विश्वकप फाइनलअघि किन एक्लो महसुस गरिरहेका छन् फ्रेन्च प्रशिक्षक डेस्चाम्प्स?

हिमाल प्रेस ३ पुष २०७९ १२:२७
12
SHARES
विश्वकप फाइनलअघि किन एक्लो महसुस गरिरहेका छन् फ्रेन्च प्रशिक्षक डेस्चाम्प्स?

फ्रान्सका प्रशिक्षक डिडिर डेस्चाम्प्सलाई के थाहा छ भने विश्वभरका तटस्थ समर्थक अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहन्छन्। लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट विश्वकप उपाधिसहित बिदा लिएको हेर्ने उनीहरुको चाहनाबारे डेस्चाम्प्स बेखबर छैनन्।

उनी त यो पनि अनुमान लगाइरहेका छन्, फ्रान्समै पनि अर्जेन्टिना विजेता भएको हेर्न चाहनेको संख्या धेरै छ। ‘योबेला म एक्लो महसुस गरिरहेको छु। तर यसले मलाई केही फरक पार्दैन,’ अर्जेन्टिनासँग आइतबार राति उपाधिका लागि भिड्नेअघि डेस्चाम्प्सले भने। कतारमा विश्वकप सुरु भएदेखि नै फ्रान्स असफल होस् भन्ने चाहना राखिएको डेस्चाम्प्सको भनाइ छ।

विश्वकप सुरु हुनुअघि नै डेस्चाम्प्सले अफ्ठ्यारो स्थितिको सामना गर्नु परेको थियो। पउल पोग्बा र एन्गोलो कान्टेसँगै करिम बेन्जेमा, क्रिस्टोफर एन्कुन्कु र प्रेसनल किम्पेम्बे पनि चोटका कारण विश्वकप गुमाउने भएपछि डेस्चाम्प्सले फ्रेन्च टिममा कसरी सन्तुलन कायम राख्छन् भन्ने डर थियो।

त्यहीमाथि सेमिफाइनलको पूर्वसन्ध्यामा फ्रान्सका केही खेलाडी बिरामी परे। रक्षक डायोट उपमेकानो र मिडफिल्डर आड्रियान राबियोटले मोरोक्कोसँगको खेल गुमाए। थप तीन खेलाडी राफाएल भारान, इब्राहिम कोनाटे र किंग्स्ले कोमान शुक्रबारको अभ्यासमा सामेल हुन सकेनन्। यद्यपि शनिबार भने ती खेलाडी अभ्यासमा फर्किए।

आइतबार राति हुने फाइनल खेलअघि फ्रान्सका २४ खेलाडी फिट अवस्थामा छन्। खेलाडीको अस्वस्थताका कारण तयारीमा असर पुगे पनि डेस्चाम्प्स अत्तालिएका छैनन्। ‘खेलाडीको स्वास्थ्यका विषयमा हामी सचेत छौँ। आइपरेका समस्यालाई पाखा लगाउँदै अघि बढ्नुको विकल्प छैन। परिस्थिति अनुसारको राणनीति बनाइरहेका छौँ,’ उपाधि भिडन्तअघिको पत्रकार सम्मेलनमा डेस्चाम्प्सले भने।

नकआउट चरणका दुई खेलमा फ्रान्सले इंग्ल्यान्ड र मोरोक्कोलाई पन्छाएको थियो। यी दुवै खेलका पहिलो हाफमा फ्रान्सले अग्रता लिएको थियो। दोस्रो हाफमा दबाबमा परे पनि काउन्टर अट्याकमा गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सक्यो। काउन्टर अट्याक फ्रान्सको अन्तिम हतियार हो, जसको प्रयोगले रुसमा उसले विश्वकप जितेको थियो।

के यो रणनीति अर्जेन्टिनाविरुद्ध सफल होला? जबकि लियोनल मेस्सी उत्कृष्ट लयमा छन्।

‘विश्वकप फाइनलका लागि जति तयारी गरे पनि अपुग हुन्छ। यसकारण हामीले एकबद्ध भएर विपक्षीको सामना गर्नुपर्छ। हामी स्तरीय टिम भएकोमो शंका छैन। तर अर्जेन्टिना जस्तो टिमको सामना गर्दा नसोचेको परिस्थिति सिर्जना हुनसक्छ। यसका लागि हामी तयार हुनुपर्छ,’ लगातार दोस्रो विश्वकपमा टिमको कप्तानी गर्ने सौभाग्य पाएका ह्युगो लोरिसले भने।

कतारमा जारी यो विश्वकपमा अर्जेन्टिनाका मुख्य खेलाडी मेस्सी हुन्। दक्षिण अमेरिकी च्याम्पियनको हरेक मुभमा मेस्सी संलग्न हुन्छन् नै। जसरी हुन्छ विश्वकप जित्ने लक्ष्यमा रहेका मेस्सी निरन्तर गोल गरिरहेका छन्। तर अर्जेन्टिनासँग भिड्दा मेस्सीमाथि मात्र नजर राखेर नपुग्ने लोरिसको भनाइ छ।

‘मेस्सीलाई मार्क त गर्नैपर्छ। तर विश्वकप फाइनल जित्न एउटा खेलाडी रोकेर मात्र पुग्दैन। फेरि अर्जेन्टिना एकसेएक खेलाडी भरिएको टिम हो। एउटा कुरा चाहिँ सत्य हो, उनीहरु मेस्सीका लागि विश्वकप जित्न प्रतिबद्ध छन्,’ लोरिसले भनेका छन्।

डेस्चाम्प्सले फाइनलअघि कोही खेलाडी अस्वस्थ छन् कि भन्न् प्रश्नका् जवाफ दिएनन्। उपमेकानो र राबियोट अभ्यासमा फर्किइसकको भए पनि मैदान उत्रन तयार छन् कि छैनन् भन्नेमा शंका छ। एक जना खेलाडी भने अवश्य पनि फाइनलमा हुने छैनन्। ती हुन्, करिम बेन्जेमा।

विश्वकपअघि घाइते भएका उनी हाल रियल म्याड्रिडमा दैनिक अभ्यास गरिरहेका छन्। फिट भइसकेका उनी विश्‍वकपका लागि फ्रान्सका टिमबाट दर्ता छन्। यसकारण उनी फाइनलका लागि कतार पुग्छन् कि भन्ने कौतहुल थियो। तर उनको विषयमा सोधिएको प्रश्नलाई डेस्चाम्प्सले खासै रुचाएनन्।

‘विश्वकप अगाडि नै उनी घाइते थिए। पहिलो खेलबाट लुकास हर्नान्डेज पनि चोटका कारण बाहिरिए। त्यसपछि मसँग २४ खेलाडी छन्। यी खेलाडीको मेहनतका कारण फ्रान्स फाइनलसम्म आइपुगेको हो। यसकारण यहाँ नभएका खेलाडीबारे सोधेर भएका खेलाडीको अपमान गर्नु हुँदैन,’ डेस्चाम्प्सले भने।

पत्रकार सम्मेलनमा डेस्चाम्प्सले यस्तो भनाइ राखेको केही घण्टापछि बेन्जेमाले सामाजिक सञ्जालमा आफ्नो फोटो ‘अपलोड’ गर्दै यस्तो लेखे, ‘मलाई कुनै रुचि छैन।’ उनको यो भनाइ डेस्चाम्प्सको अभिव्यक्तिसँग सम्बन्धित छ कि भन्ने शंका गरिँदैछ।

प्रकाशित: ३ पुष २०७९ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =