विश्वकपबाट बाहिरिनु ‘हरर मुभी’ हेरे जस्तो : काई हाभर्ट्स

हिमाल प्रेस १६ मंसिर २०७९ १०:०६
22
SHARES
विश्वकपबाट बाहिरिनु ‘हरर मुभी’ हेरे जस्तो : काई हाभर्ट्स

काठमाडौँ- जर्मनीका फरवार्ड काई हाभर्ट्सले विश्वकपबाट बाहिरिनु ‘हरर मुभी’ हेरेसरह भएको प्रतिक्रिया दिएका छन्। बिहीबार राति कोस्टारिकामाथिको जितका बाबजुद जर्मनी नकआउट चरणमा पुग्न नसकेपछि हाभर्ट्सले यस्तो प्रतिक्रिया दिएका हुन्।

जर्मनीले समूह चरणको अन्तिम खेलमा कोस्टारिकालाई ४–२ ले पराजित गर्‍यो। तर गोल अन्तरमा स्पेनसँग पछि परेपछि समूह ‘एफ’ को तेस्रो स्स्थानमा सीमित भयो।

अनिवार्य जितको लक्ष्यसहि अल बेट रंगशालमा उत्रिएको जर्मनीका लागि हार्भट्स आफैँले दुई गोल गरेका थिए। उनले दोस्रो हाफमा जर्मनीलाई बराबरीमा पुर्‍याएका थिए। त्यसपछि उनकै गोलकै कारण जर्मनीले अग्रता कायम गरेको थियो।

‘हामी जसरी बाहिरिएका छौँ, यो हरर मुभी हेरे जस्तै मसुसस भइरहेको छ। खेलको बीचमै हामीले थाहा पाएका थियौँ, जापान स्पेनभन्दा अगािड छ भनेर। यद्यपि स्पेनले जित्छ भन्ने विश्वास थियो। तर खेल सकिँदाद जापान विजयी भएको थाहा पाएपछि निराश भयौँ,’ हाभर्ट्सले भने।

पहिलो खेलमा जापानसँग हारेको जर्मनीले दोस्रो खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको थियो। नकआउट चरणमा पुग्न तेस्रो खेलमा कोस्टारिकालाई हराउनै पर्ने बाध्यतामा रहेको जर्मनीलाई आशा थियो स्पेनले जापानलाई पन्छाउनेछ। जर्मनी आफ्नो लक्ष्यमा सफल त भयो तर स्पेनले आशा गरे अनुसारको नतिजा निकाल्न सकेन।

जसकारण जर्मनी र स्पेनले समूह चरण चार–चार अंक बटुलेर टुंग्याए। जापान ६ अंकसहित पहिलो स्थानमा रह्यो। दुई पूर्वविजेताको अंक बराबर भएपछि गोल भिन्नताले नकआउट चरणमा पुग्ने दोस्रो टिमको टुंगो लगाएको हो।

पहिलो हाफको १० औँ मिनेटमा सर्ज गानाब्रीले गोल गरेर जर्मनी अघि बढे पनि कोस्टारिका दोस्रो हाफमा खेलमा फर्किएको थियो। येल्टसिन टेजेडाले ५८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए। त्यसपछि जर्मनीका गोलरक्षक म्यानुएल नुएरले आत्मघाती गोल गरेर कोस्टारिका २–१ ले अघि बढ्न दिए।

थोमस मुलरको स्थानमा मैदानमा प्रवेश गरेका हाभर्ट्सले जर्मनीको उद्दार गरे। उनले ७३ र ८५ औँ मिनेटमा गरेको गोलले जर्मनी जिततर्फ अग्रसर बनेको थियो। ८९ औँ मिनेटमा निकलस फुलकर्गले गोल गरेपछि जर्मनीको जित निश्चित भयो। तर नकआउट चरणमा पुग्ने लक्ष्य भने असफल नै रह्यो।

हाभर्ट्सले जापानसँग हार्नु नै विश्वकपबाट बाहिरिनुको मुख्य कारण भएको बताए। उनले जर्मन फुटबल सही दिशामा नरहेको पनि विचार राखे। ‘विश्वकपम हामी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएका छौँ। गत युरोमा अन्तिम १६ कट्न सकेनौँ। इमान्दार भएर भन्नुपर्छ, चार वष भयो हामीले खराब प्रदर्शन गरिरहेका छौँ। मलाई लाग्छ हामी कुनै प्रतियोगिताको उपाधि दाबेदार अब रहेनौँ,’ हाभर्ट्सले भने।

प्रकाशित: १६ मंसिर २०७९ १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =