बीपी जयन्ती

साहित्यमा मन्त्रमुग्ध नेताहरू

विवेक विवश रेग्मी २० भदौ २०८० १३:४७
128
SHARES
साहित्यमा मन्त्रमुग्ध नेताहरू

इटहरी- मंगलबार साँझ। इटहरीस्थित श्रीकृष्ण प्रणामी मुक्तिधाम मन्दिर प्रांगणमा आरतीको समय। आगन्तुक श्रद्धालुहरू फोटो खिच्न र भिडियो बनाउन व्यस्त छन्। त्यही बीचमा एक हुल राजनीतिक नेताकार्यकर्ताहरू प्रांगणमा देखा पर्छन्। श्रद्धालुहरूको ध्यान आकर्षित हुन्छ। खासखुस सुनिन्छ- पूजाआराधनाको समयमा नेताहरू किन आएका होलान्? केहीले यस्तै प्रश्न गर्छन्।

नेताहरू भन्नेबित्तिकै धेरैलाई लाग्छ- राजनीतिक कार्यक्रम, कार्यकर्ता भेला, चुनावीसभामा सामेल हुने, भाषण गर्ने अनि कार्यकर्तासँग तस्बिर खिचाएर फर्कने। तर मंगलबार साँझ उक्त मन्दिरमा नेताकार्यकर्ताले न चर्का भाषण गरे न त फोस्रा आश्वासन नै बाँड्न समय खर्चिए। बरु उनीहरू आफैँ दर्शकदीर्घामा बसेर कवि, लेखकहरूका सिर्जना सुन्न व्यस्त भए। साहित्यको रसास्वादन गरे।  कार्यक्रम हो-  बीपी साहित्य सन्ध्या कार्यक्रम।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं २, प्रदेशसभा (क) ले आयोजना गरेको कार्यक्रम तीन चरण गरी समापन गरिएको थियो। पहिलो चरणमा कवितामा पाँच कविले आफ्ना दुईदुई कविता वाचन गरेका थिए।  सुदीप पाख्रिन, टीका आत्रेय, प्रज्वल पराजुली, सविता गौतम (दाहाल) र रमेश सायनले कविता वाचन गर्दा नेताहरू निकै भावुक देखिन्थे।

दोस्रो चरणमा साहित्यमा बीपी कार्यक्रमको आयोजना गरियो। जसमा डा. रामजी तिमल्सिना वक्ता थिए भने मन्दीप भट्टराईले सहजीकरण गरेका थिए। तिमल्सिनाले भने, ‘कांग्रेसीहरूले बीपी बुझ्न पहिला उनलाई साहित्यकारका रूपमा पढ्नुपर्छ, बीपीको समाजवादी चिन्तन र साहित्य बुझाउनुपरे म सदैव तत्पर छु।’

तेस्रो चरणमा भने ‘स्ल्याम पोयट्री’ शृंखला थियो। कवि युवराज काफ्लेले सहजीकरण गरेको कार्यक्रममा कविहरू शकुन्तला मञ्जरी, किरण चौलागाईँ र योगेन्द्र पराजुलीले प्रस्तुति दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले बीपीले नेपाली साहित्यमा पुर्‍याएको योगदान जीवन्त रहने बताए। ‘पार्टी केन्द्रीय कार्यसमितिले पनि बीपी जन्मजयन्तीको अवसर पारेर तीन दिने साहित्य उत्सव आयोजना गर्ने तयारी गरेको छ,’ उनले भने, ‘स्थानीय स्तरमा भएको यो कार्यक्रमले देशभर एउटा सकारात्मक ऊर्जा प्रदान गर्नेछ। बीपीले राजनीतिमा मात्रै होइन, साहित्यमा पनि साँच्चैको योगदान पुर्‍याएका छन् भन्ने अनुभूत गराउनेछ।’

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) का सभापति शुवेक्छु देवान राईले कार्यक्रम नितान्त साहित्यसँग सम्बन्धित रहेको बताए। ‘हामीमा पनि कहीँ न कहीँ साहित्यको भाव छ। त्यसैले पनि यस किसिमको कार्यक्रम आयोजना गरेका हौँ,’ देवानले भने, ‘आजको पुस्ता मात्रै नभई भोलिको पुस्ताले पनि बीपी कोइरालालाई पढ्नुपर्छ।’ उनले बीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसर पारेर अहिले बीपी सप्ताह कार्यक्रम मनाइरहेको बताए।

कार्यक्रमको अन्त्यमा थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। त्यससँगै एक सय १० औँ बीपी जयन्तीमा सम्झनास्वरूप ११० वटा मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरियो।

१९७१ साल भदौ २४ मा जन्मिएका बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। उनलाई साहित्यमा विश्वेश्वरप्रसाद कोइराला र राजनीतिमा बीपी कोइरालाका नामले चिनिन्छ। उनको मृत्यु २०३९ साउन ६ गते भएको थियो।

नेपाली आख्यानमा यौनमनोविज्ञानलाई पहिलोपटक प्रयोग गरेर कोइरालाले नयाँ आयाम दिएका छन्। कोइरालाका मधेशतिर, श्वेतभैरवी कथासंग्रह, तीन घुम्ती, सुम्निम, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा उपन्यास तथा आफ्नो कथा र जेल जर्नल  जीवनी र संस्मरणसँग सम्बन्धित कृति प्रकाशित छन्।

बीपी सप्ताहको पहिलो दिन भदौ १६ गते कांग्रेस रन र भदौ १९ गते बीपी साहित्य सन्ध्या आयोजना भइसकेको छ। २२ गते वृक्षरोपण र २४ गते वक्तृत्वकला प्रतियोगिता गर्दै समापन गरिने सचिव चिन्तामणि सापकोटाले जानकारी दिए।

प्रकाशित: २० भदौ २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =