बालेनको आग्रह- खोकनाको बस्ती नहटाउ

हिमाल प्रेस ६ पुष २०७९ २०:४०
30
SHARES
बालेनको आग्रह- खोकनाको बस्ती नहटाउ काठमाडौँ महानगरपालिकाका मेयर बालेन। फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ललितपुरको खोकना क्षेत्र बचाउनुपर्ने बताएका छन्। सरकारले तराई-काठमाडौँ फास्ट ट्रयाक निर्माण गर्दा खोकनामा रहेका विभिन्न सांस्कृतिक र ऐतिहासिक संरचना हटाउने चर्चा भइरहेका बेला बालेनले यस्तो बताएका हु्न्।

नक्सा पासबिना बनाइएका, अनधिकृत संरचना हटाउन सरकारले पहल गर्नुपर्नेमा खोकनाको वर्षौं पुरानो मौलिक बस्ती हटाउन खोज्नु खोकनावासीका लागि मात्र होइन सबैका लागि विकास विरोधी कदम हुने बालेनले उल्लेख गरेका छन्।

‘विकास र परिवर्तन अपरिहार्य छ। तर त्यसले सभ्यतालाई उन्नत बनाउनुपर्छ। विकास र परिवर्तनको मौलिकता तब मात्रै स्थापित हुन्छ। तब मात्रै वास्तविक विकासको वास्तविक अनुभूति नागरिकसम्म पुग्छ। द्रुत मार्गको खोकना क्षेत्रमा विकास र परिवर्तनले नागरिकलाई असहजता थपेको छ,’ उनले बुधबार आफ्नो फेसबुक पेजमा लेखेका छन्,’अलग्गै पहिचान, संस्कृति समेटेर सभ्यताको ठूलो अंश बनेर रमाइरहेको खोकनालाई द्रुत मार्गले दु:ख थपेको छ। नागरिकलाई आन्दोलन गर्न बाध्य बनाएर लादिएको विकासको दिगोपन रहनेमा शंका यथावत रहन्छ।’

पुर्खौंदेखिको खोकना क्षेत्र अनधिकृत नरहेको बालेनले स्पष्ट पारे। राज्यले अनधिकृत बसोबास र संरचना हटाउन देखाउनु पर्ने तदारुकता पुर्खौंदेखि बसिरहेका नागरिक हटाउनमा देखाइरहेको बालेनको तर्क छ।

‘अनधिकृत संरचना हटाउन कुनै पनि सहयोग नगर्ने सरकार पुर्खौंदेखिको सभ्यता र संस्कृति हटाउन भए भरको सुरक्षा संयन्त्र प्रयोग गरिरहेको छ। सरकारको यो प्राथमिकता गलत छ,’ उनले भनेका छन्, ‘दिगो विकासका लागि स्थानीयहरूको माग सम्बोधन गर्न आवश्यक छ।’

नेपाली सेनाले निर्माण गरिरहेको बारा-काठमाडौँ द्रुत मार्ग सम्पन्न हुने अन्तिम चरणमा छ। तर ललितपुरको खोकनालाई जिरो किलोमिटर (प्रस्थान बिन्दु) बनाउने निर्णयविरुद्ध स्थानीयवासीहरू वर्षौंदेखि विरोधमा उत्रिरहेका छन्। स्थानीयवासी र सम्पादा अभियन्ताहरूले जिरो किलोमिटरलाई परिवर्तन गर्न सुझाव दिए पनि निर्माण पक्षले सडक घुमाउरो पर्ने र लागत बढ्ने कारण देखाइरहेको छ।

प्रकाशित: ६ पुष २०७९ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =