राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बीपीले गरेको त्यो सम्बोधन

सन्तोष खडेरी ३ असोज २०८० २०:३६
934
SHARES
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बीपीले गरेको त्यो सम्बोधन प्रधानमन्त्री बीपी कोइराला र अमेरिकी राष्ट्रपति ड्वाइट डेभिड आइजनआवर (माथि), बीपी कोइराला र सोभियत रुसका मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुस्चेव (तल), संयुक्त राष्ट्रसंघको पन्ध्रौँ महासभालाई सम्बोधन गर्दै कोइराला। (दायाँ)

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार साँझ राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने कार्यक्रम छ। नेपालबाट राष्ट्रसंघमा विशेष कुनै ठूलो कार्यक्रम नहुँदा पनि प्रधानमन्त्री स्तरबाट सहभागिता जनाउने चलन छ। यसपटक पनि प्रधानमन्त्री दाहाल त्यहाँ पुगेका हुन्। उनी न्युयोर्कबाट सीधै छिमेकी चीनको भ्रमण गरेर फर्कनेछन्।

प्रधानमन्त्री प्रचण्ड केही दिनपहिले नै न्युयोर्क पुगेर घुमघाममा व्यस्त छन्। परराष्ट्रमन्त्री एनपी साउदको अवस्था पनि त्यस्तै छ। राष्ट्रसंघको महासभा सेप्टेम्बर तेस्रो मंगलबार सुरु हुन्छ। सुरु हुने दिनमा अमेरिकाले सबैलाई स्वागतभोज आयोजना गर्ने चलन छ। त्यहाँ केहीबेर सरकार र राष्ट्रप्रमुखहरूबीच अनौपचारिक कुराकानी हुन्छ। अमेरिकी राष्ट्रपति जो बाइडनसँग हाम्रा प्रधानमन्त्री प्रचण्डले त्यो अवसर पाइसकेका छन्।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रसंघको ६३ औँ महासभामा पुगेका थिए। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग भेटेका उनले महासभामा पनि सम्बोधन गरेका थिए।

नेपालको इतिहासमा संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री स्तरबाट पहिलोपटक सम्बोधन गर्ने व्यक्ति भने बीपी कोइराला हुन्। उनले सन् १९६० मा आयोजित राष्ट्रसंघको १५ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

सन् १९४५ मा संयुक्त राष्ट्रसंघ गठन हुँदा नेपाल संस्थापक सदस्य हुनबाट चुक्यो। त्यतिबेला जुद्धशमशेर प्रधानमन्त्री थिए। नेपालले प्रधानमन्त्री मोहनशमशेरको पालामा सन् १९४९ मा संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दियो। शीतयुद्धको प्रभाव र शक्ति राष्ट्रहरूको टकरावका कारण नेपाल राष्ट्रसंघको सदस्य हुन पाएन। सदस्यताका लागि प्रयास गरेको ६ वर्षपछि सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो। राणाकालीन समयमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन क.ज. केशरशमशेर, मे.ज. विजयशमशेर र मेजर पद्मबहादुर खत्रीले विशेष भूमिका निर्वाह गरेका थिए।

नेपालले राष्ट्रसंघका लागि पहिलो स्थायी प्रतिनिधिमा सन् १९५६ सेप्टेम्बरमा हृषीकेश शाहलाई नियुक्त गरेको थियो। सोही वर्ष आयोजित एघारौँ महासभामा नेपालबाट परराष्ट्रमन्त्री स्तरमा सहभागिता जनाएको हो। परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलका उपनेतामा अधिराजकुमार हिमालय वीरविक्रम शाह थिए। सदस्यमा उनकी पत्नी श्रीमती प्रिन्सेप शाह थिइन्। त्यस्तै प्रतिनिधिमण्डलका अन्य सदस्यमा तत्कालीन शिक्षा सचिव केशरबहादुर केसी, राजदरबारका सचिव सरदार हंसमान सिंह र परराष्ट्र मन्त्रालयका असिस्टेन्ट सेक्रेटरी दमनराज तुलाधर थिए। त्यही दलमा स्थायी प्रतिनिधिमा शाहसमेत थिए।

सन् १९५७ को बाह्रौँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व न्युयोर्कबाट स्थायी प्रतिनिधि हृषीकेश शाहले गरेका थिए। अन्य सदस्यमा सरदार प्रकटमान सिंह, बज्रकान्त ठाकुर र गोविन्दमानसिंह पाण्डे थिए। सिंह र ठाकुर नेपालबाट गएका थिए भने शाह र पाण्डे न्युयोर्कस्थित नियोगमा कार्यरत थिए। महाधिवेशन चलिरहँदा राजदूत शाहलाई लुटेराहरूले सेन्ट्रल पार्कमा छुरा प्रहार गरेका थिए। उक्त घटनाको संसारभर चर्चा भएको थियो।

सन् १९५८ मा सम्पन्न तेह्रौँ महासभामा नेपालबाट परराष्ट्र एवं रक्षामन्त्री साहेबज्यू पुरेन्द्रविक्रम शाहले गरेका थिए। प्रतिनिधिमण्डलका अन्य सदस्यमा परराष्ट्र सचिव नरप्रतापशमशेर थापा, मन्त्रीकी छोरी माधुरी शाह, दयारामभक्त माथेमा, हृषीकेश शाहलगायत थिए।

सन् १९५९ मा बीपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकार गठन भइसकेको थियो। त्यसै वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको चौधौँ महासभामा गृह एवं कानुनमन्त्री सूर्यप्रसाद उपाध्यायको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो। प्रतिनिधिमण्डलका अन्य सदस्यमा विश्वबन्धु थापा, हृषीकेश शाह, दीर्घराज कोइराला र नजरमान सिंह थिए।

सन् १९६० मा आयोजित संयुक्त राष्ट्रसंघको पन्ध्रौँ महासभामा भने नेपालको नेतृत्व प्रधानमन्त्री बीपी कोइरालाले गरेका थिए।प्रतिनिधिमण्डलका अन्य सदस्यमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि हृषीकेश शाह, विश्वबन्धु थापा, अच्युतराज रेग्मी, यदुनाथ खनाल र नारायणप्रसाद (एनपी) अर्ज्याल थिए। थापा र रेग्मी सांसद थिए। यदुनाथ खनाल विज्ञ र अर्ज्याल परराष्ट्र मन्त्रालयका कर्मचारी थिए।

कोइराला नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सन् १९६० को सेप्टेम्बर १६ मा काठमाडौँको गौचर हवाईअड्डाबाट कलकत्तातर्फ प्रस्थान गरेको थियो। कलकत्ताबाट हङकङ हुँदै कोइराला न्युयोर्क पुगेका थिए। हङकङमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले जनगणतन्त्र चीन संयुक्त राष्ट्रसंघमा प्रवेशलाई नेपालले समर्थन गर्ने बताएका थिए।

नेपालका बहालवाला प्रधानमन्त्री अमेरिका पुगेको त्यही नै पहिलोपटक थियो। राष्ट्रसंघको महासभामा भाग लिन पुगेका कोइरालाले न्युयोर्कमा तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट डेभिड आइजनआवरसँग भेट गरेका थिए। त्यस्तै सोभियत रुसका मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुस्चेवसँग पनि भेट गरेका थिए। अमेरिकी राष्ट्रपतिसँग आजको जस्तो हात मिलाउने र एउटा तस्बिर खिच्न लाग्ने  दुई मिनेटका लागि मात्र होइन। २२ सेप्टेम्बर १९६० को अपराह्न साढे ३ बजे प्रधानमन्त्री कोइराला र राष्ट्रपति आइजनआवरका बीचमा प्रतिनिधिमण्डल स्तरमा करिब ३५ मिनेट भेटवार्ता भएको थियो।

नेपालका कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई भेटेको पहिलोपटक थियो। भेटमा प्रधानमन्त्री कोइराला र राजदूत हृषीकेश शाह थिए। त्यस्तै अमेरिकाका तर्फबाट राष्ट्रपति आइजनआवर र परराष्ट्रमन्त्री क्रिस्टियन हर्टर थिए। राष्ट्रपतिका छोरा ले.क. जोन आइजनआवर पनि थिए।

राष्ट्रपति आइजनआवर न्युयोर्कको होटेल वाल्ड्रफ एस्टोरियामा बसेका थिए। सोही होटेलमा उनीहरूबीच भेटवार्ता भएको थियो। भेटमा नेपाल र अमेरिकाका बीचका आपसी हितका कुरासहित अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा भएको थियो। राष्ट्रपति आइजनआवरले प्रधानमन्त्री कोइरालालाई अमेरिकाका अन्य भूभागको भ्रमण गर्न सुझाव दिएका थिए। तर कोइरालाले नेपालमा राजारानी बेलायतको राजकीय भ्रमणमा जानुपर्ने भएकाले आफू अक्टोबर ६ अगावै नेपाल फर्किनुपर्ने बाध्यतामा रहेको बताएका थिए।

बायाँबाट क्रमशः यदुनाथ खनाल, अच्युतराज रेग्मी, प्रधानमन्त्री कोइराला, विश्वबन्धु थापा र कुमारमणि आचार्य दीक्षित।
तस्बिर स्रोत : दायित्व द्वैमासिक

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष नेपालमा आफ्नो सरकारले जनहित र मुलुकको विकासमा उठाएका कदमबारे पनि जानकारी गराएका थिए। केही महिनाअघि राजा महेन्द्रले राजकीय भ्रमण गरेको अवस्थामा कोइरालाको न्युयोर्क भ्रमणलाई अमेरिकाले महत्त्व दिएको थियो।

कोइराला अमेरिकी अधिकारीलाई भेट गर्न न्युयोर्कबाट १ दिनका लागि वासिङ्टनसम्म पुगेका थिए। कोइरालाले त्यति बेला वासिङ्टनमा ब्लेयर हाउसमा प्रशासकीय उपमन्त्री लोय डब्ल्यू हेन्डर्सनसँग पनि भेट गरेका थिए। हेन्डर्सन पहिले नेपालमा अमेरिकी मिनिस्टर थिए। कोइराला र सुदूरपूर्व तथा दक्षिण एसियाली मामिलाका सहायकमन्त्री जोन्ससँग पनि भेट भएको थियो।

सोभियत रुसका मन्त्रिपरिषद् अध्यक्ष निकिता ख्रुस्चेवसँग पनि कोइरालाको पटकपटक भेट भएको थियो। कोइरालाले त्यहाँ दिएको एउटा दिवाभोजमा ख्रुस्चेव उपस्थित भएका थिए। ख्रुस्चेव अमेरिकाका लागि नेपाली राजदूत र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि हृषीकेश शाहलाई त्यति रुचाउँदैनथे। त्यसैले उनले प्रधानमन्त्री कोइरालाकै अगाडि शाहप्रति गैरकूटनीतिक भाषा प्रयोग गरेका थिए। तर कोइरालाले नेपाल सरकारको निर्देशनमा काम गर्ने भन्दै शाहको बचाउ गरेका थिए।

ख्रुस्चेवले शाहलाई अमेरिकी पक्षधर भनेर आरोप लगाउँथे। शाहले संयुक्त राष्ट्रसंघमा महासचिव ड्यागको कदमलाई समर्थन गरेकाले पनि ख्रुस्चेवको असन्तुष्टि थियो।

सन् १९६० सेप्टेम्बर २९ दिन कोइरालाले संयुक्त राष्ट्रसंघको पन्ध्रौँ महासभालाई नेपालका तर्फबाट सम्बोधन गरेका थिए। कोइरालाले पहिलोपल्ट अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गरी परराष्ट्र सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको धारणा सार्वजनिक गरेका थिए। यस्तो थियो उनको सम्बोधनको मुख्य अंश  :

स्वतन्त्रता र उपनिवेश

कतिपय कारणले गर्दा संसारका केही अरू देशहरू संयुक्त राष्ट्रसंघको सदस्य भएका छैनन्। हामीलाई आशा र विश्वास छ कि अफ्रिका र अन्तका परतन्त्र उपनिवेशहरू चाँडै स्वतन्त्र हुनेछन् र विश्वका स्वतन्त्र राष्ट्रहरू यस सभामा आफ्नो हकपूर्ण स्थान ग्रहण गर्नेछन्।

कुनै पनि शक्ति जतिसुकै बलवान् र शक्तिशाली भए तापनि इतिहास र समयको गतिलाई रोक्न सक्तैन र भाग्यले यी दुवै कुरा निःसन्देह नै ती देशका पक्षमा छन् जो आफ्नू स्वाधीनता र स्वतन्त्रताको जन्मसिद्ध अधिकारका लागि संघर्ष गर्दैछन्।

चीनले संयुक्त राष्ट्रसंघमा प्रवेश पाउनुपर्छ

म चीनको प्रतिनिधित्वका विषयमा पनि केही नबोलिरहन सक्दिनँ। चीनको विषय एक खास किसिमको छ। हाम्रो रायमा संयुक्त राष्ट्रसंघ यस संस्थामा गणतन्त्र चीनलाई यसको यथोचित स्थान नदिउन्जेलसम्म न ता विश्वव्यापी हुन सक्छ न ता यसले यसबाहिरको संसारमा रहेको राजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न सक्दछ। गणतन्त्र चीनलाई सदस्यता प्रदान नगरुन्जेलसम्म संयुक्त राष्ट्रसंघले पूरा गर्नुपर्ने आफ्ना केही महत्त्वपूर्ण कामकारबाही राम्रो तौरले पूरा गर्न सक्नेछैन।

राष्ट्रसंघको घोषणापत्रमा संयुक्त राष्ट्रका जनताको धेरै किसिमको कारबाहीको लाभ र रचनात्मक असरबाट वञ्चित रहुन्जेलसम्म यो संस्था विश्वका जनताको पूर्ण प्रतिनिधित्व गर्छ भन्न सकिँदैन। राष्ट्रसंघको आफ्नू वृद्धि र प्रभावका लागि महत्त्वपूर्ण यस्ता प्रश्नमा संयुक्त राष्ट्रसंघले अहिलेसम्म देखाएको भन्दा बढ्ता दूरदर्शिता र विचारको जरुरत छ भन्ने मलाई लाग्दछ।

सोभियत कदमप्रति आलोचना

हालै सेक्रेटरी जनरल र उहाँको अफिस उपर आलोचना भएको छ। आलोचनामा यो भनिन्छ कि सेक्रेटरी जनरलले कंगोमा कुनै एउटा शक्ति गुट या गुटहरूको नीतिको हतियार भई काम गर्नुभएको छ। यस आलोचनासँग हाम्रो केही सम्बन्ध छैन र यस्तो आलोचना हामी पूर्ण रुपले अस्वीकार गर्दछौँ सो अस्वीकार गर्नाको कारण संकटकालीन विशेष बैठकमा हाम्रो प्रतिनिधिमण्डलले यस विषयमा बोल्दा दिइसकेको छ र तिनीहरू सभाको रिकर्डमा राखिएकै छन्।

सेक्रेटरी जनरलको अफिसलाई तीन भागमा बाँड्ने सुझावको सम्बन्धमा मलाई लाग्दछ कि यसले गम्भीर संकटको बखत संयुक्त राष्ट्रसंघले लिनैपर्ने छिटो र प्रभावकारी कदम लिन असमर्थ गराउने मात्र होइन कि संघको साधारण कर्तव्य र कारबाही गर्नसमेत बाधा पुर्‍याउनेछ। सेक्रेटरी जनरल संयुक्त राष्ट्र संघका एक उच्च पदस्थ कर्मचारी मात्र होइनन्, यिनी घोषणापत्रबमोजिम यसको एक मुख्य अंग हुन्।

परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको ध्येय र त्यसप्रति नेपालको धारणा

प्रत्येक राष्ट्रको परराष्ट्र नीतिको मुख्य ध्येय आफ्नू राजनीतिक स्वाधीनता, प्रभुसत्ता र सुरक्षा कायम राख्नु र विश्वशान्ति तथा सहयोग बढाउनु हुन्छ। माननीय अध्यक्ष, नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको घोषणापत्रमा उल्लिखित सिद्धान्त र उद्देश्यले पूर्णतया प्रेरित छ।

राष्ट्रसंघलाई हामीले आफ्नू स्वतन्त्रता र सुरक्षाको प्रहरी मात्र होइन कि हाम्रो हक र स्वतन्त्रताको संरक्षक पनि सम्झेका छौँ। हामीले संयुक्त राष्ट्रसंघलाई राष्ट्रहरूका बीच शान्ति र न्यायको विकास गर्ने एउटा साधन मानेका छौँ। हामीलाई दृढ विश्वास छ कि चीरस्थायी शान्ति र स्थिर विश्व व्यवस्था स्वतन्त्रता र न्यायको आधारमा मात्र प्राप्य छ। यही लक्ष्यका निमित्त संयुक्त राष्ट्रसंघको परिधिभित्र रही हामी अरू राष्ट्रहरूसँग सहयोग गर्न चाहन्छौँ।

नेपाल आर्थिक र सैनिक साधन र बलको हिसाबले एउटा सानु मुकुक हो तर हामीले आफ्नू जवाफदेही र संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतबाट गर्नुपर्ने कारबाहीप्रति पूर्णतया सचेत छौँ। राष्ट्रसंघमा हाम्रो काम माथि उल्लेख गरिएका सिद्धान्त र विचारद्वारा सधैँ नियमित रहनेछन्। विश्व मामिलामा स्वतन्त्र निधो गर्ने कुरामा विश्वास राख्छौँ।

महासभा बैठकमा भाग लिँदै प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको नेपाली प्रतिनिधिमण्डल।
तस्बिर स्रोत : आजको नेपाल पुस्तक

हामीले प्रत्येक अन्तर्राष्ट्रिय समस्यामा कसैको डरभर नमानी यसको गुणदोष विचार गरी निर्णय लिने गरेका छौँ। स्वेज र हंगेरीको समस्या र लेबनान र कंगोको परिस्थितिमा हामीले अपनाएको नीति मैले माथि भनेको कुराको पुष्टि गर्दछन्।

समान विचार भएका देशसँग सहकार्य

हामीले आफ्नो चित्तमा लागेको कुरा कसैको डरभर नमानी स्पष्ट र खुला दिलले भन्नुपर्दछ। हाम्रो देशले कहिले नगुमाएको स्वतन्त्रताको हामी चौपट्टै गर्व गर्छौँ। १० वर्षअघि हामीले देशभित्र रहेको सामन्ती स्वेच्छाचारी शासनबाट मुक्ति पायौँ। डेढ वर्षअघि हाम्रो पहिलो आमनिर्वाचन भयो।

स्वतन्त्र नागरिकको हैसियतले हामी पुनर्निर्माण र विकासको नयाँ बाटोमा अग्रसर भएका छौँ। हामीलाई यस काममा हाम्रा मित्र राष्ट्रहरू जस्तो कि भारत, संयुक्त राज्य अमेरिका, चीन, सोभियत रुस, संयुक्त अधिराज्य बेलायत र अन्य देशहरू तथा यस संस्थाबाट प्राप्त सहायताको हामी स्वागत गर्दछौँ र यसका लागि कृतज्ञ छौँ। तर हामी यो चाहँदैनौँ कि कुनै देशले हामीले कस्तो विचार गर्नुपर्छ अथवा हामीले आफ्नो भित्री मामिलामा कस्तो कारबाही गर्नुपर्छ भनी सिकाओस्।

हामीले बाहिरबाट प्राप्त गर्ने सहायता पूर्णतया नभए पनि धेरै जसो संयुक्त राष्ट्रसंघका माध्यमबाट पाएदेखि हामीलाई आनन्दको अनुभव हुनेछ किनभने संयुक्त राष्ट्रसंघले हाम्रो घरेलु राजनीतिक समस्याहरूमा कुनै किसिमको पनि हस्तक्षेप नहोस् भन्न निरन्तर ख्याल राखी काम गरेको छ।

हामी प्रचारले प्रभावित हुन चाहदैनौँ। अरूले हाम्रो विचार बनाइदिने कुरा पनि हामीलाई मन पर्दैन न त हामी शंका र घृणाको वातावरणमा आफ्नो निर्णय लिन चाहन्छौँ। हामी शीतयुद्धमा घचेटिन अथवा कुनै एउटा शक्ति गुटको हतियार बन्न चाहदैनौँ। यसको कारण लडाइँ भएको खण्डमा हामी यसमा घचेटिन्छौँ भन्ने मात्र होइन यसको कारण गहिरो छ। हामी हाम्रो जस्तै विचार भएका संसारका अरू राष्ट्रहरूसँग संलग्न हुन चाहन्छौँ किनभने साना राष्ट्रहरू स्वतन्त्र बाटो लिई विश्वशान्तिका निमित्त एउटा ठूलो बल हुन सक्नेछन्।

कोइरालाले राष्ट्रसंघको मञ्चबाट तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको असंलग्न परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको कामकारबाही, जिम्मेवारी, आवश्यकता र महत्त्वबारे नेपालको धारणा स्पष्टसँग राखेका थिए। अमेरिका र संयुक्त राष्ट्रसंघमा रहँदा कोइरालाले आफ्नो व्यक्तित्व र प्रस्तुतिबाट विश्वका नेताहरूलाई समेत प्रभावित पारेका थिए।

राजा महेन्द्रको बेलायतको राजकीय भ्रमण तय भएकाले उनी राजाको भ्रमणअगावै नेपाल फर्किए। ४ अक्टोबर १९६० का दिन अप्राह्न सवा ४ बजे प्रधानमन्त्री कोइराला काठमाडौँ अर्लिएका थिए।

(संयुक्त राष्ट्रसंघको विभिन्न महासभाको अभिलेख, गोरखापत्र पत्रिका, बीपीले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनको भाषणको नेपाली अनुवाद र अमेरिकी विदेश मन्त्रालयले जारी गरेका विभिन्न दस्तावेजका आधारमा यो लेख तयार पारिएको हो।)

राष्ट्रसंघको महासभामार्फत नेपालले विश्वसामु पहिलोपटक राखेको त्यो अडान


प्रतिक्रिया

One thought on “राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बीपीले गरेको त्यो सम्बोधन

  1. Congratulations Santos sir for such exploratory information on Nepal -un relation .
    Bp had led Nepali delegation to the 15th un general assembly in response to the un call to it’s member countries to send delegation either under the leadership of the head of the state or government instead of foreign minister in 1960 to marck the 15th year of un coming into existence as it was founded in 1945 .
    Nepal had already outlined Nepal’s view points in the un by the then foreign minister chuda Prasad Sharma in 1956 including china’s membership in the un what bp repeated in 1960
    But bp had forcefully underlined Nepal’s rejection on the troika concept forwarded by the Soviet union construing that such provision would weaken the un .
    Yes, the USSR was against dag hammadkjold with whom Rishikesh shah was close .
    The us president is understood to have suggested koirala to go hand in hand with the king.
    Coincidently , the king’s state visit to the us in April , meeting between korala and the us president in Sept. And kings step in December smply suggest few things .
    Also bb thapa, a Nepali delegate , had made a tremendous remark in response to the remark of Khrushchev which was widely hailed .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =