युक्रेनमा सेना पठाउने कल्पना गरेकाे छैन : स्विडेन

हिमाल प्रेस १५ फागुन २०८० १७:३०
12
SHARES
युक्रेनमा सेना पठाउने कल्पना गरेकाे छैन : स्विडेन स्विडिस प्रधानमन्त्री उल्फ क्रिस्टरसन।

स्टकहोम- स्विडेनले युक्रेनमा स्थल सेना पठाउने कल्पना नगरेको बताएको छ। ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन (नाटो) मा सामेल हुन अन्तिम अवरोध पार गरेको एक दिनपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले स्विडिस सार्वजनिक प्रसारक एसभिटीलाई सो कुरा बताएका हुन्। उनले भने,‘यो अहिले विल्कुल सम्भव छैन।’

पश्चिमी नेताहरूले युक्रेनलाई रुसी आक्रमणकारी सेनालाई परास्त गर्न सहयोग गर्नका लागि स्थल सेना पठाउन अस्वीकार गर्नु हुँदैन भनी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार दिएको टिप्पणीप्रति प्रधानमन्त्री क्रिस्टरसनले उक्त प्रतिक्रिया दिएका हुन्।

‘अहिले हामी युक्रेनलाई उन्नत (सैन्य)उपकरण पठाउन व्यस्त छौँ’, उनले भने। स्टकहोमले युक्रेनलाई सात अर्ब १० करोड क्रोनर (६८ करोड २० लाख अमेरिकी डलर) को रक्षा सहयोग गर्ने फेब्रुअरी २० मा घोषणा गरेको थियो। यसमा तोपखाना गोला, हवाई रक्षा, डुंगाहरू, खानीहरू, टर्पेडो र युक्रेनी सेनालाई प्रशिक्षण समावेश छ।

युक्रेन अहिले आफ्नो तेस्रो वर्षमा रुसी आक्रमणविरुद्ध स्वयंलाई बचाउनका लागि आफूसँग हतियारको निकै अभाव भएको बताएको छ। पश्चिमी स्थल सेनाका लागि युक्रेनबाट अहिले ‘कुनै माग नभएको’ प्रधानमन्त्री क्रिस्टरसनले बताए। उनले भिन्नभिन्न नाटो सदस्यहरूको अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने फरकफरक दृष्टिकोण रहेको भन्दै फ्रान्सेली परम्परा स्विडेनी परम्परा समान नभएको बताए।

स्विडेनले अन्तर्राष्ट्रिय शान्ति सेनामा योगदान गर्दछ तर दुई शताब्दीभन्दा अघि नर्वेसँग भएको युद्धपछि कुनै पनि युद्धमा संलग्न भएको छैन। रासस/एएफपी

प्रकाशित: १५ फागुन २०८० १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =