च्याम्पियन्स लिग : मिलानसँग भिड्नुअघि कोन्टेको गुनासो, टोटनहममा एकाग्रता छैन

हिमाल प्रेस २ फागुन २०७९ १७:५६
10
SHARES
च्याम्पियन्स लिग : मिलानसँग भिड्नुअघि कोन्टेको गुनासो, टोटनहममा एकाग्रता छैन

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा गत शनिबार लेस्टर सिटीसँग ४–१ को पराजय भोगेपछि टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेको भविष्यलाई लिएर प्रश्न उठिरहेको छ। यहीबीच टोटनहम च्याम्पियन्स लिगतिर फर्कदैछ। अन्तिम १६ को पहिलो लेगमा टोटनहमको भेट मंगलबार राति एसी मिलानसँग हुँदैछ।

दुई साताअघि पित्तथैलीको शल्यक्रिया गराएका कोन्टे टोटनहमलाई लिएर आफ्नो देश पुगेका हुन्। मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई केही वर्षअघि इटालियन च्याम्पियन बनाएका कोन्टेका लागि सानसिरो नौलो रंगशाला होइन। सानसिरोमा टोटनहम पराजित भए कोन्टे झनै अस्थिर बन्नसक्ने अनुमान छ।

कोन्टे नोभम्बर, २०२१ मा टोटनहमको प्रशिक्षक बनेका थिए। यो सिजनको अन्त्यमा उनी र लन्डनको यो क्लबबीचको सम्झौता सकिँदैछ। बेलायती सञ्चारमाध्यमका दाबी पत्याउने हो भने, उनले टोटनहमसँग सम्झौता नवीकरण गर्ने सम्भावना एकदम कम छ।

कोन्टेले टोटनहममा पटक पटक असन्तुष्टि व्यक्त गरेका छन्। टोटनहमले खेलाडी बजारमा कम खर्च गर्ने भएकाले उपाधिका लागि भिड्न नसकिने कोन्टेको भनाइ रहँदै आएको छ। टोटनहमले सन् २००८ यता कुनै उपाधि जित्न सकेको छैन। तर उसले कोन्टको आगमनसँगै प्रिमियर लिगका ठूला तथा धनी टिमलाई टक्कर दिने अपेक्षा गरिएको थियो। यद्यपि कोन्टेले टोटनहमको कम खर्च गर्ने बानी यथावत रहँदासम्म उपाधि लक्ष्य राख्न नसकिने जिकिर गर्दै आएका छन्।

केही मुख्य खेलाडी घाइते भएकाले पनि कोन्टेको तनाव थपिएको छ। कप्तान तथा गोलरक्षक ह्युगो लोरिस ६ साताका लागि मैदान बाहिर छन्। एक साताभित्र यभेस बिसुमा, रायन सेसेनयोन र रोड्रिगो बेन्टानकर पनि चोटग्रस्त बनेका छन्।

लेस्टरसँगको खेलपछि कोन्टेका सहायक क्रिस्टियन स्टेलिनी पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। त्यहाँ स्टेलिनीको प्रारम्भिक प्रतिक्रिया थियो, ‘एउटा खेलाडी होइन पूरै टिमले मानसिकता परिवर्तन गर्नुपर्छ।’ मानसिक रुपमा बलियो हुन सके मात्र स्थिर प्रदर्शन गर्न सकिने उनको भनाइ थियो।

कोन्टे पूर्णरुपमा ठिक नभइसक्नुले पनि टोटनहमको प्रदर्शनमा असर परिरहेको बताइन्छ। ‘कोन्टे हाल आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका छन्। अहिले उनलाई आराम चाहिएको छ। त्यसकारण उनले धेरै दौडधुप गर्न मिल्दैन,’ स्टेलिनीले भनेका छन्।

प्रिमियर लिगमा टोटनहम हाल पाँचौँ स्थानमा छ। २३ खेलबाट ३९ अंक बटुलेको टोटनहम र चौथो स्थानको न्युकासल युनाइटेडबीचको दूरी दुई अंकको छ। तर न्युकासलले टोटनहमभन्दा एक खेल कम खेलेको छ।

हालको लयले टोटनहम शीर्षचारमा नपर्ने सम्भावना छ। जसले गर्दा टोटनहमले अर्को सिजन च्याम्पियन्स लिग गुमाउन सक्छ। गएका दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाएको टोटनहम फेरि त्यही स्थितिमा पुग्दा क्लब अध्यक्ष डानियल लेभी पक्कै सन्तुष्ट हुने छैनन्। यस्तोमा कोन्टेको निरन्तरताको मुख्य शर्त लिगमा कम्तीमा चौथो स्थान हो।

मिलानसँगको खेलअघि भने कोन्टे आफैँ पत्रकार सम्मेलनमा देखिए। सान सिरोमा मिलानसँगको भिडन्तलाई लिएर एकाग्र हुन खेलाडीहरूलाई सहयोग गरिरहेको कोन्टेले बताए। यसरी एकाग्र हुन सिकाइरहँदा आफूले इटालियन शैली अपनाएको उनको भनाइ थियो।

एकाग्र भएर खेल्न सके मात्र कुनै पनि टिमले उपाधि जित्न सक्ने कोन्टेको ठम्मयाई छ। उनको विचारमा यस्तो एकाग्रता टोटनहममा छैन। अस्थिर प्रदर्शन र खेलाडीहरू बारम्बार घाइते भइरहँदा टोटनहम अप्ठ्यारो परिस्थितिको सामना गर्न बाध्य भएको कोन्टेको जिकिर छ।

‘हामीले सुरुवात नराम्रो गरेको होइन। तर खेलाडी लगातार घाइते हुन थालेपछि टिमको प्रदर्शन तलमाथि हुन थाल्यो। मैले सधैँ भन्ने गरेको छु, कुनै पनि टिम स्थिर प्रदर्शनबिना च्याम्पियन बन्न सक्दैन,’ कोन्टेले भने।

इटालीमा इन्टरबाहेक युभेन्टसलाई पनि लिग च्याम्पियन बनाएको अनुभव बटुलेका कोन्टेले टोटनहमको प्रदर्शनमा स्थिरता ल्याउने प्रयास गरिरहेको बताए। ‘तर यो काम इटालीमा जस्तो सजिलो छैन। इटालीमा फरक किसिमको संस्कृति छ, यहाँ हामी एकबद्ध रहन सक्छौँ। इंग्ल्यान्डमा वातावरण फरक छ,’ कोन्टेको भनाइ थियो।

इंग्ल्यान्डमा किन इटालीमा जस्तो खेलाडीहरूले एकाग्र भएर खेल्न सक्दैनन् ? यो प्रश्न कोन्टेलाई सोधियो।

‘इटालीमा सोमबारबाट आइतबारसम्म फुटबल सम्बन्धी बात मारिन्छ। फुटबलकै विषयमा मात्र बात मार्न निकै टेलिभिजन च्यानल छन्। इटालीमा हाम्रो हुर्काइ नै फुटबलमय वातावरणमा हुन्छ। हाम्रा लागि फुटबल फगत खेल मात्र होइन। यो युद्ध पनि हो। इंग्ल्यान्डमा चाहिँ फुटबल खेल मात्र हो,’ कोन्टेले भने।

प्रकाशित: २ फागुन २०७९ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =