अबको २० वर्षमा अफ्रिकी टिमले विश्वकप जित्ने छन् : मोरोक्कोका प्रशिक्षक रेग्रागुई

हिमाल प्रेस ३ पुष २०७९ १०:२३
14
SHARES
अबको २० वर्षमा अफ्रिकी टिमले विश्वकप जित्ने छन् : मोरोक्कोका प्रशिक्षक रेग्रागुई

काठमाडौँ- मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आगामी २० वर्षभित्र अफ्रिकी टिमले विश्वकप जित्ने विश्वास व्यक्त गरेका छन्। आफ्नो टिमलाई कतार भूमिमा जारी विश्वकपमा चौथो बनाएपछि प्रतिक्रिया दिँदै रेग्रागुईले यस्तो बताएका हुन्।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टिम बनेको मोरोक्को तेस्रो स्थानका लागि भएको भिडन्तमा शनिबार राति क्रोएसियासँग २–१ ले पराजित भयो। कास्य पदकका लागि भएको भिडन्तमा असफल भए पनि रेग्रागुई भविष्यलाई लिएर आशावादी छन्।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने आगामी विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन्। यसो भएपछि विश्वकपमा छानिने अफ्रिकी टिमको संख्या कम्तीमा नौ पुग्नेछ। छनोट हुने टिमको संख्या बढ्नु अफ्रिकी फुटबलका लागि फाइदाजनक हुने रेग्रागुईको बुझाइ छ।

‘प्रतिस्पर्धा गर्ने टिमको संख्या बढ्दा हाम्रो सिकाइको दायरा फराकिलो हुनेछ। यो अफ्रिकी फुटबलको भविष्यका लागि सकारात्मक हो। विश्वकपमा कसरी लामो यात्रा गर्ने, उपाधिनजिक पुग्ने लगायतका कुरा हामी सिक्नेछौँ। यसपालि मोरोक्कोले जस्तो सफलता हासिल गरेको छ, यो फगत मोरोक्कोका लागि मात्र होइन पूरै महादेसका लागि हो,’ रेग्रागुईले भने।

सेमिफाइनलसम्मको यात्रा गर्न मोरोक्कोले सबैलाई छक्क बनाउने किसिमको प्रदर्शन गर्‍यो। क्रोएसिया र बल्जियम जस्ता बलिया टिमसम्मिलित समूहको विजेता बनेको मोरोक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई स्तब्ध बनाएको थियो।

सेमिफाइनल पुगेर इतिहास रचेको मोरोक्कोलाई सेमिफाइनलमा फ्रान्सले रोकेको हो। सेमिफाइनल र तेस्रो स्थानका लागि भएको प्लेअफमा हार व्यहोरे पनि आफ्ना खेलाडीले दुःख मान्न नहुने रेग्रागुईको भनाइ छ। बरु अर्को वर्ष हुने अफ्रिका कप अफ नेसन्स (एफ्कोन) जित्न गम्भीर हुनु रेग्रागुईले सुझाव दिए।

‘मैले सबै खेलाडीलाई भनिसकेको छु, एफ्कोन जिते मात्र हामीलाई देशले अनन्तकालसम्म सम्झिनेछ। हामीले अफ्रिकी फुटबलमा दबदबा कायम गर्नसक्नु पर्छ,’ रेग्रागुईले भने।

मोरोक्कोले हालसम्म एकपल्ट मात्र एफ्कोन जितेको छ। पछिल्ला तीन संस्करणमा मोरोक्को दुई पटक क्वार्टरफाइनलमा पुगेको थियो। तर पछिल्लो समय भने मोरोक्कोप्रति समर्थकको विश्वास बढेको छ। यसको कारण विश्वकपको प्रदर्शन र प्रशिक्षक रेग्रागुई हुन्। रेग्रागुईलाई गत अगस्टमा मात्र प्रशिक्षक बनाइएको हो।

‘छोटो समयमा हामीले गर्व गर्न लायकको सफलता हासिल गरेका छौँ। विश्वकपमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्न सक्यौँ। तर हामी यतिमै सन्तुष्ट हुनेवाला छैनौँ। भविष्यमा थप मेहनत गर्ने, सफलता पाउने बाटोमा अघि बढ्नुछ,’ क्रोएसियासँगको खेलपछि रेग्रागुईले भने।

यसपालि सेमिफाइनल पुगेको भएर आउँदा विश्वकप झन् राम्रो प्रदर्शन गर्ने दबाब आफ्नो टिममाथि सिर्जना हुने रेग्रागुईको बुझाइ छ।

‘हामी त्यस्तो दबाबलाई स्वागत गर्छौँ। किनभने हाम्रो लक्ष्य भनेको विश्वकप जित्ने हो। कुनैदिन मोरोक्कोले विश्वकप जित्ने नै छ। आशा छ अफ्रिकाका अरु टिम पनि हामी जस्तै प्रतिबद्ध हुनेछन्,’ रेग्रागुईको भनाइ थियो, ‘हामी बलिया टिमसँग भिड्न सक्छौँ। यसमा कुनै शंका छैन। उनीहरू बस थोरै चिजमा मात्र हामीभन्दा अगाडि छन्।’

प्रकाशित: ३ पुष २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =