आत्मनिर्भर बन्दै मुक्तकमलरीहरू

'राज्यले हरेन'

हिमाल प्रेस ४ पुष २०७९ १५:२२
10
SHARES
आत्मनिर्भर बन्दै मुक्तकमलरीहरू फाइल तस्बिर।

दाङ– घोराही-२ सुर्केडागीका पूर्वकमलरी सोमती चौधरी पछिल्लो तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेकी छन्। मौसमअनुसार तरकारी उत्पादन गर्दै आएकी उनले यसवर्ष काउली, बन्दा र गोलभेँडा लगाएकी छन्।

कुनै समय अर्काको घरमा बधुवा मजदूरका रूपमा पाँच वर्ष बिताएकी उनी यतिबेला आफैंले तरकारी खेती सुरु गरेपछि आर्थिक रूपमा आत्मनिर्भर बनेकी छन्।

सरकारले ०७० साल असार १३ मा कमलरीमुक्त घोषणा गरेपछि चौधरी र उनीजस्तै कमलरीहरू त्यसयता मुक्त कमलरी विकास मञ्चमार्फत् एकत्रित भएका छन्। हाल मुक्त भएका कमलरीहरू ४२ वटा सहकारी संस्था र एउटा समूहमार्फत् आय-आर्जनमा जुटेका छन्।

चौधरीले मुक्त कमलरी विकास मञ्च र आइएम संस्थाको घुम्ती कोषमार्फत् २० हजार रुपैयाँ सहायता पाएपछि व्यवसाय सुरु गरेकी थिइन्। साढे ३ कठ्ठा जमिनमा व्यावासायिक तरकारी खेती गरिरहेकै चौधरीले परिवारको खर्च कटाएर केही रकम बचत पनि गरिरहेको बताइन्।

१ वर्षसम्म ब्याज तिर्नु नपर्ने गरी पाएको ऋणकै कारण व्यवसाय गर्न सहज भएको उनको भनाइ छ। ‘कमलरीका रूपमा काम गर्दा निकै दुःख थियो, हामी स्वतन्त्र थिएनौं, उनले भनिन्, ‘अहिले आफैंले गरेको व्यवसायबाट आत्मनिर्भर बन्न पाउँदा निकै खुसी लागेको छ।’

चौधरी २०६३ मा असाय नानीहरूको साथी (एफएनसी)ले कमलरीमुक्त गराएपछि प्राथमिक विद्यालय पलासेमा कक्षा ५ मा भर्ना भएकी हुन्। कक्षा ८ सम्मको अध्ययन माध्यमिक विद्यालय गोग्लीबाट पूरा गरिन्। ०७१ मा महेश चौधरीसँग विवाह भएपछि गृहस्थी जीवन सुरुवात गरेकी थिइन्।

घोराही २ कि अञ्जु चौधरीले पनि ५ वर्ष कमलरीका रूपमा बिताइन्। ०७१ सालमा विवाह गरेकी उनी पनि व्यावसायिक तरकारी खेतीमै छिन्। उनले ३ कठ्ठा आफ्नो र ४ कठ्ठा जमिन वार्षिक ३ हजार भाडामा लिएर काउली र गोलभेँडा खेती गरिरहेकी छन्।

७ जनाको परिवार सबै खेतीमा लाग्दा सजिलो पनि भएको र यसबाट आम्दानी पनि राम्रो भएको उनको भनाइ छ। मुक्तकमलरी विकास मञ्चका कानुनी सल्लाहकार फकला थारुले नेपाल सरकारले मुक्तकमलरीको पुनःस्थापनाको लागि सरकारले ध्यान नदिएको बताइन्।

विशेष गरेर छात्रावासमा रहेका नानीहरूलाई पढाइ खर्च र छात्रावासमा खानपिनको खर्च अभाव भएको उनले गुनासो गरिन्।

हाल कमलरी आबद्ध सहकारीमा १४ हजार सात सय २१ जना सदस्य छन्। सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा, बंगुर, किराना पसल र होटल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्तकमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन्।

मुक्तकमलरीका छोराछोरीले बाबुआमाले जस्तो दुःख नपाउन् भन्ने उद्देश्यले सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको उनले सुनाइन्। दाङमा चार सय ८७ जना, बाँकेमा ६७, बर्दियामा ३ सय ९५ जना, कैलालीमा ४ सय ३३ ,कञ्चनपुरमा १ सय ५१ मुक्तकमलरीले अध्ययन गरिरहेको मुक्तकमलरी विकास मञ्चले जानकारी दिएको छ।

प्रकाशित: ४ पुष २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =