राष्ट्रपतिको दौडमा १३ जना!

हिमाल प्रेस १७ माघ २०७९ ८:२२
186
SHARES
राष्ट्रपतिको दौडमा १३ जना!

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका तय गरेको छ। सोमबार भएको निर्णयअनुसार फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

निर्वाचन आयोगले चुनावको मिति तय गरेसँगै राष्ट्रपतिका आकांक्षीहरुको दौडधुप बढेको छ। तर चुनावी समीकरणको प्रस्ट दृश्य भने देखा परिसकेको छैन।

सत्ताबाहिर रहेर पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गरेको छ। कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो। तर कांग्रेसले राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन।

तथापि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठलगायत नेता राष्ट्रपतिका आकांक्षी हुन्। उनीहरुले पार्टी भित्र र बाहिर पनि संवाद बढाएका छन्।  कांग्रेसका केही नेता भने नेत्री सुजाता कोइरालालाई अघि सार्ने पक्षमा छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति पाउने सहमति भएको प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको मुख्य दाबी छ। संघीय संसद् र प्रदेशसभाको अंक गणितअनुसार एमाले र माओवादी मिलेको सत्तागठबन्धन बलियो अवस्थामा छ। यसकारण पनि एमाले नेताहरु राष्ट्रपति आफैँले पाउनेमा बढी विश्वस्त छन्।

राष्ट्रपति आलंकारिक पद हो। तर पूर्वराष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको शक्तिको प्रयास र अभ्यासका कारण नेताहरू राष्ट्रपति बन्न लालायित छन्।

एमालेबाट पनि राष्ट्रपतिमा आकांक्षा राख्नेहरुको व्यस्तता बढेको छ। एमालेबाट नेताहरू ईश्वर पोख्रेल, सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, गोमा देवकोटा र गुरु बराल लगायत आकांक्षी छन्। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा कसलाई अघि सार्छन् भन्नेमा एमाले नेताहरू अनभिज्ञता प्रकट गर्छन्।

एमाले र कांग्रेसका अलवा राष्ट्रपतिका आकांक्षा राख्नेमा अन्य दलहरुबाट समेत छन्। पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि राष्ट्रपतिमा चाहना राखेको नेताहरु बताउँछन्। आकांक्षी थपिँदै गए पनि कुनै पनि दलले आफ्नो उम्मेदवारको टुंगो लगाइसकेका छैनन्।

राष्ट्रपति आलंकारिक पद भए पनि पूर्वराष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको शक्तिको प्रयास र अभ्यासका कारण नेताहरू राष्ट्रपति बन्न लालायित छन्।

राष्ट्रपतिलाई फरक शक्ति केन्द्रका रूपमा स्थापित गर्न चाहने दलहरूको मानसिकताले पनि राष्ट्रपति चुनावमा धेरैको चासो बढेको छ। चासोको केन्द्रमा छ– नेकपा माओवादी केन्द्र।

राष्ट्रपति निर्वाचनमा निर्णायक देखिएको माओवादी केन्द्र आफैँमा भने अनिर्णित छ। उसले एमाले र कांग्रेस वा तेस्रो दलको उम्मेदवार सघाउने कि आफ्नै उम्मेदवार खडा गर्ने केही भनेको छैन। माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चुन्नुपर्ने मत प्रकट गरेको छ।

राष्ट्रपतिमा कांग्रेसभित्र छलफल, कोको छन् आकांक्षी?

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै

 

 

प्रकाशित: १७ माघ २०७९ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =