क्लब विश्वकप : रियल म्याड्रिड सजिलै फाइनलमा

हिमाल प्रेस २६ माघ २०७९ १३:४६
8
SHARES
क्लब विश्वकप : रियल म्याड्रिड सजिलै फाइनलमा

काठमाडौँ- रियल म्याड्रिड पाँचौँ पटक क्लब विश्वकपको फाइनलमा पुगेको छ। बिहीबार बिहान इजिप्टको अल अह्लीमाथि ४–१ को जित हासिल गर्दै रियलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।

मोरोक्कोको राजधानी राबतस्थित प्रिन्स मौले अब्दुल्लाह रंगशालामा रियललाई जित दिलाउन भिनिसियस जुनियर, फेडेरिको भाल्भार्डे, रोड्रिगो र सर्जियो आरिबासले एक–एक गोल गरे। कायारोको क्लबबाट अली मालौउलले एक गोल फर्काए।

१० पटक अफ्रिकी च्याम्पियन्स लिग जितेको अल अह्लीलाई हराएपछि अब फाइनलमा रियलको भेट साउदी अरबको अल हिलालसँग हुनेछ। अल हिलाल दक्षिण अमेरिकी च्याम्पियन फ्लामेंगोलाई पन्छाउँदै फाइनलमा पुगेको हो। तेस्रो स्थानको भिडन्तमा अल अह्ली र फ्लामेंगोबीच प्रतिस्पर्धा हुनेछ।

अह्लीविरुद्ध रियलको जित अझ फराकिलो हुन सक्थ्यो। तर लुका मोड्रिच पेनाल्टीमा चुके। उनको प्रहार अल अह्लीका मोहम्मद एल शेनावीले बचाएका थिए।

क्लब विश्वकपमा तीन पटक तेस्रो भएको अल अह्लीले अहिलेसम्म युरोपेली विपक्षीमाथि जित दर्ता गर्न सकेको छैन। अफ्रिकी क्लब फुटबलको सर्वाधिक सफल क्लब मानिने अल अह्लीका प्रशिक्षक मार्से कोल्लेरले रियलसँगको हारपछि निराशा व्यक्त गरे।

‘रियल जस्तो बलियो टिमसँग पनि हामीले प्रतिस्पर्धात्मक खेल देखाउन सक्यौँ। तर पाएका मौकामा गोल गर्न नसक्दा हारियो। यसकारण हाम्रा लागि यो नतिजा निराशाजनक हो,’ अस्ट्रेलियाका कोल्लेरले भने।

क्लब विश्वकपको सर्वाधिक सफल क्लब रियल हो। अफ्रिकाका लागि भने कंगोको टीपी माजेम्बे र मोरोक्कोको रजा कासाब्लांकाले गरेको प्रदर्शन नै अहिलेसम्मका लागि सबैभन्दा बढी गर्व गर्न लायकको हो। यी दुई टिम सन् २०१० र २०१३ मा फाइनलमा पुगेका थिए। आबुधाबीको अल ऐनबाहेक कुनै पनि एसियाली टिम फाइनलमा पुगेका छैनन्।

प्रकाशित: २६ माघ २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =