लुम्बिनी प्रदेश राजधानी दाङमा नसार्न कांग्रेस र एमालेको माग

हिमाल प्रेस १८ मंसिर २०७९ १९:०१
12
SHARES
लुम्बिनी प्रदेश राजधानी दाङमा नसार्न कांग्रेस र एमालेको माग फाइल तस्बिर।

बुटवल– लुम्बिनी प्रदेश राजधानी दाङमा नसार्न नेपाली कांग्रेस र नेकपा एमालेले माग राखेका छन्। दाङमा राजधानीका लागि आवश्यक कार्यालय भवन र संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले माग राखेका हुन्।

कांग्रेस र एमाले रुपन्देहीले आइतबार छुट्टा-छुट्टै विज्ञप्ति जारी गर्दै दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न माग राखे आग्रह गरेका छन्। पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूको भनाइ छ।

संरचना निर्माण भएपछि नयाँ बन्ने सरकारलाई राजधानी सार्ने जिम्मवारी दिइनुपर्ने कांग्रेसले माग राखेको छ। कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन्।

यस्तै एमाले जिल्ला कमिटी रुपन्देहीले पनि विज्ञप्तिमार्फत अस्थायी मुकाम बुटवलमा सुविधासम्पन्न कार्यालय, संसद् भवन र कर्मचारीको आवास व्यवस्थित रहेका अवस्थामा कुनै संरचना नै नभएको दाङमा जबरजस्ती राजधानी सार्नु गलत कदम भएको ठहर गरेको छ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट हतारमा सार्ने प्रदेश सरकारको निर्णय गलत भएको जनाएका छन्। कामचलाउ अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले नयाँ सरकार गठन नहुँदै बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारी विरोधमा उत्रिएका छन्।

स्थायी राजधानी देउखुरीमा पर्याप्त संरचना तयार नहुँदै मन्त्रालय सार्दा समस्या हुने बताउँदै कर्मचारीले सामूहिक रूपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। यसअघि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले दाङको देउखुरी उपत्यका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारमा लुम्बिनी प्रदेश राजधानी सार्ने निर्णय गरेको थियो।

प्रकाशित: १८ मंसिर २०७९ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =