उपराष्ट्रपति पाउने निश्चित नहुँदै माओवादीमा ‘बार्गेनिङ’ र अस्वीकार

हिमाल प्रेस १४ पुष २०७९ १६:१३
510
SHARES
उपराष्ट्रपति पाउने निश्चित नहुँदै माओवादीमा ‘बार्गेनिङ’ र अस्वीकार

काठमाडौँ- सत्ता गठबन्धनको सहमतिअनुसार नेकपा एमालेले राष्ट्रपति पाउने लगभग निश्चित छ। यद्यपि एमालेबाट राष्ट्रपति को बन्ने भन्ने टुंगो लागेको छैन। उपराष्ट्रपति भने सत्ता साझेदार कुनै दलले पाउने भन्ने भागबण्डा नमिल्दै नेकपा माओवादी केन्द्रभित्र आकांक्षी बढेका छन्।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरिबोल गजुरेललाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेपछि नेताहरू आफ्नै दलले उपराष्ट्रपति पाउने भन्दै आकांक्षा बढाएका हुन्। गठबन्धनमा जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिको दाबी गर्दै आएको छ। तर कसैले आकांक्षा देखाएका छैनन्।

माओवादी केन्द्रमा आधा दर्जन अनुहार उपराष्ट्रपतिका दाबेदार छन्। संविधानतः राष्ट्रपति र उपराष्ट्रपति ‘फरक लिंग वा समुदायको’ हुनुपर्नेछ। यही कारण माओवादीमा उपराष्ट्रपति पदमा जटिलता देखिएको छ। एउटै लिंग वा समुदाय भए असंवैधानिक हुने भएकाले पनि खुलेर कसैले दाबी गरेका छैनन्। उपराष्ट्रपतिका लागि माओवादीमा अर्को अन्योल महिला कि पुरुष भन्नेमा छ।

माओवादीबाट उपराष्ट्रपतिमा ओनसरी घर्ती, जयपुरी घर्ती, उर्मिला अर्याल, पूर्णाकुमारी सुवेदी, दीनानाथ शर्मा, लीलामणि पोखरेल आकांक्षी छन्। पार्टी उपमहासचिव वर्षमान पुनले ओनसरी घर्तीलाई अघि सारेर बार्गेनिङ गरेको माओवादीका एक नेता बताउँछन्।

पुनको प्रस्तावलाई उपराष्ट्रपति पदमा ‘आफ्नो मान्छे च्याप्न खोजेको’ भन्दै विवाद बढेको हो। पूर्वसभामुखसमेत रहेकी घर्ती पुनकी पत्नी हुन्। घर्ती प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र २ बाट पराजित भएकी थिइन्।

वर्षमान ओनसरीलाई उपराष्ट्रपति बनाउनुपर्ने र नभए आफूलाई शक्तिशाली मन्त्रालय दिनुपर्ने अडानमा रहेको माओवादीका ती नेताले बताए। ‘वर्षमानजी सरकारमा जाने निश्चित छ। तर आफैँ बार्गेनिङ गरेर बस्नु भा छ,’ ती नेताले भने, ‘उहाँ पछिल्लो समय त रवि लामिछाने पछिको वरीयतामा जाँदै नजाने अडानमा हुनुहुन्छ।’

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। उनीभन्दा माथिल्लो वरीयतामा वर्षमानलाई लैजाने सम्भावना नभएकाले ओनसरीलाई अघि सारेको ती नेताको भनाइ छ। पार्टीभित्र नयाँ मान्छेले जिम्मेवारी पाउनुपर्ने आवाज पनि छ। ओनसरी सभामुख र पटकपटक सांसद समेत बनेकी हुन्। उनलाई नै उपराष्ट्रपति बनाउँदा पार्टीमा असन्तिुष्ट बढ्ने देखिएको छ।

माओवादीमा उपराष्ट्रपतिका लागि पूर्णाकुमारी सुवेदीले पनि दाबी गरेकी छन्। उपसभामुख बनिसकेकी उनले पनि यसपटक उपसभामुखमा आकांक्षा व्यक्त गरेकी हुन्। जयपुरी घर्ती र उर्मिला अर्यालले पनि पार्टी नेतृत्वसँग उपराष्ट्रपतिको दाबी गर्दै आएका छन्।

जयपुरी जनयुद्ध लडेकी नेत्री भए पनि माओवादीभित्र कम जिम्मेवारी पाएकी हुन्। यसपटक पनि प्रतिनिधिसभामा आकांक्षा राखेकी थिइन्। तर टिकट नै पाइनन्।

माओवादीले उपराष्ट्रपति पाएमा दुई नेताले आकांक्षा देखाएका छन्। नेता दीननाथ शर्माले पनि उपराष्ट्रपतिमा आकांक्षा देखाएका छन्। उनले पार्टीभित्रकै नेतासँग सोही पदको माग गरेको निकट नेताहरू बताउँछन्। लीलामणि पोखरेल पनि उपराष्ट्रपतिका आकांक्षी हुन्।

पोखरेल पछिल्लो समय माओवादीको नेतृत्वसँग असन्तुष्ट छन्। पार्टीभित्रकै अर्को पक्षले आफूलाई अन्तर्घात गरेको भन्दै पटकपटक पोखरेल आवाज उठाउँदै आएका छन्। यसपटक भने उनले उपराष्ट्रपति बनेर राजनीतिबाट बिदा हुने तयारी गरेका छन्।

हरिबोलले गरे उपराष्ट्रपति अस्वीकार

प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न पार्टीले टिकट नदिएको भन्दै असन्तुष्ट बनेका हरिबोल गजुरेललाई उपराष्ट्रपति बन्न प्रस्ताव गरिएको छ।

तर उनले उपराष्ट्रपति पद अस्वीकार गरेका छन्। माओवादीका उपमहासचिवसमेत रहेका उनी अझै केही वर्ष सक्रिय राजनीतिमा रहेर काम गर्ने चाहना रहेको बताउँछन्। उपराष्ट्रपति बहिष्कार गरेसँगै उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख्य राजनीतिक सल्लाहकार बनाउने तयारी गरिएको छ।

प्रतिनिधिसभामा सिन्धुली २ बाट लड्ने इच्छा राखेका उनलाई टिकटबाट वञ्चित गराइएको थियो। हरिबोलको टिकट माओवादीका अर्का नेता सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले पाए। यही कारण हरिबोल असन्तुष्ट थिए।

प्रकाशित: १४ पुष २०७९ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =