राष्ट्रपतिमा कांग्रेसभित्र छलफल, कोको छन् आकांक्षी?

हिमाल प्रेस १५ माघ २०७९ १९:१९
196
SHARES
राष्ट्रपतिमा कांग्रेसभित्र छलफल, कोको छन् आकांक्षी?

काठमाडौँ- नेपाली कांग्रेसमा राष्ट्रपति पदका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ। यद्यपि राष्ट्रपति कांग्रेसले पाउने सम्भावना अत्यन्त न्यून रहेको नेताहरू नै स्वीकार्छन्। उम्मेदवारका विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरू बढी सक्रिय छन्। अन्य नेताहरूले पनि राष्ट्रपतिको उम्मेदवारबारे छलफल जारी राखेका छन्।

वर्तमान राष्ट्रपतिको कार्यकाल फागुन २९ मा सकिँदैछ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ। मिति भने तय भइसकेको छैन। त्यसैले दलहरूले आन्तरिक रूपमा राष्ट्रपतिको उम्मेदवारी विषयमा छलफल जारी राखेका हुन्।

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपति चयन सहमतिमै गर्नुपर्ने विषयमा निर्णय गरिसकेको छ। सोही कारण सत्तारूढ दलका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिमै राष्ट्रपति हुनुपर्ने अडान राखेका छन्।

प्रधानमन्त्री दाहाल सकेसम्म एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनन्। एमालेलाई राष्ट्रपति दिनैपरेमा अध्यक्ष केपी शर्मा ओलीका ‘एस म्यान’ भन्दा तटस्थ व्यक्ति हुनुपर्ने पक्षमा प्रचण्ड छन्।

एमाले पनि राष्ट्रपति नछाड्ने पक्षमा छ। अहिलेको परिस्थितिअनुसार राष्ट्रपति एमालेबाटै हुने निश्चितजस्तै छ। तर पार्टीले कसलाई अघि सार्छ भन्नेचाहिँ टुंगो लाग्न बाँकी छ। एमालेले प्रधानमन्त्री छाडेर स्थायी संयन्त्रमा आफ्नो वर्चस्व देखाइसकेको बुझाइ कांग्रेस नेताहरूको छ। यस्तो अवस्थामा संवैधानिक नियुक्तिदेखि हरेक ठाउँमा एमाले हाबी हुनेमा कांग्रेस र माओवादी नेताहरू सशंकित छन्।

राष्ट्रपतिमा सत्ता गठबन्धनबाटै प्रस्तावित व्यक्ति चयन हुने लगभग निश्चित छ। तर पनि कांग्रेसले पनि प्रयास छाडेको छैन। त्यसैले कांग्रेस नेताहरूले पनि आकांक्षा देखाइरहेका हुन्।

नेताहरूसँगको अनौपचारिक कुराकानीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिमा आकांक्षा व्यक्त गरिरहेका छन्। प्रधानमन्त्रीका लागि पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेका पौडेलले राष्ट्रपति बन्ने चाहना व्यक्त गरिरहेका हुन्। पौडेलले केही दिनअघिको संसद् बैठकमा राष्ट्रपति निर्वाचनको प्रसंग नउठाई राष्ट्रिय सहमतिको कुरा उठाएका थिए।

कांग्रेसबाट राष्ट्रपतिका लागि आकांक्षा देखाउने अर्का नेता हुन् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला। तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर नयाँ संविधान निर्माणमा आफ्नो भूमिका विशेष रहेकाले राष्ट्रपति पाउनुपर्ने उनको दाबी छ।

नेत्री सुजाता कोइरालालाई पनि साझा उम्मेदवारका रूपमा अघि सार्ने रणनीतिमा केही नेताहरू छन्।

कांग्रेस सभापति देउवाले भने गोपालमान श्रेष्ठलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्न चाहेको उनी निकट एक नेता बताउँछन्। श्रेष्ठ देउवाका पुराना सहयात्री हुन्।

‘विभिन्न नेताहरूले आकांक्षा देखाइरहनुभएको छ। उम्मेदवार को हुने भन्नेचाहिँ पदाधिकारी बैठकले टुंगो लगाउनेछ’, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने। यद्यपि उनले राष्ट्रपतिका कांग्रेसले पाउने नपाउने निश्चित नरहेको बताए।

उनले भने, ‘पहिलो कुरा त कांग्रेसले पाउने नपाउने नै महत्त्वपूर्ण हो। पाउने सम्भावना एकदम कम छ। तर पनि अन्तिम समयसम्म कांग्रेसले आफ्ना लागि पहल जारी राख्नेछ।’

पौडेल, सिटौला र श्रेष्ठबारे कसलाई अघि बढाउने भन्ने विषयको टुंगो पनि आकांक्षीहरूबाटै लाग्ने प्रवक्ता डा. महत बताउँछन्। उनले भने, ‘आकांक्षा राख्नेहरूबाटै नाममा सहमति हुन्छ। नभए अन्य नाम पनि जान सक्छ। यो सभापति र पदाधिकारीको निर्णयमा निर्भर हुने कुरो हो।’

कांग्रेसले अहिलेकै राष्ट्रपतिलाई तेहर्‍याउने प्रयासमा भने साथ नदिने भएको छ। यसमा अन्य दलले पनि साथ दिने देखिँदैन। संविधानको अपव्याख्या गरेर वर्तमान राष्ट्रपतिलाई तेहर्‍याउने प्रयास भइरहेको विषयमा कांग्रेस सजग रहेको महतले बताए।

प्रधानमन्त्री माओवादीबाट भए पनि सभामुख एमालेले पाइसकेको छ। अब राष्ट्रपति पनि एमालेले पाएमा राज्य संयन्त्रको हरेक ठाउँमा एमालेको वर्चस्व रहनेमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल पनि सजग छन्।

माओवादीलाई प्रधानमन्त्री दिएर एमालेले अन्य क्षेत्रमा आफूलाई स्थापित गराएको विषयमा कांग्रेसमा पनि समीक्षा भएको महतले बताए। उनले भने, ‘कांग्रेस आफ्नो पहलमा लाग्यो। अन्यत्र ध्यान दिन भ्याएन। गल्ती भइसकेको छ। अब यसमा हामी सहमत भएर अघि बढ्न आवश्यक छ।’

प्रवक्ता महतका अनुसार कांग्रेसले हार्ने नै भए पनि राष्ट्रपतिमा उम्मेदवारी भने दिनेछ। उनी भन्छन्, ‘अन्तिम दिनसम्म पनि जितका लागि पहल हुनेछ।’

एमालेबाट राष्ट्रपति हुँदा सबैभन्दा असजिलो माओवादीलाई नै हुनेछ। यस विषयमा जानकार रहेका पूर्वसभामुखसमेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले कांग्रेसका पक्षमा लबिङ गरिरहेको माओवादीका एक नेताले बताए।

कांग्रेस प्रवक्ता महत पनि महराको प्रयासमा दम भएको स्वीकार गर्छन्। उनी भन्छन्, ‘माओवादीले साँच्चै राजनीति बुझेको हो भने कांग्रेस उम्मेदवारकै पक्षमा सहमति हुनुपर्छ।’

प्रकाशित: १५ माघ २०७९ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =