विश्वविद्यालय शिक्षामा अब्बल छात्रा

विपिन पोखरेल २४ फागुन २०७९ १८:२०
648
SHARES
विश्वविद्यालय शिक्षामा अब्बल छात्रा विनिता निरौला, रविना घिमिरे र अरोमा अधिकारी।
काठमाडौँ- विनिता निरौला त्रिविको तीनबर्से स्नातकतर्फको परीक्षामा देशभरकै उत्कृष्ट छात्रा हुन्। पद्मकन्या क्याम्पस काठमाडौँबाट बीए उत्तीर्ण उनले ७८.५७ प्रतिशत अंक ल्याएकी छन्। उनले त्रिविको ४८ औँ दीक्षान्त समारोमा दीक्षान्त पदक प्राप्त गरेकी थिइन्।

उनलाई यस्तो सफलता सजिलै प्राप्त भएको चाहिँ होइन। काठमाडौँमा डेरा लिएर बसेकी उनले पढाइका लागि निकै संघर्ष गर्नुपरेको बताउँछिन्। निरौलाले भनिन्, ‘मैले गैरसरकारी संस्थामा काम गर्दै पढेकी हुँ।’ काम गर्र्दै पढ्नु शिक्षा र मानविकीका अधिकांश विद्यार्थीको विशेषता नै हो।

निरौलाले आफूले मेहनत गरेर पढेको र राम्रो नतिजा ल्याउन सफल भएको बताइन्। उनी भन्छिन्, ‘म जागिर खाँदै पढ्दै गरे पनि कलेजमा नियमित पुग्थेँ।’ कक्षामा नियमित भएपछि राम्रो नतिजा ल्याउन त्यति कठिन नहुने उनको अनुभव छ।

राम्रो नतिजा निकाल्न कति घण्टा पढ्नुपर्ने रहेछ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘बुझ्ने गरी पढ्नुपर्ने हुन्छ। पाठ्यपुस्तकमा मात्रै भर पर्नु हुँदैन। शिक्षकसँग प्रश्न गर्न डराउनु हुँदैन। यसले नै राम्रो नतिजा ल्याउन सहयोग पुग्छ।’

गैरसरकारी संस्थामा काम गर्दै पढेकाले अब पनि गैरसरकारी संस्थालाई कार्य क्षेत्र बनाउने उनको योजना छ। उनी भन्छिन्, ‘स्नातकोत्तर तहमा पनि सोसियल वर्क विषय अध्ययन गर्ने योजना छ।’

रविना घिमिरे अर्की अब्बल छात्रा हुन्। त्रिवि स्नातकोत्तर तह (एमए) राजनीतिशास्त्रमा सर्वप्रथम भएर बडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्राप्त गरेकी उनी पनि निरन्तरको लगावले सफलता मिलेको बताउँछिन्।

रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँकी उनी ३.५८ सीजीपीए प्राप्त गरेर देशभरबाट राजनीतिशास्त्रमा सर्वोत्कृष्ट भएकी हुन्। राजनीतिक क्षेत्रमा भविष्य बनाउने भन्दा आफूलाई पढ्न रुचि लागेकाले राजनीतिशास्त्र रोजेको उनको भनाइ छ। उनी भन्छिन्, ‘मैले गरेको मेहनत, गुरुहरूको हौसला र पारिवारिक सहयोगका कारण राम्रो नतिजा आएको छ।’

आफूलाई मनपर्ने विषय पढेमा राम्रो नतिजा ल्याउन सकिने उनको अनुभव छ। यस्तै त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा रिस्ता श्रेष्ठले स्नातकेत्तर तह एमबीएमा सर्वोत्कृष्ट अंक प्राप्त गरी २०७५ सालको दीक्षान्त पदक प्राप्त गरेकी छन्। उनी त्रिवि स्कुल अफ म्यानेजमेन्ट एमबीए तहमा ३.९५ सीजीपीए प्राप्त गरी सर्वोत्कृष्ट भएकी हुन्।

रसायनशास्त्र केन्द्रीय विभागकी छात्रा कविता ज्ञवाली ३.९५ सीजीपीए ल्याएर सर्वोत्कृष्ट भएकी छन्। उनले स्नातकोत्तर तहमा एमएससी रसायनशास्त्रतर्फ सर्वोत्कृष्ट घोषित भएर अमृत पदक प्राप्त गरेकी छिन्।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पक्लिहवा क्याम्पस पक्लिहवाबाट स्नातक तहको परीक्षामा देशभरबाटै सर्वोत्कृष्ट नतिजा ल्याएर चन्द्रकला रानाले त्रिवि ४८ औँ दीक्षान्त समारोहमा भाइस चान्सलर पदक प्राप्त गरेकी छन्। उनी ८७.६१ प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण भएकी थिइन्।

अरोमा अधिकारी अर्की मेधावी छात्रा हुन्। पोखरा विश्वविद्यालयअन्तर्गत सिटिजन कलेजबाट ब्याचलर इन बिजनेस म्यानेजमेन्टमा (बीबीए) तर्फ ३.९९ सीजीपीए प्राप्त गरेकी उनले उपकुलपति पदक प्राप्त गरेकी छन्।

उनी अब गैरसरकारी संस्थामा काम गर्ने योजनामा छिन्। सोही कारण प्रोजेक्ट म्यानेजमेन्ट अध्ययन गरिरहेको उनको भनाइ छ। उनले भनिन्, ‘अहिले काठमाडौँ विश्वविद्यालयमा एमबीए अध्ययन छु।’
उनले ए लेबल विज्ञान संकायबाट उत्तीर्ण गरेर स्नातक तहमा व्यवस्थापन संकाय रोजेकी थिइन्।

उत्कृष्ट नतिजा कसरी आयो त भन्ने जिज्ञासामा उनले भनिन्, ‘गृहकार्य समयमा बुझाउँथेँ। आफूले नजानेका विषय शिक्षकहरूलाई सोध्थेँ। बेलाबेलामा साथीहरूसँग अन्तरक्रिया पनि गर्थेँ। यिनै विषयले सफलता मिलेको हो।’

बीबीएमा उत्कृष्ट नतिजा ल्याउन किताबी ज्ञानका साथै विभिन्न विषयसँग सम्बन्धित लेखरचना पनि पढ्नुपर्ने सुझाव उनको छ। पढ्नुपर्छ भन्ने भावनाको विकास गर्नसके राम्रो नतिजा आउने उनले बताइन्।

पोखरा विश्वविद्यालय २०७६ सालको उपकुलपति पदक पनि सिटिजन कलेजकै आरती झाले प्राप्त गरेकी थिइन्। उनी ४ सीजीपीए प्राप्त गर्दै सर्वोत्कृट नतिजा ल्याउन सफल भएकी हुन्। हाल उनी अस्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनरत छिन्।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयको १० औँ दीक्षान्त समारोहमा स्नातक तह चिकित्सा शिक्षातर्फ सर्वोत्कृट भएर एलिजा सुवेदीले स्वर्ण पदक प्राप्त गरेकी छिन्। कर्णाली कलेज अफ हेल्थ साइन्सबाट ब्याचलर इन फार्मेसी अध्ययन गरेकी उनले ३।९७ सीजीपीए प्राप्त गरेकी हुन्। उनले २०७४ सालको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल फ्याकल्टी टप गरेकी थिइन्।

सुवेदीजस्तै चिकित्सा शिक्षातर्फकै ब्याचलर इन पब्लिक हेल्थ विषय अध्ययनरत समीक्षा जीसीले फ्याकल्टी टप गर्दै स्वर्णपदक प्राप्त गरेकी छन्। उनले २०७५ सालको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल फ्याकल्टीतर्फ ३.८० जीपीए ल्याएर टप गरेकी हुन्।

पूर्वाञ्चल विश्वविद्यालय कानुन संकायतर्फ (बीएएलएलबी) विषयतर्फ काठमाडौँ स्कुल अफ लकी छात्रा रक्षा खनालले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी थिइन्। उनले ८१.३६ प्रतिशत अंक ल्याएर विश्वविद्यालय टप गरेकी हुन्।

छात्राहरू मात्र अध्ययन गर्ने राजधानीको पद्मकन्या क्याम्पसका प्रमुख राजु मल्लले छात्रले जस्तै छात्राहरूले पनि विश्वविद्यालय शिक्षामा आफूलाई अब्बल साबित गर्न सकेको बताए। उनका अनुसार पछिल्लो समय विश्वविद्यालय शिक्षामा छात्राको सहभागिता बढ्दै गएको छ। रुचि र समय सापेक्ष शिक्षामा देखिएको परिवर्तनले छात्राहरूले आफूलाई अब्बल साबित गर्न सक्षम बनेको मल्ल बताउँछन्। उनी भन्छन्, ‘हाम्रो क्याम्पस पनि निरन्तर रूपमा उत्कृष्ट नतिजा ल्याउन सफल छ।’

क्याम्पसमा नियमित पठनपाठन र विद्यार्थीको उपस्थिति र लगनशीलता नै उत्कृष्टताको प्रमुख कारक रहेको मल्लले बताए। मल्लले भने, ‘क्याम्पसले गरेको पुस्तकालय र परीक्षा व्यवस्थापन, प्राध्यापकहरूको निरन्तरको मेहनतले उत्कृष्ट नितिजा निकाल्न सहयोग पुग्छ। हामीले विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति, नगद र मेडलसहित सम्मान गर्ने गरेका छौँ।’

प्रकाशित: २४ फागुन २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =