रुसी नागरिकलाई नेपालको पर्यटन क्षेत्रबाट लाभ लिन राजदूत तुलाधरको आग्रह

हिमाल प्रेस ६ फागुन २०७९ १६:०४
रुसी नागरिकलाई नेपालको पर्यटन क्षेत्रबाट लाभ लिन राजदूत तुलाधरको आग्रह

काठमाडौँ– रुसमा नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत नेपालको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मस्कोस्थित नेपाली राजदूतावासले नेपाल प्रोमोसन इभेन्ट २०२३ कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठित रुसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्रोफेसर, व्यवसायी, गैरआवासीय नेपाली संघ तथा रुस-नेपाल मैत्रीसंघ प्रतिनिधि, दूतावासका कर्मचारीलगायत नेपालसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपस्थित विशिष्ट पाहुनाहरूलाई स्वागत गर्दै रुसका लागि नेपाली महामहिम राजदूत मिलनराज तुलाधरले नेपालमा रुसी पर्यटक तथा पर्यटन व्यवसायीहरूका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्नका लागि अनुरोध गरे।

कार्यक्रममा अतिथि वक्ताका रूपमा सोभियत हिरो तथा कस्मोनाट भ्लादिमिर अलेक्जेन्डरविच द्जानिबेकभ, नेपालका लागि रुसी महासंघका पुर्वराजदूत वेलिच्किन सर्गई वासिलिएविच, गैरआवासीय नेपाली महासंघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, गैरआवासीय नेपाली महासंघ राष्ट्रिय समन्वय परिषद् रसियाका अध्यक्ष शिव मणि भुर्तेल, रुसी आरोही इभान त्राफिमोविच दसरइनलगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्थाबारे चर्चा गरेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपालमा रुसी पर्यटक पठाउने अग्रणी पर्यटन व्यवसायीहरू ले‌ओनिद म्यास्‍निकोभ एवम् सर्गई पेस्केविचले नेपाल पवर्द्धनसम्बन्धि भिडियो सामग्री प्रस्तुत गरे भने रुसी बैंकर तथा व्यवसायी यरी गसेवले नेपालमा लगानीको अवसरको विषयमा प्रस्तुति दिए।

कार्यक्रममा जीवित देवीको प्रदर्शनी साथै नेपाली सांस्कृतिक नृत्य प्रस्तुति साथै अतिथिहरूलाई नेपाली परिकारसहितको रात्रिभोज दिइएको दूतावासले जनाएको छ।

प्रकाशित: ६ फागुन २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =