‘फेस अफ नेपाल-२०२६’का लागि आवेदन खुला, विजेताले दक्षिण कोरियामा नेपालको प्रतिनिधित्व गर्ने

हिमाल प्रेस १९ असार २०८३ ११:१५ | Friday, July 3, 2026
2
SHARE
‘फेस अफ नेपाल-२०२६’का लागि आवेदन खुला, विजेताले दक्षिण कोरियामा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ- आगामी २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला फिल्मको प्रचारसँगै ‘फेस अफ नेपाल-२०२६’ को तेस्रो संस्करणलाई सफल बनाउन सक्रिय छिन्। प्रतियोगिताकी राष्ट्रिय निर्देशकसमेत रहेकी उनले नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा आफू केन्द्रित रहेको बताएकी छन्।

एमएस प्रोडक्सन प्रालिले आयोजना गर्ने ‘फेस अफ नेपाल-२०२६’ का लागि आवेदन खुला गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो।

प्रतियोगितामा नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। इच्छुकहरूले फेस अफ नेपालको आधिकारिक सामाजिक सञ्जाल पेज तथा आधिकारिक भोटिङ पार्टनर ‘एभेन्टोज’ मार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दर्ताका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने प्रारम्भिक छनोटमा परेका प्रतियोगीले १५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ। सहभागीको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ। उनीहरूलाई फिटनेस, व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ र स्टेज प्रस्तुति सम्बन्धी व्यावसायिक प्रशिक्षण पनि प्रदान गरिनेछ।

पहिलो चरणको अडिसन यही असार २७ गते (११ जुलाई) हुने तय भएको छ। त्यसपछिका प्रशिक्षण तथा प्रतिस्पर्धाका कार्यक्रमहरू आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ र फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसरसमेत मिल्नेछ।

राष्ट्रिय निर्देशक मेनुका माझीले ‘फेस अफ नेपाल’ नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्रभावकारी मञ्च भएको बताइन्। उनले प्रतियोगितामा आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिइने भएकाले उचाइको कुनै मापदण्ड नराखिएको स्पष्ट पारिन्।

उनले नयाँ पुस्ताका प्रतिभालाई विश्वस्तरको मञ्चसम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएको उल्लेख गर्दै मोडलिङ क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई निर्धक्क भएर आवेदन दिन आग्रह गरिन्।

यस वर्षको ग्रान्ड फिनाले आगामी भदौ १४ गते (३० अगस्ट २०२६) काठमाडौँस्थित रोयल टुलिप होटलमा आयोजना हुनेछ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

‘फेस अफ नेपाल-२०२६’ दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’ को नेपालको आधिकारिक फ्रेन्चाइज प्रतियोगिता हो। यसले देशभरका प्रतिभाशाली महिला तथा पुरुष मोडललाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १९ असार २०८३ ११:१५ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast