सन्तानकी आमा  उनी फिल्म ‘द सेक्रेट्स अफ राधा’को ‘पाउमा पाउजु’ गीतमा देखिइन्। फागुन ५ मा प्रदर्शनमा आएको रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘फूलबारी’ प्रियंकाले अभिनय गरेकी छन्।

केही दिनअघि उनी अभिनीत गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा ‘भिर माहुरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो। त्यस्तै विभिन्न विज्ञापनमा पनि उनी देखिने गरेकी छन्। यसबाट फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उनको सक्रियता प्रस्ट हुन्छ।

लामो समययता फिल्म क्षेत्रबाट टाढिएकी अभिनेत्री ऋचा शर्माले फेरि अभिनयमा फर्किने सुर कसेकी छन्। उनले अभिनेता सौगात मल्लसँग फिल्म ‘फाटेको जुत्ता खै’ गर्नेछिन्। निकेश खड्को निर्देशन रहने फिल्मको छायांकन वैशाखबाट सुरु हुने बताइएको छ।

एक छोराकी आमा ऋचाले केही दिनअगाडि पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड पनि जितेकी थिइन्। अस्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उनी उत्कृष्ट अभिनेत्री घोषित भइन्। उनले सर्ट फिल्म ‘ब्लड मनी’का लागि सो अवार्ड जितेकी हुन्। सयभन्दा बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’का लागि उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

पाँच वर्षअघि नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेपछि अभिनेत्री निशा अधिकारी फिल्म क्षेत्रबाट टाढिइन्। लामो समयपछि उनी गत साउनमा प्रदर्शनमा आएको फिल्म ‘म’बाट अभिनयमा फर्किएकी छन्। सुवर्ण थापाको निर्देशनमा बनेको फिल्मले खासै सफलता हात नपारे पनि त्यस फिल्मबाट निशाको सक्रियता भने बढ्यो। फिल्म ‘जय हो’ मा अनुबन्धित निशा अचेल सुटिङका व्यस्त छिन्।

त्यस्तै पुराना अभिनेत्रीमा करिश्मा मानन्धर, झरना थापालगायत सक्रिय छन्। २९ वर्षीया छोरीकी आमा करिश्मा म्युजिक भिडियो, विज्ञापनमा देखिने गरेकी छन्। झरनाकी छोरी सुहाना थापा त अभिनयमै सक्रिय छिन्।

पछिल्लो समय झरनाले निर्देशनमा हात हालेकी छन्। झरनाले ‘ए मेरो हजुर २’ बाट निर्देशनमा प्रवेश गरेकी हुन्। फिल्मले राम्रो चर्चा पाएपछि उनले ‘ए मेरो हजुर’को ३ र ४ भाग पनि निर्देशन गरिन्। दुवै सिक्वेलले बजार ततायो पनि। अहिले उनी फिल्म ‘भगवत् गीता’को निर्देशनमा व्यस्त छिन्।

कोरियोग्राफर रेनेसा वान्तवा राईको निर्देशनमा फिल्म ‘ज्याकी : आई एम २१’ वैशाखमा २१ मा प्रदर्शनमा आउनेछ। रेनेसा जुम्ल्याहा सन्तानकी आमा हुन्। हालै सम्पन्न ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ (निफ)’मा उनले ‘सिनेमामा आमाहरू : करियर र जिम्मेवारी सन्तुलन’ विषयमा कुराकानी गरेकी थिइन्।

त्यसमा उनले चौबीसै घण्टा घरमा बच्चासँग बसेरमात्र असल आमा नहुने बताएकी थिइन्। ‘२४ घण्टा घरमै बसे भने म एकदमै रिसाहा आमा हुन सक्छु,’ उनले भनेकी थिइन्, ‘डिप्रेसन हुन सक्छ, दुईचार घण्टा बाहिर गएर काम गरेर फर्किएपछि जब घर पुग्छु, बच्चाहरूको मुस्कान देख्छु सबै थकान बिर्सिन्छु। उनीहरूलाई अझै बढी माया गर्छु।’

आफू र आफ्नो करियरलाई बिर्सेर त्यसरी ‘महान् आमा’ हुन नसकिने रेनेसाको भनाइ छ। ‘भइयो भने पनि त्यसो गर्दा आफूलाई नै घाटा हुन्छ,’ उनले भनिन्, ‘हामी आफैँ खुसी भएनौँ भने बच्चालाई कसरी खुसी राख्न सक्छौँ?’

प्रकाशित: २३ चैत २०७९ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =