सुदूरपश्चिममा गठबन्धनको सरकार, मुख्यमन्त्रीमा ६ आकांक्षी

पदमराज भट्ट १५ मंसिर २०७९ १६:३९
8
SHARES
सुदूरपश्चिममा गठबन्धनको सरकार, मुख्यमन्त्रीमा ६ आकांक्षी

धनगढी- सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक अन्य जिल्लाको मतगणना सकिएको छ। प्रदेशको प्रत्यक्षतर्फ ३० मध्ये सत्ता गठबन्धनले २१ ठाउँमा जितेको छ। यो भनेको गठबन्धनलाई सरकार बनाउन सुविधाजनक बहुमत हो।

प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ११ सिट, नेकपा (माओवादी) केन्द्रले ८ र नेकपा (एस)ले २ स्थानमा जित हात पारेका छन्। अझै बाजुराको दुई क्षेत्रको नतिजा आउन बाँकी छ। यहाँ प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३ र स्वतन्त्र एक जनाले जितेका छन्।

समानुपातिकतर्फको २१ सिटमध्ये पनि बढी सिट गठबन्धनकै भागमा पर्ने मतपरिणामले देखाएको छ।

हालसम्म गणना भएको ८ लाख ३८ हजार ८९४ समानुपातिक मतमध्ये एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार ३९, माओवादी केन्द्रले १ लाख १८ हजार ९०३, नेकपा (एस)ले ४१ हजार ८३९ मत पाएका छन्।

समानुपातिकतर्फ एमाले अगाडि भए पनि गठबन्धन दलको जोड्दा धेरै सिट गठबन्धनकै भागमा पर्ने देखिन्छ। त्यसो हुँदा सुदूरपश्चिममा गठबन्धन दलको बहुमतको सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेस वा माओवादी केन्द्रमध्ये एउटाले गर्नेछ।

मुख्यमन्त्रीको दौडमा ६ जना

५३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फको अन्तिम मतपरिणाम नआउँदै सरकार गठनका लागि गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ। जबकि प्रदेश सरकार गठनका लागि २७ जना भए पुग्छ।

स्पष्ट बहुमत पुग्ने भएपछि मुख्यमन्त्री बन्न अहिले नेताहरूबीच निकै रस्साकस्सी चलेको छ। मुख्यमन्त्रीका लागि गठबन्धनबाटै ६ जना (कांग्रेसबाट ५ र माओवादीबाट १) आकांक्षी देखिएका छन्।

कांग्रेसबाट सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरासहित मुख्यमन्त्रीका दाबेदार थिए। तर मुख्यमन्त्रीको दौडमा रहेका रावल र बोहराले पराजय बेहोरेपछि उनीहरू ‘रिङआउट’ भएका छन्।

अहिले कांग्रेसमा कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, अछामका मेघराज खड्का र दार्चुलाका विक्रमसिंह धामीको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ।

संविधानसभा सदस्यसमेत रहिसकेकाले कञ्चनपुरका थापा र विष्टलाई प्रदेशमा झर्दा मुख्यमन्त्रीका मुख्य दाबेदारका रूपमा हेरिएको छ। कैलालीका देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेकाले उनको नाम पनि मुख्यमन्त्रीका लागि चर्चामा छ। अछामका खड्का कांग्रेस सुदूरपश्चिमका महामन्त्री हुन्। दार्चुलाका धामी २०७४ को चुनावमा प्रतिनिधिसभा सदस्यको दौडमा रहँदा हारेका थिए।

मुख्यमन्त्रीका आकांक्षीमध्येका एक बहादुरसिंह थापा शीर्ष तहका नेताहरूको छलफल र समझदारीअनुसार प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगिने बताउँछन्। तर कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरूभन्दा आफू ‘सिनियर’ भएकाले मुख्यमन्त्रीमा प्रमुख दाबी रहनु स्वाभाविक भएको उनको भनाइ छ।

‘अहिले अरू पार्टीसँग पनि गठबन्धन भएकाले प्रदेशको नेतृत्व कसले गर्ने भन्ने कुरा नेताहरूबीच छलफल भएर तय हुने हो,’ थापाले भने, ‘हिस्सेदारी पनि होला, कांग्रेसको कुरा गर्दा सिनियर नेताका हिसाबले मुख्यमन्त्रीमा मेरो स्वाभाविक दाबी हुन्छ।’

थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुन्। २०७४ को चुनावमा उनी नेकपा एमालेका लालबहादुर खड्कासँग प्रदेशसभामा पराजित भएका थिए।

अर्का आकांक्षी दिवानसिंह विष्ट पार्टी र गठबन्धनका शीर्ष नेताहरूसँगको समझदारीअनुसार नै प्रतिनिधिसभा माओवादीलाई छाडेर प्रदेशसभाको चुनाव लडेको बताउने गरेका छन्। ‘मेरो पार्टी र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूसँगको समझदारीमै म प्रदेशसभाको चुनाव लडेको हुँ, त्यसो हुँदा मुख्यमन्त्रीमा मेरो स्वाभाविक दाबी रहन्छ,’ विष्टले भने, ‘दुई–दुई पटक प्रतिनिधिसभा चुनाव लडेर सांसद भइसकेको मलाई उहाँहरूले समझदारीअनुसार जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ।’

२०७० सालमा संविधानसभा सदस्य चुनावमा माओवादी केन्द्रकी बिना मगरलाई पराजित गरेका विष्ट पनि मुख्यमन्त्री बन्ने अभिलाषा राखेर नै प्रदेशसभाको चुनाव लडेका थिए। उनी २०७४ को चुनावमा भने मगरसँग पराजित भएका थिए।

कैलाली–२ को १ बाट प्रदेशसभामा निर्वाचित कमल शाह आफू मुख्यमन्त्रीको प्रबल दाबेदार भएको बताउँछन्। ‘मैले चुनावदेखि नै सार्वजनिक रूपमा मुख्यमन्त्रीमा आफ्नो दाबी रहने कुरा बताउँदै आएको छु,’ शाहले भने, ‘प्रदेश सरकारको नेतृत्वका लागि म प्रबल दाबेदार हुँ।’ शाहले संसदीय दलको नेता चयनलगायतका अन्य प्रक्रिया चल्दै गर्ने तर मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन्।

नेकपा माओवादी केन्द्रमा भने डडेल्धुराबाट निर्वाचित खगराज भट्ट निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको नेताहरू बताउँछन्। हाल निर्वाचन जितेकामध्ये उनै सबैभन्दा ‘सिनियर’ भएकाले भट्टलाई मुख्यमन्त्री बनाउने कुरामा दुई मत नभएको माओवादीका एक नेताले बताए। ती नेताका अनुसार मुख्यमन्त्री बनाउने सर्तमा नै भट्टले डडेल्धुराको प्रतिनिधिसभामा शेरबहादुर देउवालाई छाडेका हुन्।

भट्ट स्वयंले पनि गठबन्धनका नेताहरूबीचको सहमतिअनुसार आफू अगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए। प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि नै आफू प्रदेशसभाको चुनाव लड्न तयार भएको उनले बताउने गरेका छन्। भट्टले चुनाव अघि भनेका थिए, ‘त्यो स्वाभाविक हो। हामी राम्रो मत प्राप्त गरेर गठबन्धनसहित चुनाव जित्छौं, सबै प्रकारले छलफल चलेको छ।’

नेकपा (एस)बाट भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका दीर्घबहादुर सोडारीले पनि मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन्। उनी कैलाली–४ को प्रदेशसभा (१) बाट पुनः निर्वाचित भएका छन्।

यसरी हेर्दा सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि गठबन्धन दलबीच निकै चर्काचर्की पर्ने देखिएको छ। तर, गठबन्धनमा केन्द्रदेखि प्रदेशसम्म कसरी भागबण्डा मिल्छ भन्ने कुराले नै सुदूरपश्चिमको आगामी नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =