संस्कृति नरहे अस्तित्व रहँदैन : मन्त्री पौडेल

हिमाल प्रेस २८ मंसिर २०७९ १९:४६
4
SHARES
संस्कृति नरहे अस्तित्व रहँदैन : मन्त्री पौडेल मन्त्री पौडेल। फाइल तस्बिर

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिको सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएका छन्। बुधबार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले यस्तो बताएका हुन्।

खोज, अनुसन्धान, संघर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने उनको भनाइ छ। ‘सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त हुन्छ। सभ्यतासँग संस्कृति जोडिएको हुन्छ। सभ्यता र संस्कृति नै रहेन भने अस्तित्व रहँदैन,’ मन्त्री पौडेलले भने।

थारू आयोगका अध्यक्ष विष्णु चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवर्द्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताए।

‘नेपालको विविधतालाई हाम्रो सम्पत्तिको रूपमा स्वीकार गरेर जानुपर्छ, यसलाई अहिले गम्भीरतापूर्वक लिइएको छैन,’ उनले भने, ‘आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन्। हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्न आवश्यक छ।’

राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले संवैधानिक अंगका रूपमा रहेको आदिवासी जनजाति आयोग आदिवासी जनजाति आन्दोलनको सफलता भएको बताउँदै यसले आफ्ना गतिविधिलाई राज्यको नीति र अभ्यासअनुसार आदिवासी जनजातिको संस्कृति, सभ्यता र ऐतिहासिक परम्पराको संरक्षण, प्रवर्द्धन र व्यापकतामा ध्यान दिने अपेक्षा गरे।

संविधानसभा सदस्य तथा गण्डकी प्रदेश विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले आदिवासी जनजाति आयोगले आदिवासी जनजाति आन्दोलनको मर्मअनुरूप उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै उनीहरूको पीडालाई बुझ्ने गरी काम गर्न सुझाए।

प्रकाशित: २८ मंसिर २०७९ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =