कम्युनिस्ट पार्टीको ७५ वर्षको अवसरमा प्रचण्डको अपिल : वामशक्तिहरू एक हौँ

हिमाल प्रेस १० वैशाख २०८१ ९:२२
2
SHARE
कम्युनिस्ट पार्टीको ७५ वर्षको अवसरमा प्रचण्डको अपिल : वामशक्तिहरू एक हौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबिच एकता र ध्रुवीकरणका लागि अपिल गरेका छन् ।

सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबिच एकता र ध्रुवीकरणको आवश्यकता रहेको बताएका हुन् ।

‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउनेछ,’ दाहालले भनेका छन्, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबिच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन पनि हो।’

दाहालले नेपालको कम्युनिस्ट आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको भन्दै यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको दाबी गरेका छन्।

उनले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु सबैको जिम्मेवारी हुने बताएका छन् ।

प्रकाशित: १० वैशाख २०८१ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =