मतगणनामा पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्रीको असन्तुष्टि

हिमाल प्रेस १० मंसिर २०७९ २२:०१
16
SHARES
मतगणनामा पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्रीको असन्तुष्टि

काठमाडौँ- बहालवाला मन्त्री र सत्ता गठबन्धनका एक नेताले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। जारी मत गणनामा मत परिणाम कम हुन थालेपछि उनीहरूले धाँधली भएको आरोप लगाएका हुन्।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाए। उनी इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्। उनले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए।

दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ। दुई सय ६६ मतपत्र बढी भेटियो।’ उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने बताए।

गणनाअनुसार इलाम- १ मा नेकपा (एमाले) का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन्। खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन्। खसेको ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ।

लोकतान्त्रिक- वामगठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन्।

मतगणनाका क्रममा धाँधली भएको भन्दै उनले छानबिन गर्न माग गरे। सुनसरी सदरमुकाम इनरुवा-१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशंका रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो।

मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको छ सय छ मत नेकपा एमालेको उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ।

सुनसरी बराहक्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा छ सय छ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो।

यसरी एक पटकमा छ सय छ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गरेका हुन्। सुनसरी ४ मा आइतबार बिहान ८ बजेसम्मका लागि मतगणना स्थगित भएको छ।

प्रकाशित: १० मंसिर २०७९ २२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =