इंग्ल्यान्डले तोड्न नसकेको निराशाको चक्र

हिमाल प्रेस २५ मंसिर २०७९ १४:१०
44
SHARES
इंग्ल्यान्डले तोड्न नसकेको निराशाको चक्र

इंग्ल्यान्डका लागि फेरि एक पटक विश्वकप निराशाजनक बनेको छ। कतिपयले भन्लान्, इंग्ल्यान्डको नियति सधैँ यस्तै हो। जे होस् इंग्ल्यान्डले गतिलो मौका गुमाएको पक्का हो। पेनाल्टीमा चुकेपछि कप्तान ह्यारी केनले हात टाउकोमा राखेको दृश्यको सन्देश यही थियो।

क्वार्टरफाइनलमा फ्रान्ससँग व्यहोरेको यो हारको सम्झना इंग्ल्यान्डले अबका कयौँ वर्ष गरिरहनेछ। उसो त इंग्ल्यान्डले विश्वकप जस्तो ठूलो मञ्चमा अवसर गुमाएको यो पहिलो पटक होइन। बलियो सुरुवात गर्ने, आशा जगाउने र आखिरमा निराश पार्ने, यो इंग्ल्यान्डले निर्माण गरेकाे चक्र हो।

कतारी सहर अल खोरस्थित अल बेट रंगशालामा फ्रान्सलाई इंग्ल्यान्डले आतिरिक्त समयतिर लतार्न सक्थ्यो। तर यो सम्भावना केनले पेनाल्टी खेर फालेसँगै अन्त्य भयो। जबकि उनै केनले पेनाल्टीमै गोल गरेपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो। ५४ औँ मिनेटमा उनले गोल गरे, ७८ औँ मिनेटमा ओलिभर जिरुडले फ्रान्सको अग्रता पुनः स्थापित गरे। खेल यसैगरी अघि बढ्दै थियो। केनसामु दोस्रो पटक पेनाल्टीको अवसर आइपुग्यो। तर यसपालि उनी चुके।

इंग्ल्यान्डको इतिहासमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने केन आलोचनाको सिकार पक्कै बन्ने छन्। आलोचितको सूचीमा उनी एक्लो हुने छैनन्। उनका गुरु ग्यारेथ साउथगेटले पनि आलोचना थेग्नु पर्नेछ। ५२ वर्षीय साउगथेग इंग्ल्यान्डको इतिहासमा सबैभन्दा सफल प्रशिक्षक हुन्। भलै उनले केही जिताएका छैनन्।

तर इंग्लिस टिमलाई विश्वकप २०१८ को सेमिफाइन र युरो २०२० को फाइनलमा पु¥याएकाले उनलाई सफल प्रशिक्षक भन्न करै लाग्छ। कतारमा जारी विश्वकप साउथगेटका लागि तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। अब उनी चौथोका लागि तयार छन् वा छैनन्, उनले प्रस्ट पारेका छैनन्।

इंग्लिस समर्थकले यो हारका कारण खोजिरहेका छन्। अनि केही खलनायक पनि। खलनायकको सूचीमा ब्राजिलियन रेफ्री विल्टन साम्पाइयोलाई पनि राखिएको छ। इंग्ल्यान्डलाई दुई पटक पेनाल्टीको अवसर दिने रेफ्री नै खलनायक? यसमा इंग्लिस समर्थकको तर्क छ, फ्रान्सले गरेको पहिलो गोलले मान्यता पाउनु हुँदैन थियो। किनभने फ्रान्सको मुभ बुकायो साकालाई फउल गरेर सुरु भएको थियो। तर साम्पाइयोले इंग्लिस खेलाडीको जिकिर सुनेनन्। न त भीआएरले नै केही भन्यो।

इंग्लिस समर्थकको असन्तुष्टि यतिमै सकिँदैन। आफ्ना कप्तानलाई फ्रेन्च खेलाडीले बक्सभित्र फउल गर्दा पनि पेनाल्टी नदिइएको उनीहरुको दाबी छ। बरु ती रेफ्रीले फउल नभएका बेला पनि फ्रान्सलाई फ्रिकिकका अवसर दिएको पराजित टिमका समर्थकको आरोप छ।

महत्त्वपूर्ण खेल हार्दा समर्थकले यस्ता आरोप लगाउनु सामान्य नै हो। तर यस्त आरोपले एउटा तथ्यलाई चाहिँ ओझेलमा पार्न सक्दैन। त्यो हो, इंग्ल्यान्डले फेरि एकपटक सुवर्ण अवसर गुमाएको छ।

कतारमा विश्वकप सुरु भएको झन्डै तीन साता भयो। योबीचमा जति खेल भए, तिनको विश्लेषण गर्दा यसो भन्न सकिन्छ, फ्रान्स सबैभन्दा सन्तुलित टिम हो। उसले आफ्नो विश्वकप यात्रालाई नियन्त्रणमा राखेको छ। ट्युनिसियासँगको हारलाई छाड्ने हो भने फ्रान्स सजिला जित दर्ता गर्दै यहाँसम्म आइपुगेको हो।

हुन त अर्जेन्टिना पनि फ्रान्स जत्तिकै बलियो दाबेदार हो। तर उसले विश्वकप अभियानमा अप्ठ्यारा तगारा पन्छाउनु परेको छ। बरु ब्राजिलको प्रदर्शनमा फ्रान्सको झल्को थियो। तर क्रोएसियासँगको हारले उसको बलियो लयलाई बिर्साइदियो। पोर्चुगलको खेल त क्रिस्टियानो रानोल्डोका कारण छाँयामा परिहाल्यो। अब मोरोक्को नयाँ शक्तिका रुपमा उदाएको छ। उसको पछाडि समस्त अफ्रिका र अरब समुदाय छन्। उता नेदरल्यान्ड्सप्रति त्यति धेरै भरोसा थिएन। अमेरिकासँगको बराबरीले इंग्ल्यान्डको स्तरमाथि प्रश्न उठेको देखेकै हो।

समूह चरणमा फ्रान्सले दुई खेल जित्यो। सरासर ६ अंक बटुलेका कारण फ्रान्सलाई ट्युनिसियासँगको हारले केही फरक पारेन। न त यो हारलाई फ्रान्सभित्र वास्ता गरियो। त्यसपछि अन्तिम १६ मा पोल्यान्डमाथिको त्यो जित अपेक्षित नै थियो।

इंग्ल्यान्डसँगको क्वार्टरफाइनल भिडन्तलाई लिएर भने अत्यधिक चर्चा भयो। र यो जरुरी पनि थियो। किनभने युवा इंग्लिस खेलाडी फ्रान्सलाई हारको स्वाद चखाउन सक्षम भएको विश्वास थियो। यसकारण फ्रान्स सुरुबाटै संयमित देखियो। १७ औँ मिनेटमा अउरेलियन टुचमनीले अग्रता दिलाएपछि भने फ्रान्स अलमलियो। फ्रेन्च खेलाडी अचानक ऊर्जाविहीन देखिन थाले। मानौँ कि, इंग्ल्यान्डले तिनलाई आफू हार्ने जनाउ दिइसक्यो।

इंग्ल्यान्ड खेलमा हाबी हुँदै जाँदा रक्षात्मक बनेको फ्रान्स गोलको अवसर सिर्जना गर्नेभन्दा विपक्षीको गल्ती पर्खने मुडमा देखियो। तर दुर्भाग्यवश गल्ती आफैँले ग¥यो। टुचमनीले साकामाथि फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पायो। त्यसलाई केनले गोलमा परिणत गरे।

बराबरी गरेपछि इंग्ल्यान्डले खेल आफ्नो वशमा पार्ने अनुमान हुन थाल्यो। गोल खाएपछि पनि फ्रेन्च प्रशिक्षक डिडियर डेस्चाम्प्स बलपूर्वक खेल आफ्नो अधीनमा ल्याउने पक्षमा देखिएनन्। यो परिस्थितिमा इंग्ल्यान्डले सोच्यो, मौका यही हो खेल जित्ने।

उसो त यो खेल इंग्ल्यान्डका लागि अवसर थियो, आफ्नो क्षमता देखाउने। साउथगेट आफैँले पनि भनेका थिए, ‘हामी विश्व फुटबलका एलिट टिमसँग भिड्न तयार छौँ। विश्व विजेतालाई हराउन तयार छौँ’ मोरोक्को र पोर्चुगलबीचको क्वार्टरफाइन सकिइसकेकाले साउथगेट सायद उत्साहित भएका थिए। उनको मनमा मोरोक्कोसँगको ‘सजिलो’ सेमिफाइनल जितेर उपाधि नजिक पुग्ने लालसाले जरा गाडिसकेको थियो। फेरि यो लालसा गलत थिएन, स्वाभाविक थियो।

लालसा पूरा गर्न नसकेकोमा साउथगेट, केन र बाँकी इंग्लिस खेलाडीको मन पोल्ने नै छ। यो थकथकीले उनीहरुको मस्तिष्कलाई केही समय बाँधेर राख्नेछ।

दोस्रो पेनाल्टी खेर फोलेकोमा केनलाई साउथगेटले आलोचना गरेका छैनन्। उल्टै केन टिमको सबैभन्दा भरपर्दा पेनाल्टी प्रहारकर्ता रहेको बताएका छन्। ‘उनी बाँकी भन्दा अब्बल हुन्,’ साउथगेटले भने। यद्यपि केनको क्षमतामाथि ह्युगो लोरिसले प्रश्न उठाइदिए। ‘केन दबाबमा थिए। दबाबमा पेनाल्टी प्रहार गर्दा गोल नहुन सक्छ। फेरि उनी यस्तो गोलरक्षकका अगाडि थिए, जसले उनलाई राम्रोसँग चिन्छन्,’ साउथगेटले आफ्ना कप्तानको रक्षामा भनेका छन्।

केनको प्रहार बारभन्दा माथि उडेसँगै इंग्ल्यान्डको पर्खाइ चार वर्षका लागि लम्बिएको छ। बल जालीभित्र नभई अन्तै पुगेको थाहा पाउन साथ केनको मुहारमा निराश छाइहाल्यो। उनले जर्सी टोक्दै गर्दा लोरिस भने खुसीयाली मनाइरहेका थिए। फ्रान्सका बाँकी खेलाडी उनलाई अँगालो हाल्न प्रतिस्पर्धामा उत्रिए। एक वर्षअघि लोरिस टोटनहम पुग्दै गर्दा केनले यो दृश्यको सायदै परिकल्पना गरेका थिए।

जे होस् फ्रान्स इतिहास रच्ने संघारमा पुगेको छ। ऊ लगातार दोस्रो पटक विश्वकप जित्ने टिम बन्नसक्छ। हुन त विश्वकप सुरु हुनुअघि नै फ्रान्सले यसो गर्नसक्छ भनेर अनुमान गरिएकै हो। इंग्ल्यान्डलाई भने असह्य पीडा भइरहेको हुनुपर्छ। किनभने इंग्ल्यान्ड विश्व विजेतासँग मज्जाले भिडेकै हो। उसमा त्यस टिमलाई हराउने विश्वास पनि भरिएकै हो। तर आखिरमा विश्वास अनुकूल नतिजामा परिणत भएन।

प्रकाशित: २५ मंसिर २०७९ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =