काठमाडौँ- नेपाली फिल्मको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने १० फिल्म निःशुल्क देखाइने भएको छ। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको फिल्म संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका फिल्मलाई दर्शकमाझ पुनः प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको हो।
फिल्म विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्मको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ। नेपाली फिल्मको ऐतिहासिक विरासतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली फिल्मसँग परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी साउन २२ गते शुक्रबारदेखि २७ गते बुधबारसम्म फिल्म विकास बोर्ड, फिल्म बोर्ड चोक, काठमाडौँमा सञ्चालन हुनेछ।
प्रदर्शनीको पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित ‘आमा’ प्रदर्शन हुनेछ। साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दूर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ देखाइनेछ।
साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन हुनेछ। साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइनेछ। साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन्। प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ देखाइनेछ।
एउटा मात्र फिल्म प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई फिल्म प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ।पुराना फिल्ममा चित्रित तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली तथा फिल्म निर्माणको अभ्यासबारे वर्तमान पुस्तालाई जानकारी गराउन प्रदर्शनी महत्त्वपूर्ण हुने बोर्डको विश्वास छ।


