सरकारलाई विश्वासको मत दिनेबारे के भन्छन् कांग्रेस सांसद?

हिमाल प्रेस २६ पुष २०७९ १२:४३
8
SHARES
सरकारलाई विश्वासको मत दिनेबारे के भन्छन् कांग्रेस सांसद?

काठमाडौँ- सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा कांग्रेसका सांसदहरूबीच मत बाझिएको छ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गरेपछि सांसदहरूले त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका छन्।

पार्टी संसदीय दलको बैठक बस्नुअघि मंगलबार संघीय संसद् भवन परिसरमा पुगेका कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताए।

‘ठूलो दलको हैसियतले लोकतान्त्रिक व्यवस्थामा प्रमुख प्रतिपक्षको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ। बलियो प्रतिपक्ष भएन भने राम्रो पनि हुँदैन,’ उनले भने, ‘त्यसकारण प्रतिपक्षमा बसेछ भन्ने पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन। तर स्थानीय तहमा सहकार्य गरेकाले सरकारलाई समर्थन जनाउन त्यत्रो ठूलो समस्या छ जस्तो मलाई लाग्दैन।’

अर्का सांसद रामहरि खतिवडाले भने प्रचण्डले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गरेका छन्। उनले प्रतिपक्षमै बसेर कांग्रेसले काम गर्दा उपयुक्त हुने दाबीसमेत गरे।

कांग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरे बताउँछन्। उनले विपक्षमै बसेर अघि बढदा स्थानीय तहको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताए।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिएका छन्।

प्रकाशित: २६ पुष २०७९ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =