गुहार माग्छन् रुसमा अलपत्र परेका नेपाली, परराष्ट्रमन्त्री भन्छन् : मैले पठाएको हो र?

रमेश भारती ६ फागुन २०८० १९:१९
270
SHARES
गुहार माग्छन् रुसमा अलपत्र परेका नेपाली, परराष्ट्रमन्त्री भन्छन् : मैले पठाएको हो र?

काठमाडौँ- रुसको राजधानी मस्कोनजिकै ४० जनाभन्दा बढी नेपाली अलपत्र अवस्थामा बसेका छन्। उनीहरू एक सातायता मस्को सहर नजिकैको एउटा कटेजमा लुकेर बसेका छन्।

रुसी सेनामा भर्ती भएको अथवा तालिम सकेर युद्धमा जाने क्रममा भागेका उनीहरूले हिमालप्रेससँग सम्पर्क गरी परराष्ट्रमन्त्री एनपी साउदसँग उद्धारका लागि सहयोग मागेका थिए।

हामीले शनिबार साँझ ७:४७ मा मन्त्री साउदलाई रुसी सेनामा भर्ती हुन गएका ७ जना नेपालीको अवस्थाबारे जानकारी गराएका थियौँ। साथै उनीहरू एक सातादेखि भोकै बसेको विषयमा पनि मन्त्री साउदलाई उनीहरूको समस्या सुनायौँ। तर समस्यामा परेका नेपालीको विषयमा परराष्ट्रमन्त्री साउद भने गम्भीर देखिएनन्।

‘मन्त्रीज्यू रुसी सेनामा भर्ती भएका तीन जना र रुसी सेनामा भर्ती भई तालिम सकेर भागेका ४ जना नेपाली मस्को जंगलमा लुकेर बसेका छन् रे। उनीहरू ७ दिन देखि अलपत्र छन्। सरकारले उद्धार गर्छ कि भनेर आसमा बसेको हामीसँग भनेका थिए’ भनेर फोनमार्फत् जानकारी गराउँदा मन्त्री साउदले ‘सरकारले पठाएको होइन। यसमा हामी जिम्मेवार छैनौँ’ भनेर जबाफ दिए।

उनले भने, ‘मस्कोस्थित नेपाली दूतावास र कन्सुलर विभागमा सम्पर्क गर्न लगाउनु र के गर्न सकिन्छ हेरौँला।’ विदेशमा समस्या परेका नेपालीको उद्धार गर्ने काममा परराष्ट्रले समन्वय गर्ने होइन भन्ने प्रश्नमा मन्त्री साउदले भने, ‘हामीले पठाएको हो र? कताबाट भागेर जान्छन्। सरकारले रुस नजान आग्रह गर्दै आएको छ। भनेको सुन्दैनन्। यसमा राज्य जिम्मेवार हुँदैन।’

मस्को जंगल नजिकैको एउटा कटेजमा लुकेका सात जना नेपाली भने आफूहरू एजेन्टबाट असुरक्षीत भएको बताउँदै सरकारसँग उद्धारका लागि गुहार मागिरहेका छन्। एजेन्टले रुसी प्रहरी लगाएर समाउन धम्की दिइरहेको मस्कोबाट सुर्खेतका बिक्रम डाँगीले जानकारी दिए। उनीहरूलाई रुस पुर्‍याउने स्याङजाका चन्द्रबहादुर कुँवर हुन्। उनले प्रतिव्यक्ति ११ लाख रुपैयाँ लिएर यूएई हुँदै रुसी सेनामा भर्ती हुने नेपाली लैजाने गरेको डाँगीले बताए।

उनका अनुसार कुँवरले नेपालीलाई रुसी सेनामा भर्ती गराउन ल्याएर ब्ल्याकमेलिङ गर्छन्। उनले रुसी सेनाबाट नेपालीलाई ल्याउँछन्। अनि यहाँको प्रहरीसँग मिलेर उल्टो पैसा माग्छन्। यदि दिएन भने फेरि प्रहरी लगाएर पक्राउ गर्ने गरेको डाँगीले बताए। ‘रुसी सेनामा २ लाख तलबसहित रातो कार्ड पाइन्छ भनेर एजेन्टले नेपालबाट लग्यो। त्यहाँ पुगेपछि अर्कै कुरा गर्न थाल्यो। रुस पुगेपछि दलालले फेरि पैसा माग्न थाल्यो,’ उनले भने।

रुसी सेनामा भर्ती भएको एक साताभित्रै सामान्य तालिम गराएर युद्धस्थलमा खटाएपछि मर्नुभन्दा भाग्नु उचित भनेर भागेको उनले जानकारी दिए। सातमध्ये एक जना रुसी सेनाबाट भागेर मस्को आएका हुन्। ‘हामी ६ जना भने दलालमार्फत् रुस आएर यहाँको सेनामा भर्ती भई तालिम सकेर भागेको हौँ,’ उनले भने।

अहिले ११ जना पुगेको उनी बताउँछन्। मस्को सहरमा रुसी सेना भर्ती हुन् आएका, सेनामा भर्ती भएर  भागेका र तालिम सकेर भागेका नेपाली मात्र भेटिने गरेको उनको भनाइ छ। एजेन्ट कुँवरले दुई सय जना जतिलाई रुसमा ल्याएर अलपत्र पारेको उनको आरोप छ।

१३ दिन हिउँको बाटो भएर युक्रेनको युद्धस्थलबाट भागेर मस्को आइपुगेको धनगढीका सुवास खत्रीले नेपाल फर्किन सरकारसँग गुहार माग्दा बेवास्ता गरेको आरोप लगाए। मस्कोस्थित नेपाली दूतावासदेखि नेपालका परराष्ट्रमन्त्रीलाई समेत गुहार मागेको उनले बताए। अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ। ‘अहिले एजेन्टले फेरि रुसी सेनालाई जिम्मा लगाउँछु भनेर धम्क्याउँदै छ। हामी लुकेर बसेको छौँ,’ उनले भने, ‘एजेन्टले थाहा पायो भने फेरि रुसी प्रहरी र सेनालाई जिम्मा लगाउँछ। कसरी बाँचेर फर्किने हो? अहिले यही चिन्ता छ।’

उनका अनुसार रुसी सेनामा भर्ती भएको नेपाली कसरी बाँचेर फर्किनु भनेर बसेका छन्। ‘दिनहुँ नेपाली मरिरहेका छन्, म जसोतसो ज्यान बचाएर भागे पनि अहिले जंगलमा अलपत्र परेँ,’ उनी भन्छन्।

रुस-युक्रेन युद्धमा लड्ने क्रममा १३ नेपाली नागरिकहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

प्रकाशित: ६ फागुन २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =