बलियो फ्रान्सलाई निडर मोरोक्कोको चिन्ता

हिमाल प्रेस २८ मंसिर २०७९ १२:४५
14
SHARES
बलियो फ्रान्सलाई निडर मोरोक्कोको चिन्ता

काठमाडौँ-लगातार दोस्रो पटक विश्वकप जित्ने अभियानमा रहेको फ्रान्सले सेमिफाइनलमा मोरोक्कोको सामना गर्दैछ। बुधबार राति यो खेल जिते फ्रान्सको भेट अर्जेन्टिनासँग हुनेछ। कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले मंगलबार राति उपाधि भिडन्तमा स्थान पक्का गरेको हो। उसले क्रोएसियालाई ३–० ले पराजित गर्‍यो।

विश्वकप इतिहासमा लगातार दुई पटक विजेता बन्ने टिम ब्राजिल मात्र हो। ब्राजिलले ६० वर्षअघि राखेको यो कीर्तिमान बराबरी गर्ने दाउमा छ फ्रान्स। यसो गर्न ऊ दुई कदम टाढा छ। पहिलो कदम ‘सप्राइज प्याकेज’ मोरोक्कोसँगको खेल हो।

अल बेट रंगशालामा हुने खेलको सम्भावित विजेता फ्रान्सलाई नै मानिएको छ। तर यो खेल सजिलो भने हुने छैन। यसका निकै कारण छन्। पहिलो कारण मोरोक्कोको जब्बर रक्षापंक्ति हो। कतारी भूमिमा जारी विश्वकपमा मोरोक्कोले जम्मा एक गोल मात्र खाएको छ।

फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिस मोरोक्कोलाई रक्षात्मक टिमका रुपमा मात्र सीमित गर्न नसकिने बताउँछन्। ‘जब कुनै टिम बेल्जियम, स्पेन र पोर्चुगललाई हराएर सेमिफाइनल आइपुग्छ भने ऊ स्तरीय हुनुपर्छ,’ लोरिसले भनेका छन्।

लोरिस मोरोक्कोको खेल स्तरलाई लिएर मात्र चिन्तित छैनन्, रंगशालामा उपस्थित हुन हजारौँ मोरोक्कोन समर्थकले सिर्जना गर्न दबाबप्रति पनि चिन्तित छन्।

तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको फ्रान्सको विपक्षी मोरोक्को समूह विजेता बनेर नकआउट चरणमा पुगेको थियो। क्रोएसिया र बेल्जियम जस्ता बलिया टिमलाई पछि पारेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको मोरोक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टिम हो। यो कीर्तिमान राख्न उसले क्वार्टरफाइनलमा पोर्चुगललाई स्तब्ध बनाएको थियो।

फ्रान्स र मोेरोक्कोको सम्बन्ध निकै पुरानो छ। मोरोक्को कुनैबेला फ्रान्सको अधिनमा थियो। हाल १० लाख भन्दा बढी मोरोक्कोन फ्रान्समा बसोबास गर्छन्।

सेफिाइनलमा आफ्नो टिमलाई समर्थन गर्न हजारौँ मोरोक्कोन रंगशालामा पुग्नेछन्। उसो त मोरोक्कोको समर्थन यी मोरोक्कोनले मात्र गर्ने छैनन्। विश्वभरका मुस्लिम समुदाय, अरब समुदाय र अफ्रिकाले मोरोक्कोको समर्थन गर्नेछन्।

फेरि यो विश्वकप अरब क्षेत्रमा भइरहेकाले मोरोक्कोको समर्थनमा हजारौँ स्थानीय अरब रंगशालामा हुनेछन्। यो परिस्थितिको सामना कसरी गर्ने भन्नेमा फ्रेन्च खेलाडी सचेत रहेको डिडियर डेस्चाम्प्स बताउँछन्। ‘रंगशालामा पक्कै शान्त हुने छैन। मेरा खेलाडी यसबारे जानकार छन्। उनीहरुलाई थाहा छ, कसरी यो चुनौतीलाई पार लगाउने भनेर,’ फ्रान्सका प्रशिक्षक डेस्चाम्प्सले भने।

फ्रेन्च राजधानी पेरिस सहर नजिकै जन्मिएका मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुई आफ्नो टिम विश्वभरका तटस्थ समर्थकको प्यारो रहेको जिकिर गर्छन्। मोरोक्को यो विश्वकपमा सहभागी हुन मात्र कतार नपुगेको उनको भनाइ छ।

‘सेमिफाइनल पुग्नुलाई लक्ष्य पूरा भएको मान्ने पक्षमा म छैन। हामी सफलताको भोको छौँ। यसकारण हाम्रो नजर सेमिफाइनलभन्दा पर छ,’ रेग्रागुई भन्छन्, ‘ब्राजिल जस्तो टिम बाहिरिसकेको छ। यसले पनि यो विश्वकप कति गाह्रो प्रतियोगिता हो भन्ने देखाउँछ। तर हामी डराएका छैनौँ।’

प्रकाशित: २८ मंसिर २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =