प्रफुल्लित ओल्ड ट्राफोर्ड

हिमाल प्रेस १२ फागुन २०७९ ११:०८
14
SHARES
प्रफुल्लित ओल्ड ट्राफोर्ड

काठमाडौँ- एरिक टेन हागको प्रशिक्षणमा सुधारिएको प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति प्लेअफमा बार्सिलोनामाथि २–१ को जित दर्ता गरेपछि युनाइटेड युरोपियन क्लब फुटबलमा दोस्रो श्रेणीको प्रतियोगिता मानिने युरोपाको प्रिक्वार्टरफाइनलमा पुगेको हो।

यी दुई टिमबीचको पहिलो लेग क्याम्प नौउमा २–२ को बराबरीमा सकिएको थियो। दोस्रो लेगमा युनाइटेडलाई विजयी बनाउन फ्रेड र एन्टोनीले एक–एक गोल गरे। दुई ब्राजिलियनले दुवै गोल दोस्रो हाफमा गरेको थिए। यो नतिजासँगै युनाइटेड समग्रमा ४–३ ले अघि रह्यो।

बार्सिलोनाले भने पहिलो हाफमा अग्रता लिएको थियो। उसका लागि रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए।

तीन पटक च्याम्पियन्स लिग जितेको युनाइटेडले युरोपाको अन्तिम १६ मा पुग्नुलाई सफलता मानेको छ। यही सिजन युनाइटेडको प्रशिक्षण सम्हालेका प्रशिक्षक टेन हागले इंग्ल्यान्डको सर्वाधिक सफल क्लबलाई स्वाभाविक अवस्थामा फर्काउने विश्वास गरिएको छ।

गत ६ वर्षदेखि उपाधिविहीन रहेको युनाइटेड आउँदो आइतबार लिग कपको फाइनल खेल्दैछ। न्युकासल युनाइटेडलाई हराएर घरेलु प्रतियोगिता जित्दा युनाइटेडका इंग्लिस प्रिमियर लिग दौडमा अझ सशक्त प्रदर्शन गर्न हौसिने विश्वास गरिएको छ।

सन् २०१३ यता प्रिमियर लिग जित्न नसकेको युनाइटेड हाल तेस्रो स्थानमा छ। शीर्षस्थानको आर्सनलभन्दा पाँच अंकले मात्र टाढा रहेकाले युनाइटेडले च्याम्पियन बन्ने सपना त्यागेको छैन। युनाइटेड एफए कपको पनि अन्तिम १६ मा पुगिसकेको छ। यस्तोमा युनाइटेडसामु अवसर छ, एकै सिजन चार उपाधि हात पार्ने।

सन् २०१३ मा एलेक्स फर्गुसनले प्रशिक्षणबाट संन्यास लिएपछि कमजोर बनेको युनाइटेडको पुनरोदय अहिले आएर सम्भव हुन लागेको हो? हाल उठिरहेको प्रश्न हो यो। आयाक्सबाट युनाइटेड सरेको टेन हागकै कारण यस्तो विश्वास जाग्न थालेको छ।

उसो त टेन हागका लागि सुरुवात सजिलो थिएन। सुरुका दुई खेलमा ब्रेन्टफोर्ड र ब्राइटनसँग हार व्यहोरेपछि टेन हाग पनि पूर्ववर्ती प्रशिक्षकहरू जस्तै असफल त हुने होइनन् भन्ने संशय व्यक्त हुन थालेको थियो। तर त्यसपछि टेन हागले युनाइटेडलाई कसिलो बनाउन सफल भए। यसकै प्रमाण हो, युनाइटेडले ओल्ड ट्राफोर्डमा दुई प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर सिटीसँगै लिग लिडर आर्सनललाई हराउनु।

ओल्ड ट्राफोर्डमा पराजित हुने यी तीन ठूला क्लबसँग अब बार्सिलोना पनि मिसिन आइपुगेको छ। ‘कुनै पनि टिमलाई बलियो बनाउन रणनीति त चाहिन्छ नै। तर रणनीतिले नतिजा ल्याएन भने विश्वासको वातावरण र्सिजना हुँदैन। बार्सिलोनालाई पराजित गर्नु विश्वासको वातावरण निर्माणमा एउटा इँटा हो। यसरी ठूला टिमलाई हराएपछि मात्र हामी जोसुकैसँग खेल्न सक्छौँ भन्ने आत्मविश्वास जाग्छ,’ टेन हागले भने।

गत सिजन प्रिमियर लिगमा छैटौँ बनेको युनाइटेड यसपालि उपाधि होडमा सामेल हुँदा समर्थक खुसी नहुने कुरै भएन। तर यतिबेला उनीहरूको ध्यान क्लबको प्रदर्शनमा मात्रै छैन, क्लब विक्री प्रक्रियातिर पनि छ। ग्लेजर परिवारको स्वामित्वमा रहेको युनाइटेड खरिद गर्न कतारका पूर्वप्रधानमन्त्री र बेलायती अर्बपति तम्सिएका छन्।

मैदानभित्र र बाहिरका गतिविधिका कारण सतर्क रहेका युनाइटेड समर्थकले खेलाडीहरूलाई मनबाटै समर्थन गरिरहेको बताउँछन् ब्रुनो फर्नान्डेज। ‘यो सिजन हामी केही अप्ठ्यारा मोडबाट गुज्रिएका छौँ। तर समर्थकले हाम्रो साथ छाडेका छैनन्। त्यही साथका कारण पछिल्लो समय हामी बलियो लयमा रहन सकेका हौँ। ओल्ड ट्राफोर्ड पहिलेकै अवस्थामा फर्कदैछ,’ ह्यारी मग्वाएरको अनुपस्थितिमा युनाइटेडको कप्तानी गरिरहेका फर्नान्डेजले भनेका छन्।

युरोपा नै सही, युनाइटेडले युरोपियन क्लब फुटबलमा यत्तिको गतिलो प्रदर्शन धेरैपछि गरेको हो। चार वर्षअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै मैदानमा पराजित गरेयता युनाइटेडले प्रभावशाली प्रदर्शन गर्न सकिरहेको थिएन। च्याम्पियन्स लिग फाइनलमै दुईपटक सामना गरेको बार्सिलोनालाई पन्छाउँदा युनाइटेड समर्थकले सन् २००८ मा पुगेको हुनुपर्छ। किनभने त्यो वर्ष युनाइटेडले बार्सिलोनालाई ओल्ड ट्राफोर्डमा १–० ले हराएको थिए। त्यही नतिजाका कारण युनाइटेड फाइनलमा पुगेको थियो। जहाँ युनाइटेड चेल्सीमाथि पेनाल्टीमा हाबी हुँदै च्याम्पियन बन्यो।

‘बार्सिलोनामाथिको जित युनाइटेडका खेलाडीका लागि कति महत्त्वपूर्ण छ भन्ने उनीहरूको हाउभाउबाट प्रस्ट हुन्छ। यस्तो वातावरण लामो समयपछि सिर्जना भएको हो। ओल्ड ट्राफोर्डमा खुसी फर्काउन यी खेलाडीहरूले धेरै मेहनत गरेका छन्। उनीहरू क्लबप्रति प्रतिबद्ध छन्,’ सन् २००८ मा बार्सिलोनाविरुद्ध निर्णायक गोल गरेका पउल स्कोल्सले भने।

टेन हाग विश्वस्त छन्, युनाइटेडसँग अहिलेको लय जारी राख्ने क्षमता छ। ‘हामी ठूला टिमलाई हराउन सक्छौँ। सिटी, आर्सनल र युनाइटेडलाई पराजित गरेर हामीले आफ्नो क्षमता प्रमाणित गरिसक्यौँ। यदि अनुशासन र प्रतिबद्धतालाई कायम राख्ने हो भने, यो टिमले ठूलो सफलता प्राप्त गर्नसक्छ,’ टेन हाग भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =