क्लब विश्वकप : पाचौँ पटक च्याम्पियन बन्न चाहन्छ रियल

हिमाल प्रेस १६ माघ २०७९ २२:१३
4
SHARES
क्लब विश्वकप : पाचौँ पटक च्याम्पियन बन्न चाहन्छ रियल फाइल तस्बिर

काठमाडौँ- सर्वाधिक पटक क्लब विश्वकप जितेको रियल म्याड्रिड यसपालि पनि उपाधिको मुख्य दाबेदार हो। बुधबारबाट मोरोक्कोमा सुरु हुन लागेको नयाँ संस्करणको क्लब विश्वकप रियलले जिते, दक्षिण अमेरिकामाथि युरोपको दबदबा मजबुत हुनेछ।

रियल विश्व क्लब फुटबलको च्याम्पियन पहिलो पटक सन् २०१४ मा बनेको थियो। सन् २०१५ को संस्करण रियलको प्रतिद्वन्द्वी बार्सिलोनाले जित्यो। तर त्यसपछि लगातार तीन पटक रियल विजेता बनेको थियो।

पाँचौँ पटक यो प्रतियोगिता जित्ने अभियानमा रहेको रियलका लागि ब्राजिलको फ्लामेंगो मुख्य बाधक बन्न सक्छ। उसो त यी दुवै क्लबले फाइनलमा स्थान बनाउन बाँकी छ। सिधैँ सेमिफाइनलमा प्रवेश पाएका रियल र ब्राजिलेली क्लब फ्लामेंगोले पहिलो खेलमा कोसँग प्रतिस्पर्धा गर्छन्, टुंगो छैन।

पहिलो चरणमा भिड्न लागेका अल अल्ही र अकल्यान्ड सिटीबीचको विजेताले सिटल साउन्डर्स एफसीको सामना गर्नेछ। दोस्रो चरणको यो खेल जित्ने क्लबको भेट रियलसँग हुनेछ। उता फ्लामेंगोले सेमिफाइनलमा मोरोक्कोको वाइडाड कासाब्लांका वा साउदी अरबको अल हिलालको सामना गर्नेछ। आआफ्ना खेल जिते रियल र फ्लामेंगो फेब्रुअरी ११ मा हुने उपाधि भिडन्तमा आमनेसामने हुनेछन्।

सन् २००० बाट सुरु क्लब विश्वकप सबैभन्दा धेरै पटक युरोपका क्लबले जितेका छन्। पछिल्ला नौ संस्करणमा रियल र बार्सिलोनाबाहेक बायर्न म्युनिख, लिभरपुल र चेल्सी च्याम्पियन बने। दक्षिण अमेरिकी प्रतिनिधिले सन् २०१२ यता यो प्रतियोगिता जित्न सकेका छैनन्। ११ वर्षअघि ब्राजिलकै कोरिन्थियन्स विजेता बन्दा उसले चेल्सीलाई स्तब्ध बनाएको थियो।

प्रकाशित: १६ माघ २०७९ २२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =