विश्वकपमा उत्तीर्ण अफगानिस्तान

हिमाल प्रेस २५ कार्तिक २०८० ७:१९
14
SHARES
विश्वकपमा उत्तीर्ण अफगानिस्तान

काठमाडौँ- अफगानिस्तानले विश्वकप यात्रा दक्षिण अफ्रिकासँग हारेर टुंग्याएको छ। समूह चरणबाट घर फर्किंन लागेको अफगानिस्तान अन्ततः छैटौँ स्थानमा रह्यो। शुक्रबारको पराजयका कारण अफगानिस्तानको सेमिफाइनल लक्ष्य पूरा भएन।

सेमिफाइनल पुग्नबाट वञ्चित भए पनि अफगानिस्तानका लागि यो विश्वकप सम्झनलायकको रह्यो। यसअघिका दुई विश्वकपमा एक खेल मात्र जितेको अफगानिस्तानले भारतीय भूमिमा चार जित दर्ता गर्‍यो।

पाकिस्तान, श्रीलंका र इंग्ल्यान्ड जस्ता पूर्वविजेतालाई हराएर सनसनी मच्चाएको अफगानिस्तान शुक्रबार भने दक्षिण अफ्रिकासँग पाँच विकेटले पराजित भयो। सेमिफाइनल पुग्न अफगानिस्तानले ४३८ रन बनाउन आवश्यक थियो। तर अफगानिस्तान २४४ रनमा अलआउट भयो।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ९७ रन बनाए। यसअघि नै सेमिफाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले १५ बल बाँकी छँदा लक्ष्य भेटेको थियो।

भारतबाट फर्कंनै लाग्दा अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले आफ्नो टिमको समग्र प्रदर्शनमा प्रसन्‍नता व्यक्त गरेका छन्। इंग्ल्यान्डका पूर्वब्याट्सम्यान ट्रोटले अफगान खेलाडीहरूको भविष्य उज्वल रहेको पनि बताएका छन्।

‘यी खेलाडीको प्रतिभामाथि मैले पनि शंका गरिनँ। तर प्रतिभा भएर मात्र हुँदैन, मैदानमा त्यस अनुसारको प्रदर्शन पनि हुनुपर्छ। नत्र प्रतिभा प्रमाणित हुनसक्दैन,’ ट्रोटले भने, ‘अफगानिस्तानले केही खेल जित्न आवश्यक थियो, ताकि उत्साह छाओस्। हामीले उत्साह सिर्जना गर्न सक्यौँ। विश्वकपमा खेल कसरी जित्ने, बाटो पहिल्याउन पनि सकियो।’

अफगानिस्तानलाई सधैँ स्पिनरहरूको टिम मानिँदै आइएको छ। यसको कारण रशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमान जस्ता बलर हुन्। रशिदले यसपालि ११ विकेट लिए। तर यो विश्वकपमा ब्याट्सम्यानको प्रदर्शन पनि उम्दा रह्यो। इब्राहिम जार्दानले तब शतक नै बनाए। विश्वकपमा शतक प्रहार गर्ने उनी पहिलो अफगान खेलाडी हुन्।

जार्दानले नौ इनिङ्समा कुल ३७६ रन बनाए। यो विश्वकपमा अफगानिस्तानका लागि सबैभन्दा बढी रन बनाउने उनी नै हुन्। जसले उनलाई सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पुर्‍याएको छ। जुन सूचीमा भारत, दक्षिण अफ्रिका, अस्टे«लिया र न्युजिल्यान्ड जस्ता टिमका खेलाडीको बर्चस्व छ।

‘सबैभन्दा बलियो पक्ष बलिङ हो भनिने गरेको टिमले यत्तिको रन बनाउन सकिरहेको छ। यसको अर्थ यही हो, जितका लागि अफगानिस्तान बलिङमा मात्र भर पर्नु पर्दैन,’ ट्रोटले भने।

यसपल्टको विश्वकपमा अफगानिस्तानका केही युवा खेलाडीले गतिलो छाप छाडे। ती हुन्, स्पिनर नुर अहमद र फास्ट बलर नवीन उल हक। ‘अहिले अफगान क्रिकेटमा स्तरीय खेलाडीको संख्या बढेको छ। नाम चलेका र अनुभवी खेलाडी पनि थुपै्रै छन्। जसलाई ढुक्कसाथ टिममा बोलाउन सकिन्छ। नवीन त्यसको उदाहरण हुन्,’ ट्रोटको भनाइ थियो, ‘जे होस्, अफगान क्रिकेटको भविष्य उज्वल छ। हामी प्रशिक्षक र व्यवस्थापन समूहको जिम्मेवारी यही हो, यी खेलाडीलाई सही दिशामा अघि बढाउने।’

यसपालिको विश्वकपमा अफगानिस्तानका हरेक जित रोमाञ्चक रहे। ती सबै खेलमा अफगान टिम उत्कर्षमा रह्यो। तर सबैभन्दा सम्झनलायकको चाहिँ पाकिस्तानको जित थियो। यहाँ सम्झिनुपर्ने तथ्य के छ भने, अफगानिस्तानका धेरै खेलाडीले क्रिकेट पाकिस्तानमै सिकेका हुन्।
लाखौँ अफगान पाकिस्तानका विभिन्न सहरमा शरणार्थी भएर बसेका छन्। अहिले चम्किरहेका खेलाडीहरुले ब्याट समात्न सिकेको शरणार्थी शिविर मै हो।

त्यसोभए क्रिकेटमा अफगानिस्तान र पाकिस्तानबीच किन यो स्तरको प्रतिद्वन्दितारु यसको सरल जवाफ हो राजनीतिक सम्बन्ध। सत्तामा तालिवान फर्कंदा पनि अफगानिस्तानले पाकिस्तानसँग सम्बन्ध न्यानो बनाउन सकेको छैन।

सन् २०१९ को विश्वकपमा अफगानिस्तानले समूह चरणका सबै नौ खेल हारेको थियो। यस्तोमा यो विश्वकप अफगानिस्तानका लागि कठिन परीक्षा थियो। ‘हामीलाई यो परीक्षा पार गर्नु थियो। चार खेल जित्नु भनेको परीक्षा पार गर्नु हो। पाकिस्तानलाई हराउन सकेपछि अफगान खेलाडीका लागि यो विश्वकप झनै विशेष बन्यो। अफगान खेलाडीको मुहारमा चमक नै भिन्दै खालको थियो। त्यो क्षण त म जीवनभर कहिल्यै बिर्सने छैन,’ ट्रोटले भने।

प्रकाशित: २५ कार्तिक २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =