मिडफिल्डले डोर्‍याएको क्रोएसिया

हिमाल प्रेस २६ मंसिर २०७९ १२:०८
68
SHARES
मिडफिल्डले डोर्‍याएको क्रोएसिया

विश्वकप क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई हराउँदा नायक बने डोमिनिक लिभाकोभिच। ब्राजिलको पहिलो पेनाल्टी नै असफल बनाइदिएपछि उनको सर्वत्र प्रशंसा भयो। ब्राजिलका चौथो पेनाल्टी प्रहारकर्ता मार्किन्योस पनि असफल भएपछि क्रोएसियाले सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

क्रोएसियाको यो जितमा लिभाकोभिचलाई नायक बनाइनु अनुचित थिएन। उनी यसको हकदार थिए। तर पाँच पटक विश्वकप जितेको ब्राजिललाई पन्छाउँदा क्रोएसियाका तीन मिडफिल्डरको प्रदर्शन पनि अब्बल थियो। कप्तान लुका मोड्रिच, माटियो कोभाचिच र मार्सेलो ब्रोजोभिचले मिडफिल्डमा बलियो साझेदारी गरेपछि ब्राजिलले खेल निर्धारित समयभित्र आफ्नो पक्षमा पार्न सकेन।

हुन त आक्रमण बुन्ने मामलामा ब्राजिल नै अगाडि देखिएको थियो। उसको नाममा ११ ‘सट अन टार्गेट’ रह्यो। जबकि क्रोएसियाको जम्मा एउटा प्रहारले मात्र ब्राजिलियन पोस्टको दिशा लियो। बल नियन्त्रण गर्ने मामलामा पनि क्रोएसियाले ब्राजिललाई टक्कर दिएकै हो। नेयमार, भिनिसियस जुनियर र रफिन्हा जस्ता प्राविधिक रुपमा कुशल खेलाडीलाई रोकेर राख्नु क्रोएसियाका लागि ठूलो सफलता थियो। र यो सफलता ती तीन मिडफिल्डरबिना सम्भव हुने थिएन।

‘मैले धेरै पटक भनिसकेको छु, क्रोएसियाको मिडफिल्ड विश्वकै उत्कृष्ट हो। आज फेरि यो भनाइ दोहोर्‍याउन चाहन्छु। हामीसँग भएका मिडफिल्डरले जस्तो सुकै टिमसँग खेल्दा पनि बल आफ्नो नियन्त्रणमा राख्न सक्छन्। भने जति पास खेल्न सक्छन्। गोलका मौका सिर्जना गर्न सक्छन्। हाम्रो टिमको सबैभन्दा सबल पक्ष भनेकै मिडफिल्ड हो,’ ब्राजिलमाथि जित हात पारेपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने।

आफ्ना प्रशिक्षकको तर्कमा राइटब्याक जोसिप जुरानोभिच पनि सहमत देखिए। ‘हामी सबै खेलाडी आफूमाथि भरोसा राख्छौँ। तर टिमका रुपमा हामी सबैभन्दा बढी भर चाहिँ मिडफिल्डरमाथि नै पछौँ। ब्रोजोभिच, मोड्रिच र कोभाचिचले आफ्नो क्षमता देखाउन सके, हामी जुनै खेल पनि नियन्त्रणभन्दा बाहिर जान दिँदैनौँ। यी तीनकै कारण हामीले ब्राजिललाई रोक्न सकेको हो,’एजुकेशन सिटी रंगशालामा जब्बर खेल देखाएका जुरानोभिचको भनाइ थियो।

युरोपका ठूला क्लबबाट खेल्ने यी तीनले जारी विश्वकपका कुनै खेल गुमाएका छैनन्। उनीहरु बल नियन्त्रणमा राख्न त माहिर छँदैछन्, रक्षापंक्तिलाई हरदम सहयोग गर्छन्। यही कारण हो, क्रोएसियाले हालसम्म जम्मा दुई गोल मात्र खाएको।

मोड्रिच, कोभाचिच र ब्रोजोभिच प्राविधिक र रणनीतिक रुपमा अब्बल छन्। बल आफ्नो पक्षमा नहुँदा उनीहरु अत्तालिँदैनन्। रक्षात्मक बन्नु पर्ने स्थितिमा धैर्य राख्छन्। बल आफूसँग हुँदा सकेसम्म विपक्षीको क्षेत्रमा पुर्‍याउने कोसिस गर्छन्। यी तीनको अनावश्यक रुपमा आफ्नो क्षेत्रमा खेल्ने बानी नभएकाले नै क्रोएसियाले नडराई आक्रमण बुन्न सकिरहेको हो।

४० लाख जनसंख्या भएको क्रोएसियाले विश्वकप जस्ता ठूलो प्रतियोगितामा कसरी उच्चस्तरको प्रदर्शन गर्न सकेको भन्ने प्रश्न उठिरहेको छ। यसको जवाफ हो, टिममा मोड्रिच, कोभाचिच र ब्रोजोभिचको उपस्थिति। रुस विश्वकपमा त अझ इभान राकिटिच पनि थिए। यसपालि उनको अभाव कोभाचिचले खड्किन दिएका छैनन्।

तीन मिडफिल्डरमध्ये सबैभन्दा पछाडि बसेर खेल्ने इन्टर मिलानका ब्रोजोभिच हुन्। मोड्रिच प्लेमेकरको भूमिकामा देखिन्छन्। कोभाचिच भने बक्स–टु–बक्स मिडफिल्डर हुन्।

कप्तान समेत रहेको मोड्रिच ३७ वर्ष पुगिसके। यो उमेरमा उनले जसरी खेलिरहेका छन्, यसलाई सामान्य परिदृश्य मान्न सकिँदैन। रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगामा लगातार दबदबा कायम राख्न सहयोग गरिरहेका उनी राष्ट्रिय टिमका लागि पनि उत्तिकै निर्णायक साबित भइरहेका छन्।

ब्राजिलविरुद्ध सजिलै पेनाल्टी गोल गरेका मोड्रिचबारे प्रशिक्षक डालिच भन्छन्, ‘टिमका लागि उनी जस्तोसुकै भूमिका निर्वाह गर्न तयार हुन्छन्। ब्राजिलविरुद्ध १२० मिनेट खेलेका उनी पेनाल्टीमा सफल भए। उनको खेल शैली देखेर म अचम्ममा पर्छु। उनी कहिल्यै थकित देखिँदैनन्। ३७ वर्षको उमेरमा पनि उत्कृष्ट फुटबलरको कोटिमा पर्नु चानचुने कुरा होइन।’

क्रोएसियाकै रक्षक बोर्ना सोसा त मोड्रिचलाई सर्वकालिन महान् मिडफिल्डरहरूको सूचीमा राख्छन्। ‘३७ वर्षको उमेरमा यसरी खेल्ने मिडफिल्डर विश्व फुटबलले कहिल्यै देखेको थिएन। उनी प्रत्येक वर्ष उही लयमा खेलिरहेका छन्। रियल जस्तो ठूलो क्लबमा उनको स्थान सुरक्षित छ। क्रोएसियाका लागि त उनी झनै महत्त्वपूर्ण छन्,’ सोसाले भने।

क्वार्टरफाइनलमा नेयमार सम्मिलित ब्राजिललाई निराश बनाएको क्रोएसिया अब सेमिफाइनलमा लियोनल मेस्सी कप्तान रहेको अर्जेन्टिनासँग आमनेसामने हुँदैछ। मंगलबार राति लुसेल रंगशालामा हुने यो भिडन्तमा क्रोएसियाको लक्ष्य उही हो, जित। यसका लागि अन्तिमसम्म लड्ने छन् मोड्रिच अनि उनका साथीहरू।

क्रोएसिया यहाँसम्म आइपुग्नुका धेरै कारणमध्ये एउटा हो, जित हासिल गर्ने प्रतिबद्धता र मेहनत। यी दुई चिजलाई छाड्ने पक्षमा छैन क्रोएसिया। ‘प्रतिबद्ध भएर खेल्ने शैली नै हाम्रो बलियो पक्ष हो। हाम्रो टिममा विश्वस्तरीय स्टार छैनन्। हामीसँग बार्सिलोना वा रियल म्याड्रिडमा खेल्ने खेलाडीको समूह छैन। तर हामीलाई त्यसको कुनै प्रवाह छैन,’ सोसा भन्छन्।

जर्मन क्लब स्टुटगार्टबाट खेल्ने २४ वर्षीय सोसालाई विश्वास छ, फेरि एकपल्ट मोड्रिच निर्णायक साबित हुनेछन्। ‘उनी प्रत्येक खेल खेलिरहेका छन्। किनभने उनले खेल्न जरुरी छ। उनका लागि आरामको विकल्प छैन। प्रत्येक सेकेन्ड उनी मैदानमा हुनुपर्छ। आशा छ सेमिफाइनलमा उनको प्रदर्शन निर्णायक हुनेछ,’ सोसाको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =