फ्रान्सकाे जिम्मेवारी एम्बाप्पेको पुस्तामा सरेको छ : ह्युगो लोरिस

हिमाल प्रेस ४ पुष २०७९ ११:३९
66
SHARES
फ्रान्सकाे जिम्मेवारी एम्बाप्पेको पुस्तामा सरेको छ : ह्युगो लोरिस

काठमाडौँ- फ्रान्सका कप्तान ह्युगो लोरिसले कतार विश्वकप सकिएसँगै फ्रेन्च टिमको जिम्मा नयाँ पुस्ताले लिएको गएको बताएका छन्। र नयाँ पुस्ताको अगुवा किलियान एम्बाप्पे भएको उनको भनाइ छ।एम्बाप्पेले आइतबार राति भएको विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए। २३ वर्षीय एम्बाप्पे विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्।

‘यही विश्वकपबाट हाम्रो पुस्ताले राष्ट्रिय टिमाबाट बिदा लिँदैछ। अब टिम हाँक्ने पालो नयाँ पुस्ताको हो। र यो पुस्ताको नेतृत्वकर्ता एम्बाप्पे हुन्,’ यही महिना ३६ वर्ष पुग्न लागेका गोलरक्षक लोरिसले भनेका छन्।

फ्रान्सले रुसमा विश्वकप जित्दा पनि कप्तान रहेका लोरिसले एक सय ४५ खेल खेलिसकेका छन्। यो विश्वकपमा टिमको मुख्य अगुवा रहेका उनले एम्बाप्पेले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

‘पूरै प्रतियोगिताभर उनी लिडर रहे। झन् फाइनलमा त उनको भूमिका महहत्त्वपूर्ण थियो। अर्जेन्टिनाविरुद्धको फाइनल बक्सिङ खेलसरह थियो। मुक्का खानसाथ मुक्का प्रहार गरिहाल्नु पर्ने स्थिति थियो। एम्बाप्पे हाम्रा मुख्य मुक्केबाज थिए,’ लोरिसले भने।

अन्तिम क्षणसम्म पनि हिम्मत नहारी खेलेकाले पेनाल्टीमा भोगेको हार सामना गर्न असाध्यै गाह्रो भएको लोरिसको भनाइ थियो। लोरिसले अर्जेन्टिनाका चारै पेनाल्टीकर्तालाई रोक्न सकेनन्।

‘पहिलो हाफमा दुई गोल खाँदा पनि हामीले हिम्मत हारेनौँ। हामीलाई विश्वास थियो, खेलमा फर्कन सक्छौँ,’ लोरिसले भने, ‘हामीले अर्जेन्टिनालाई बधाई दिनैपर्छ। अर्जेन्टिनाले उत्कृष्ट खेल देखाएकै हो।’

लोरिसलाई संन्यासका विषयमा पनि सोधिएको थियो। ‘अहिले नै केही भन्न सक्दिनँ। अबको केही सातामा थाहा होला। अहिले त हारको पीडा छ। केही समय विश्राम लिन चाहन्छु,’ लोरिसले भनेका छन्।

प्रकाशित: ४ पुष २०७९ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =