ब्लग

छिमेकमा बीपीको सालिकमुनि उभिएर मुलुक सम्झँदा

खगेन्द्र कर्ण २३ साउन २०८० १९:२६
382
SHARES
छिमेकमा बीपीको सालिकमुनि उभिएर मुलुक सम्झँदा

बीपी कोइराला भारतमा पनि उत्तिकै सम्मानित छन्। भारतीयहरू बीपीप्रति श्रद्धा गर्छन्। बीपीको परिवारका व्यक्ति भनेपछि हेर्ने दृष्टिकोण फरक हुन्छ। भारतीय जनताले बीपी जन्मदिन र स्मृति दिवसमा उनलाई स्मरण गर्दै आएका छन्।

भारतको बिहार प्रदेशको राजधानी पटनाको गोलघरमा बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण गरिएको छ। त्यहाँ नेपालीको मात्र होइन भारतीय जनताको अगाध श्रद्धा झल्किएको पाइन्छ। सालिकको संरक्षण पटना नगर निगम द्वारले गरिरहेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत परिचय बनाएका नेताको सालिक भारतको प्रदेश राजधानीमा रहनु पक्कै सामान्य विषय होइन। नगर निगमका कर्मचारी बलराम यादवका अनुसार भारतीय स्वतन्त्रता दिवसमा दिन सालिकमा भारतीय नेताहरूले माल्यार्पण गर्दै आएका छन्।

म मधेशमा हुँदा प्रायः बीपीको स्मृतिमा होस् या जन्मजयन्तीमा त्यहाँ पुग्न मन लाग्छ। यसपटक पनि म बीपी स्मृति दिवसका दिन नेपाली कांग्रेसबाट निर्वाचित कोशी प्रदेशसभा सदस्य केदार कार्कीसँग पटना पुगेँ। म त्यहाँ पुगेपछि कांग्रेसले अहिले लिएको बाटो सम्झँदै बीपीलाई भुलेका हुन् या नटेरेका हुन् भनेर प्रश्न गर्न मन लाग्छ। कांग्रेसका नेताहरूले भाषणमा बीपीको नाम लिएको सुन्छु। अनि दिक्क लाग्छ वर्तमान राजनीतिप्रति। तर के गर्ने? समयअनुसार परिवर्तन भएको पो हो कि पनि लाग्छ र सम्हालिन्छु।

तरुण दलको केन्द्रीय सदस्य भएपछि पहिलोपटक म त्यहाँ पुग्दा भावुक भएँ। बीपीजस्तै नेता को बन्ला यो मुलुकमा भनेर सोचिरहेँ। मलाई देखेर केदार दाइले किन टोलाएको भन्नुभयो। म झसंग भएँ। अनि कतै मधेशबाट हामीजस्तै युवामध्ये कोही त बीपीझैँ बन्नैपर्छ भन्ने लाग्यो। केदार दाइले बीपीको सालिकमा माला लगाइदिनुभयो। मैले पनि केहीबेर सच्चा सहिदको स्मरण गरेँ। अनि देशले फेरि बीपी खोजिरहेको छ भन्दै उनको पूर्णकदको सालिकमा माला लगाइदिएँ।

हाम्रा नेताहरू भारत जाँदा आफ्नो पद कसरी बचाउन सकिन्छ भनेर त्यहाँका नेता खुसी पार्न सक्रिय हुने खबर सुन्दै आएको म खगेन्द्र अनि बीपीले मुलुकलाई कसरी बचाएर स्वतन्त्र नेपाल बनाए भन्ने इतिहास पढेर हुर्केको म खगेन्द्र! किन अहिले अरूलाई धेरै आदर गर्ने भन्दै बीपीको चरणमा पर्दै अहिलेका नेताहरूको हर्कत सम्झिएँ।

बीपी कोइराला यस्ता व्यक्तित्व थिए जसले नेपालको प्रजातान्त्रिक आन्दोलनको मात्रै होइन भारतीय स्वतन्त्रता आन्दोलनमा पुर्‍याएको योगदानले नै नेपाल स्वतन्त्र रहेको हो। यदि जवाहरलाल नेहरू बीपीसँगै जेलमा थिएनन् र दुईबीचको मित्रता थिएन भने पक्कै नेहरूले हैदराबादलाई जसरी नेपाल पनि उतै गाभ्ने थिए होला।

अहिले पनि नेहरूकालीन सोच सकिएको छैन भनिरहेको अवस्थामा हामीकहाँ बीपीको अभाव छ। सन् १९४२ मा बृटिस उपनिवेश शासनविरुद्ध भएको ‘भारत छोडो’ आन्दोलनमा पटनाबाट गिरफ्तार भएर दुई वर्ष भारतमा जेलजीवन बिताएका उनै बीपीलाई किन बेलायतीलाई लखेट्नुपर्छ भन्ने लाग्यो होला? त्यो सामान्य सोचले हुने कुरा थिएन।

उनी नेपालमा मात्रै होइन भारतीय जनताका लागि उस्तै सम्मानित नेता हुन्। अहिले पनि भारतीयहरू बीपीको नामप्रति श्रद्धा गर्छन्। बीपीको परिवारका व्यक्ति भनेपछि हेर्ने दृष्टिकोण फरक हुन्छ। भारतीय जनताले बीपीको जन्मदिन (जयन्ती) र स्मृति दिवसमा उनको पूर्णकदको सालिकसँग साक्षात्कार गरिरहन्छन्।

जसरी भारतमा गान्धी, नेहरू, लालबहादुर शास्त्रीहरूलाई स्मरण गरिन्छ त्यसैगरी बीपीलाई पनि। त्यो स्तरको सम्मान भारतमा पाउने नेता उनै हुन्। तर नेपालमा उनको अनुयायी अर्थात् उनले नै जन्माएको पार्टी नेपाली कांग्रेसले बीपी र उनका सिद्धान्तलाई भुल्दै गएको छ। कतिपय युवालाई बीपी भनेको जानकारी हुन नसक्ने अवस्था देखिन्छ।

बीपीजस्ता राजनीतिक व्यक्ति विरलैमात्र जन्मिने गर्छन्। उनी साँच्चै एक फरक र विरलै जन्मने नता हुन्। उनी निडर र अडान राख्न सक्ने नेता थिए। त्यही कुरा भारतीय नागरिकले पनि स्वीकार गरेका छन्।

नगर निगमका कर्मचारी बलराम यादवले भारतको नेपालीलाई हेर्ने बीपीकालीन दृष्टिकोण आवश्यक रहेको बताए। उनले भने, ‘त्यति बेला नेपालका राणाहरू बेलायतीसँग मिलेको र जनता भारतीयसँग भन्ने सन्देश थियो। राणा शासन हटाउन भारत स्वतन्त्र हुनैपर्ने सोचेर बीपी भारतीय नेताहरूसँग ब्रिटिस खेद अभियानमा लागेका थिए।’

त्यति बेला कतिपयले भारतीयसँग मिलेर किन बेलायतीको विरोध गर्ने भन्ने तर्क पनि नगरेका होइनन्। बीपीले उनीहरूलाई राम्रै जबाफ दिएका थिए। त्यही कारण पनि भारतमा नेपालीलाई माया गर्ने धेरै छन्। नेपालको विकास भएमा भारतको क्षेत्र थप सुरक्षित हुनेमा कैयन् भारतीयहरू स्पष्ट छन्। केही नेताहरू भोटको राजनीतिमा लाग्दा यदाकदा नेपाल-भारत सम्बन्धमा चिसोपना देखिए पनि समग्रमा सम्बन्ध न्यानो नै छ।

नेपाल-भारत सम्बन्ध असाध्यै सुमधुर छ। तर नेपालतर्फका अहिलेका नेताहरूले मुलुकका लागि भन्दा पनि आफ्ना लागि धेरै सोचेर अवस्था बिग्रिएको बुझाइ भारतीयहरूको छ। भारतको नेपालमा चासो भनेको पानी र सुरक्षाको हो। त्यसमा हामीले सचेत भएर भारतसँग सहकार्य गर्न आवश्यक छ। त्यो सहकार्यका लागि बीपीकालीन सोच अपरिहार्य देखिन्छ। त्यही बेलाको संस्कार अहिलेको नेतामा देखिनुपर्छ। अनिमात्र मुलुकमा केही परिवर्तन हुन्छ। अन्यथा भारत, चीन र अमेरिकाको खेलमा नेपाल परिरहनेछ। पटनामा रहेको बीपीको त्यो सालिकले नेपाली नेताहरूलाई गिज्याइरहनेछ, धिक्कार्नेछ।

भारतमा समाजवादी नेता भनेर चिनिएका राममनोहर लोहिया र जयप्रकाश नारायणका मित्र बीपी थिए। उनी त्यतिबेला समाजवादको पक्षमा वकालत गर्थे। जसका कारण उनी यस क्षेत्रकै नेताका रूपमा चिनिन थाले। भारतका नेताहरूभन्दा पनि बीपी अघि बढेपछि भारतका नेताले नेपालको राजालाई साथमा लिएर बीपीलाई दुःख दिन थाले। राजाले पनि नेपालमा भारतीय चासो के हो भन्ने बुझ्नुको सट्टा बीपीलाई तह लगाउन पाए। मुलुकमा राजतन्त्रले जरो गाडेर शासन गर्ने भन्ने थियो। केही हदसम्म बीपीले त्यसलाई रोके।

भारतीय जनताका लागि पनि प्रेरणाका स्रोत बीपी अहिलेको नेपाली नेताहरूलाई पनि प्रेरणाको स्रोत बन्न सकून्। सक्कली बीपीको अनुयायी हुन सकून् नेपाली नेताहरू। यसरी हामी गन्थन गर्दै हनुमानको दर्शनसमेत गरेर अहिले मौलाएको धार्मिक राजनीतिको माला पहिरिएर नेपाल फर्कियौँ। (कर्ण नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन्।)

प्रकाशित: २३ साउन २०८० १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =