बीपी स्मृति दिवस विशेष

बन्दी बीपीलाई भारतको ४५५ रुपैयाँ खर्च

सन्तोष खडेरी ५ साउन २०८० २१:४४
72
SHARES
बन्दी बीपीलाई भारतको ४५५ रुपैयाँ खर्च

सन् १९४३ को अगस्ट २५ देखि बीपी भारतको केन्द्र सरकारका बन्दी भए। त्यसपछि जेलमा उनको रासन, उपचारदेखि अन्य शीर्षकमा आवश्यक खर्चसमेत केन्द्र सरकारले नै गर्ने गर्दथ्यो।

आर्थिक वर्ष १९४३-४४ (२५ अगस्ट १९४३- ३१ मार्च १९४४) सम्म बन्दी बीपीमाथि केन्द्र सरकारले भारु. ४ सय ५५ रुपैयाँ १३ पैसा खर्च गरेको रहेछ।

२०३९ साउन ६ गते। आजभन्दा ठ्याक्कै ४० वर्षअघि। आजकै दिन नेपालले प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालालाई गुमाएको थियो। नेपालका पूर्वप्रधानमन्त्री कोइरालाको ६८ वर्षको उमेरमा निधन भएको थियो।

बीपीले नेपालमा प्रजातान्त्रिक अधिकारका लागि आजीवन संघर्ष गरे। उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता हुन्। ‘प्रजातान्त्रिक योद्धा’ उनको सशक्त परिचय हो। मृत्यु हुँदासम्म उनी नेपालमा संसदीय प्रजातान्त्रिक व्यवस्थाबाट निर्वाचित एकमात्र प्रधानमन्त्री थिए।

बीपीको योगदान नेपाली आन्दोलनसम्म मात्र सीमित छैन। भारतीय स्वतन्त्रता आन्दोलनमा पनि उनले योगदान पुर्‍याएका छन्।

सपरिवार भारत निर्वासित उनको अध्ययनसँगै राजनीतिक जीवनको सुरुवात पनि त्यतै भएको थियो। भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका बीपी त्यति बेलादेखि नै नेपालमा राणा शासनविरोधी भइसकेका थिए। त्यसै क्रममा उनी झन्डै तीन वर्ष भारतीय जेलमा थुनिए।

तत्कालीन समयका ब्रिटिस भारतीय अभिलेख र सार्वजनिक रूपमा उपलब्ध अन्य सामग्रीका आधारमा बीपीको भारतीय जेल जीवनबारे यस लेखमा चर्चा गरिएको छ।

बीपीको जन्म वि.सं. १९७४ (सन् १९१४ सेप्टेम्बर ८)मा भएको थियो। मातापिता  थिए, कृष्णप्रसाद कोइराला र दिव्या कोइराला।

सन् १९१९ ताका कृष्णप्रसाद कोइराला राणा शासनको वक्रदृष्टिमा परे। उनी सपरिवार भारत निर्वासित भए। परिवारसहित निर्वासित बीपीको अध्ययन र राजनीतिक जीवनको प्रारम्भ त्यहीँ भयो।

बनारसको गुर्जर पाठशालादेखि अध्ययन सुरु गरेका बीपीले त्यहाँस्थित हरिशचन्द्र विद्यालयबाट विद्यालय शिक्षा उत्तीर्ण गरे। सन् १९३२ मा बनारस विश्वविद्यालयबाट स्नातक पास भए।

सन् १९३७ मा कलकत्ता विश्वविद्यालयबाट प्रथम श्रेणीमा एलएलबी गरे। सन् १९३९ ताका उनी केही समय वकालतको अभ्यास गर्न दार्जिलिङसमेत पुगेका थिए।

दार्जिलिङबाट पटना फर्किए। त्यहाँको सोसलिस्ट राजनीतिमा सक्रिय भए। उनी सन् १९४२ को नोभेम्बर २५ मा शान्तिसुरक्षा कानुनअन्तर्गत बिहारको बाँकेपुराबाट पक्राउ परे।

उनलाई केही समय त्यहीँको स्थानीय बाँकेपुरा जेलमा नै राखियो। त्यसपछि सन् १९४३ को जुन १२ मा उनलाई हजारीबाग जेलचलान गरिएको थियो।

त्यसै वर्ष अगस्त २५ मा ब्रिटिस भारतको केन्द्रीय सरकारले बीपीको गिरफ्तारीमा एक आदेश पारित गरेको थियो। जसमा ब्रिटिस शासनको अन्य विदेशी मुलुकसँगको सम्बन्धमा हानि पुर्‍याउने ठहर गर्दै उनीविरुद्ध आदेश पारित गरिएको भनिएको थियो। (विदेशी मुलुकसँगको सम्बन्धमा हानिको संकेत नेपालको राणा शासनविरुद्ध भन्ने थियो। टंकप्रसाद आचार्यको नेतृत्वमा प्रजा-परिषद्को गठन र त्यसले राणा शासनविरुद्ध पर्चा छर्नेलगायत केही काम भएका थिए। भारतमा बसेर नेपालको राणा शासनविरुद्ध लागेकाले त्यहीँ गिरफ्तार गरेर नेपाल सरकारलाई सुपुर्दगी गर्न राणा सरकारले उता दबाब बढाएको थियो।)

भारतको शान्तिसुरक्षा कानुन १९३९ को दफा २६ बमोजिम केन्द्र सरकारको अर्को आदेश जारी नभएसम्मका लागि उनी थुनामा रहने उल्लेख थियो। त्यस्तै उनी बिहारको प्रान्तीय जेलमा रहेको भए पनि प्रान्तीय सरकारका नभई केन्द्र सरकारका बन्दी थिए।

बीपी भारतमा गिरफ्तार भएर बन्दी हुँदा उनको उमेर २८ वर्षमात्र थियो। जेलमा राखिएको उनको स्वास्थ्यको अभिलेखअनुसार त्यतिबेला उनको तौल १२६ पाउन्ड अर्थात् झन्डै ५८ किलो हाराहारीमा थियो। त्यतिबेला केन्द्र सरकारका बन्दी रहेका बन्दीको प्रत्येक छ महिनामा स्वास्थ्यको अभिलेख सम्बन्धित जेल प्रशासनले केन्द्र सरकारमा पठाउनुपर्ने व्यवस्था थियो। त्यसैअन्तर्गत उनको स्वास्थ्यको अभिलेख राखिएको थियो।

सन् १९३४ मा कलकत्तामा अध्ययन गर्दाताका नै उनलाई पहिलोपटक घाँटीको समस्या देखिएको थियो। नाकमा जलन हुने, घाँटीमा समस्या आउनेदेखि श्वासप्रश्वासमा समस्या हुन थालेको थियो।

हजारीबाग जेलको नोभेम्बर १९४३ को स्वास्थ्य अभिलेखअनुसार बीपी पहिलोपटक जेलमा १९४३ को जुलाई २३ मा बिरामी परेका थिए। उनको पेट दुख्ने र मासी पर्ने समस्या मार्चदेखि नै सुरु भइसकेको थियो। तर जुलाईसम्म आउँदा उनलाई छातीको बायाँतर्फ दुख्ने समस्या पनि देखिएको थियो। उनलाई चिसोले पनि उत्तिकै सताइरहन्थ्यो। उनलाई घाँटीको समस्या जीवनभर नै रह्यो।

जेलको अभिलेखअनुसार सन् १९३४ मा कलकत्तामा अध्ययन गर्दाताका नै उनलाई पहिलोपटक घाँटीको समस्या देखिएको थियो। नाकमा जलन हुने, घाँटीमा समस्या आउनेदेखि श्वासप्रश्वासमा समस्या हुन थालेको थियो।

जेलमा रहँदा उनको स्वास्थ्य अवस्था सामान्य थिएन। चिसोले गर्दा उनलाई छाती, घाँटी र पेटको समस्याले सतायराख्थ्यो। टीबीको संक्रमण भएको आशंकामा जेलमा हुँदा त्यसको परीक्षणसमेत गरिएको थियो। तर उनलाई टीबी थिएन। (विश्वेश्वरप्रसाद कोइरालाको सन् १९४३ को अर्धवार्षिक हेल्थ रिपोर्ट) 

सन् १९४३ को अगस्ट २५ देखि बीपी भारतको केन्द्र सरकारका बन्दी भए। त्यसपछि जेलमा उनको रासन, उपचारदेखि अन्य शीर्षकमा आवश्यक खर्चसमेत केन्द्र सरकारले नै गर्ने गर्दथ्यो।

आर्थिक वर्ष १९४३-४४ (२५ अगस्ट १९४३-३१ मार्च १९४४) सम्म बन्दी बीपीमाथि केन्द्र सरकारले भारु. ४ सय ५५ रुपैयाँ १३ पैसा खर्च गरेको रहेछ। जसमध्ये सबैभन्दा बढी रासनमा २ सय ६९ रुपैयाँ ४ पैसा, हस्पिटलमा ८९ रुपैयाँ १० पैसा, कपडालत्तामा ३५ रुपैयाँ ८ पैसा, पत्रपत्रिका र चिठीपत्रमा ४ रुपैयाँ ७ पैसा खर्छ गरेको थियो।

त्यस्तै ट्वाइलेट र सरसफाइका लागि सात रुपैयाँ र अन्य विभिन्न शीर्षकमा ४६ रुपैयाँ ६४ पैसा खर्चिएको थियो। (मेन्टिनेन्स चार्ज अफ विश्वेश्वरप्रसाद कोइराला)

त्यतिबेला भारतको शान्तिसुरक्षा कानुनअन्तर्गत बनारसमा पक्राउ पर्नेहरूमा खोटाङका अग्निप्रसाद शर्मा, काठमाडौँका डिल्लीरमण रेग्मी, ताप्लेजुङका श्रीप्रसाद शर्मा र विश्वप्रसाद शर्मा, काठमाडौँका सूर्यप्रसाद उपाध्यायलगायत थिए।

उनीहरूलाई नेपालको राणा सरकारले सुपुर्दगी गर्न भारत सरकारसमक्ष माग गरिरहेको थियो। नेपाल सरकारले सुपुर्दगीका लागि दबाब बढाएसँगै त्यहाँ थुनिएका नेपाली बन्दी सबैले आफ्नो ज्यान जोखिममा रहेको महसुस गरे।

राणा शासनविरुद्ध गतिविधि गरेको आरोपमा नेपालमा पक्राउ परेका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई राणाले प्राणदण्ड दिइसकेका थिए। नेपाल सुपुर्दगी गरेमा आफूसमेत मारिने भयले त्यहाँ थुनामा रहेका नेपाली सबैले आ-आफ्नै ढंगले त्यहाँका विभिन्न अड्डा-अदालतमा मुद्दा दायर गरे।

अदालतमा मुद्दा दायर गर्दा उनीहरुले नेपाल गएमा राणा सरकारले आफूलाई मृत्युदण्ड दिने भन्दै नेपाल सुपुर्दगी नगरी जीवन बचाउन अदालतसमक्ष अपिल गरेका थिए।

बीपीले समेत सन् १९४४ को डिसेम्बरमा त्यहाँको संघीय अदालतका प्रधानन्यायाधीशसमक्ष त्यस्तै एउटा न्यायिक अपिल पेस गरेका थिए। त्यसमा विभिन्न आधार प्रस्तुत गर्दै आफूलाई कारामुक्त गर्न र कारामुक्त नगरेको अवस्थामा ब्रिटिस इन्डियाभन्दा बाहिर नपठाउन अपिल गरेका थिए।

राजेन्द्रप्रसादको साथमा बीपी पनि बम्बई पुगे र उनको पत्रका आधारमा त्यहाँ स्थित टाटा मेमोरियल हस्पिटलमा करिब छ महिनासम्म उपचार गराए।

ब्रिटिस इन्डियाभन्दा बाहिर भन्नाले नेपालमा सुपुर्दगी नगर्न भन्ने उनको आशय थियो। त्यसैका आधारमा १७ जनवरी १९४५ मा बीपी कारामुक्त भए। तर तत्कालका लागि उनलाई पटना छाड्न नमिल्ने र प्रहरी निगरानीमा राखिएको थियो।

उनी भारतमा जेलबाट छुट्ने दिनमा नै यता काठमाडौँमा जुद्धशमशेरको कारागारमा उनका पिता कृष्णप्रसाद कोइरालाको निधन भएको थियो। त्यसकारण उनी आफ्ना बाबुको अन्तिम श्रद्धाञ्जलीमा समेत सहभागी हुन सकेनन्।

बीपी जेलबाट रिहा भएको भए पनि उनीमाथि प्रहरी निगरानी कायमै थियो।  उनको स्वास्थ्य अवस्था गम्भीर थियो। जेलबाट रिहा भएको करिब छ महिनापछि सन् १९४५ अगस्त ६ मा उनीमाथि रहेको प्रहरी निगरानी हट्यो र उनले पटना छोड्न पाउने पाए।

त्यही वर्ष अक्टोबरमा बम्बईमा अल इन्डिया कांग्रेस कमिटीको बैठक भयो। बाँकेपुरा जेलमा हुँदा बीपी केही महिना डा. राजेन्द्रप्रसाद (भारतका प्रथम राष्ट्रपति) सँगै बसेका थिए। राजेन्द्रप्रसादको साथमा बीपी पनि बम्बई पुगे र उनको पत्रका आधारमा त्यहाँ स्थित टाटा मेमोरियल हस्पिटलमा करिब छ महिनासम्म उपचार गराए।

उपचार गरेर फर्किएपछि पूरा जोशका साथ सन् १९४६ सेप्टेम्बरदेखि बीपी नेपालमा राणा शासनविरुद्ध प्रजातान्त्रिक व्यवस्था ल्याउन भारतमा रहेका नेपालीहरूलाई संगठित गर्न अगाडि बढे। सन् १९४७ को जनवरीमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना भयो। उनी त्यसको कार्यकारी अध्यक्ष भए।

त्यसपछिका दिनमा उनले गृहमन्त्रीका रूपमा नौ महिना र प्रधानमन्त्रीका रूपमा १८ महिना काम गरे। उनी झन्डै २७ महिना सरकारमा रहे। आफ्नो सक्रिय जीवनको लामो समय उनी सरकारभन्दा बाहिर रहे। पहिले राणा र पछि राजासँग संघर्ष गरेका बीपीले आजीवन प्रजातन्त्रका लागि संघर्ष गरे।

प्रकाशित: ५ साउन २०८० २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =