अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल हेर्न गएका एक पत्रकारको निधन

हिमाल प्रेस २४ मंसिर २०७९ ९:१५
16
SHARES
अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल हेर्न गएका एक पत्रकारको निधन ग्रान्ट वाल

काठमाडौँ- विश्वकपको क्वार्टरफाइनल खेलको रिपोर्टिङ गर्न लुसेल रंगशाला पुगेका एक अमेरिकी पत्रकारको निधन भएको छ। शुक्रबार राति अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल हेर्दै गर्दा ग्रान्ट वाललाई हृदयघात भएको बताइएको छ।

प्रेस बक्समा बसेर आतिरिक्त समयको खेल हेरिरहेका बेला उनी भुईमा ढलेका थिए। त्यसपछि प्रेसबक्समा रहेका अन्य पत्रकारले तत्कालै मेडिकल टिमलाई खबर गरेका थिए। अचेत अवस्थामा रहेका उनलाई त्यसपछिको २० मिनेटसम्म सीपीआर दिइएको र थप उपचारका लागि अस्पताल लगिएको थियो। उनको मृत्यु अस्पताल पुर्‍याएपछि भयो वा बाटोमै भयो भन्नेबारे केही खुलाइएको छैन।

४९ वर्षीय वाल अमेरिकी टेलिभिजन च्यानल नेटवर्क सीबीएससँग आबद्ध थिए। उनको निधनको पुष्टि श्रीमती सेलिन गाउन्डरले गरेकी छन्। पेशाले चिकित्सक रहेकी गाउन्डरले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्ना पतिको निधन भएको बताएकी हुन्।

अमेरिकी फुटबल संघले विज्ञप्ती निकाल्दै अमेरिकामा फुटबलप्रति बढीभन्दा बढी मान्छेको रुचि जगाउने काम गर्दै आएका वालको निधनबाट समस्त अमेरिकी फुटबल जगत दुःखी भएको जनाएको छ।

कतारमा विश्वकप सुरु भएसँगै वाल चर्चामा आएका थिए। समलैंगिकको समर्थनमा ‘रेन्बो’ टिसर्ट लगाएर अहमद बिन अली सलमान रंगशालामा प्रवेश गर्ने क्रममा उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

भाई एरिकका अनुुसार त्यस घटनापछि ग्रान्ट वालले विभिन्न किसिमका धम्की सहनु परेको थियो।

द गार्डियनको सहयोगमा

प्रकाशित: २४ मंसिर २०७९ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =