सकसमा देउवा!

सन्तोष अधिकारी ९ मंसिर २०७९ १८:२१
648
SHARES
सकसमा देउवा! फाइल तस्बिर

काठमाडौँ- निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा सत्ता गठबन्धनको बाँध टुट्ने हो या अझै मजबुत भएर अघि बढ्ने भन्नेमा नेताहरू सशंकित हुन थालेका छन्। यसको सोझो असर फेरि प्रधानमन्त्री बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पर्ने देखिन्छ। चुनावमा गठबन्धनले सोचेजस्तो नतिजा ल्याउन नसक्नु, एमाले-माओवादीले वाम एकताको प्रस्ताव अघि सार्नु र नयाँनयाँ दलको जबरस्त उदय हुनुजस्ता कारणले देउवा सकसमा परेका हुन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले नेपाली कांग्रेसले माओवादी उम्मेदवार भएको ठाउँमा मत नदिएको आरोप लगाउँदै गठबन्धनको औचित्यमाथि प्रश्न गर्न थालेका छन्। चुनाव नतिजा आफ्नो पक्षमा नआएपछि उनीहरू अब वामएकता गरेर अघि बढ्नुपर्ने विषयमा अभिव्यक्ति दिन थालेका हुन्।

रौतहटमा चुनाव जितेपछि नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले पनि वाम एकता हुन सक्ने बताए। निर्वाचनको परिणाम सोचेभन्दा फरक आएकाले अब गठबन्धन आवश्यक नरहेको उनको आशय थियो। उनले भने, ‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमीकमजोरी पनि भएका होलान्। तिनलाई सुधारेर जानुपर्छ। नकरात्मक सोच भएकाबाहेकको वाम एकता गर्न सकिन्छ।’

लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ‍ले आफूलाई पराजित गर्ने एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिने क्रममा भने, ‘मिलेर वाम एकताको प्रस्ताव गरौँ।’ गठबन्धनकै दलहरू वाम एकताको प्रस्ताव गरिरहँदा समस्या भने देउवालाई पर्नेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त गालीगलौज गरेर उछित्तो काड्ने क्रम भंग गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी सत्ता सहकार्यको प्रस्ताव नै गरिसके। ओलीको यो प्रस्तावले सत्ता गठबन्धनबारे माओवादीले के निर्णय लिन्छ भन्ने विषय चासोको विषय छ।

कांग्रेसभित्रै चुनावअघि गठबन्धनको विरोधमा रहेका नेताहरू निर्वाचित भएर आएका छन्। गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले पनि निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेन। एकल रुपमा चुनावमा जानुपर्ने विषय तीव्र रूपमा उठेको थियो। डा. शेखर कोइराला समूहले चुनावमा एक्लै भिड्नुपर्ने भन्दै विभिन्न दबाबमूलक कार्यक्रम गरेको थियो।

शेखर कोइराला र महामन्त्री गगन थापाले त सार्वजनिक रुपमै ‘कांग्रेस एक्लै चुनाव लड्छ, कांग्रेसीले रुख चिह्नबाहेक अन्त भोट हाल्नु हुँदैन’ भनेका थिए। असन्तुष्ट समूहले अन्तिम समयसम्म पनि देउवालाई दबाब दिएको थियो। सभापति देउवाले पेलेरै पार्टीमा नेकपा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासँग तालमेल गर्नुपर्ने निर्णय गराए। यति मात्रै होइन टिकट वितरण पनि इतर पक्षका सबैलाई समेट्न सकेनन्। उनले आफू अनुकूल व्यक्तिलाई टिकट दिएको आरोप त्यति बेलै लागेको थियो। उनले प्रकाशशरणलाई कसरी सांसदबनाउने प्रपञ्च रचे त्यहाँबाट नै स्पष्ट हुन्छ देउवा नियत र लाेकतन्त्र।

उनले फेरि आफू प्रधानमन्त्री बन्न संसदीय दलमा पनि बहुमत पुर्‍याउने गरी टिकट वितरण गरेको भन्दै असन्तुष्टि भएको थियो। प्रत्यक्षतर्फ सिट बाँडफाँट गर्दा कांग्रेसको भागमा परेको ९१ मध्ये दुई तिहाइ बढी टिकट देउवाले आफू निकटकालाई दिएका थिए। शेखर, शशांक कोइराला, प्रकाशमान सिंह समूहका सीमित नेतालाई मात्र चुनावमा लड्ने मौका दिएको असन्तुष्ट पक्षका नेता नेताहरू बताउँछन्।

तर गठबन्धनको टुंगो भइसकेपछि कांग्रेसभित्र अन्तरविरोध देखिएन। अहिलेसम्म कांग्रेसमा अन्तरघात भएको भन्ने आवाज सतहमा आएको छैन। गगन–शेखरले भनेजस्तै गठबन्धनका उम्मेदवार धेरै ठाउँमा पराजित भइरहेका छन्। यसबारे सभापति देउवाले पार्टीमा जवाफ दिनुपर्ने हुन्छ। तर देउवाले पार्टी पदाधिकारी तथा केन्द्रीय समितिको बैठक कहिले डाक्छन् टुंगो छैन।

निर्वाचित भएर आएका कांग्रेसकै सांसदको संख्याका आधारमा देउवाले संसदीय दलको चुनाव जित्लान् तर गठबन्धन पनि भत्किने अवस्था आए उनी प्रधानमन्त्री बनेर विश्वासको मत लिने सम्भावना न्यून देखिन्छ। गठबन्धन कायमै राखेर सरकार बनाउन अपुग संख्याका आधारमा अर्को कुनै दललाई सरकारमा सामेल गर्ने निर्णय कार्यान्वयनका लागि पनि माओवादी निर्णायक हुनेछ।

प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको २१० गरी प्रतिनिधिसभामा २७५ जना सांसद हुनेछन्। यसको आधारमा बहुमतका लागि १३८ सांसदको समर्थन चाहिन्छ। जारी मतगणनाअनुसार पाँच दलीय गठबन्धनको बहुमत आउने सम्भावना त देखिन्छ तर मतपरिणामलाई लिएर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले के निर्णय लिन्छन् भन्ने चासोको विषय बनेको छ।

वाम एकता भएमा एमालेसहितको सरकार बन्यो भने कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्नेछ। वाम एकता भएन र अहिलेकै गठबन्धनले सरकार बनाउन पनि बहुमत पुग्दैन। त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको साथ अनिवार्य देखिन्छ। तर उनीहरूले देउवाबाहेक युवा पुस्तालाई ममर्थन गर्ने प्रस्ताव गरेका फेरि देउवा अप्ठ्यारोमा पर्नेछन्। यता एमाले अध्यक्ष ओली जसरी पनि सरकारमा जाने भन्दै तयारी गरिरहेका छन्। यो अवस्थामा का‌ंग्रेसका देउवाले कसरी तालमेल मिलाउँछन् त्यो हेर्न रोचक हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =